+
+
Shares

नेतान्याहूले दिए गाजामा आक्रमणको आदेश, २० दिनमै युद्धविराम अन्योलमा

एजेन्सी एजेन्सी
२०८२ कात्तिक १२ गते ७:२८

१२ कात्तिक, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सेनालाई गाजामा आक्रमण गर्न आदेश दिएका छन्।

इजरायलले हमासका लडाकूहरूले युद्धविराम सम्झौता तोड्दै राफा क्षेत्रमा इजरायली सेनामाथि (आईडीएफ) गोली चलाएका आरोप लगाएको छ ।

यस घटनापछि सुरक्षा सल्लाहकारहरूसँग छलफल गरी नेतान्याहूले तत्काल आक्रमणको आदेश दिएका छन्। यसले गाजा क्षेत्रमा तनाव बढाएको छ र शान्तिका प्रयासहरूमा ठूलो झटका लागेको छ।

इजरायल र हमासबीच २० दिनअघि मात्र युद्धविराम सम्झौता भएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २९ सेप्टेम्बरमा नेतान्याहूको उपस्थितिमा २० बुँदे शान्ति योजना प्रस्तुत गरेका थिए, जसलाई हमासले ९ अक्टोबरमा स्वीकार गरेको थियो।

हमासमाथि गलत शव फिर्ता गरेको आरोप

नेतान्याहूले हमासमाथि अर्को आरोप पनि लगाएका छन् । त्यो हो, युद्धविराम सम्झौताअनुसार फिर्ता गर्नुपर्ने इजरायली बन्धकको शव गलत रूपमा फिर्ता गरिएको। उनले यो सम्झौतामाथिको स्पष्ट उल्लंघन भएको बताए।

सम्झौताअनुसार हमासले सबै इजरायली बन्धकका शवहरू यथाशीघ्र फिर्ता गर्नुपर्ने थियो।

तर हमासले भने इजरायली आक्रमणका कारण शव फिर्ता गर्ने कार्यक्रम रोकिएको जनाएको छ। यसअघि मंगलबार हमासले अर्को शव फिर्ता गर्ने जनाएको थियो।

खान युनिसमा एक खाल्डोबाट सेतो ब्यागमा केही वस्तु निकालेर एम्बुलेन्समा राखिएको थियो, तर त्यसमा के थियो भन्ने अहिलेसम्म स्पष्ट भएको छैन।

गाजामा हाल १३ जना बन्धकका शव अझै बाँकी छन्। हमासको भनाइ छ, ‘’ध्वंस यति धेरै छ कि शव फेला पार्न कठिन भइरहेको छ।’

इजरायलले भने हमास जानाजानी ढिलाइ गरिरहेको आरोप लगाएको छ। शव खोज्न मद्दत गर्न इजिप्टले विज्ञ र ठूला मेसिनहरू पठाएको छ।

गाजामा मानवीय सहायता रोकिने भय

इजरायली मिडियाका अनुसार नेतान्याहूले गाजामा मानवीय सहायता रोकिने, कब्जा विस्तार गर्ने वा हमास नेताहरूलाई लक्षित गरी हवाई आक्रमण गर्ने जस्ता विकल्पहरूबारे पनि विचार गरिरहेका छन्।

यसैबीच, मंगलबार बिहान इजरायली सेनाले वेस्ट बैंकको जेनिन क्षेत्रमा छापा मारी तीन जना प्यालेस्टिनी लडाकूलाई मारेको छ। इजरायलको ती आतंकवादी गतिविधिमा संलग्न रहेका जिकिर गरेको छ ।

हमासले तीमध्ये दुई जनालाई आफ्ना कासिम ब्रिगेडका सदस्य भनेको छ, तेस्रोलाई सहयोगी बताए पनि विस्तृत जानकारी दिएको छैन।

इजरायलको भनाइमा, उनीहरू वेस्ट बैंकमा आतंक नियन्त्रणमा केन्द्रित छन्। तर प्यालेस्टिनी पक्ष र मानवअधिकार समूहहरूले भने निर्दोष मानिसहरू पनि मारिँदै गएका र हजारौँ मानिस विस्थापित भइसकेका बताएका छन्।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार दुई वर्ष लामो युद्धमा हालसम्म ६८ हजार ५०० भन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?