News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले मंसिरभित्र महाधिवेशन गर्ने कार्यतालिका निकाल्नुपर्ने बताए।
- लामाले क्रियाशील सदस्यता नवीकरण र वितरणको काम नसकिएको र पार्टी मिल्न सबैले त्याग गर्नुपर्ने बताए।
- उनले यथास्थितिबाट पार्टी अघि बढे चुनावमा कोही टिकट लिन तयार नहुने दाबीसमेत गरे।
१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले कार्यतालिका नआउँदै नियमित कि विशेष महाधिवेशन भनेर गफ गर्न जरूरी नरहेको बताएका छन् ।
सानेपामा बिहीबारबाट फेरि सुचारू भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले कार्यतालिका निकालेर मात्रै केन्द्रीय कार्यसमितिको म्यान थप्ने/नथप्ने बारे छलफल गर्नुपर्ने बताए ।
‘मंसिरभित्र महाधिवेशन गर्ने गरी तालिका निकालौं अनि म्याद थप गर्ने नगर्ने भन्ने कुरा हुन्छ त । अहिलेदेखि विशेष महाधिवेशन गर्छु भनेर हुन्छ र ?,’ प्रश्न गर्दै लामाले भने, ‘क्रियाशील सदस्यता नवीकरण र वितरणको काम किन गराउन नसकेको ?’
उनले पार्टी मिलाउँछु र मिलेर जानुपर्छ भन्ने गरिए पनि कसैले कुनै त्याग गर्न नसकेको बताए । ‘सबैले त्याग गर्न तयार भएमात्र मिल्छ । मिल्ने बाटोमा लागौँ,’ लामाले भने, ‘यति भएमात्र नेपाली कांग्रेस रहन्छ ।’
महाधिवेशन नगरे कांग्रेस पार्टी संकटमा पर्ने भन्दै नियमित वा विशेष जे महाधिवेशन गरे पनि हुने उनको भनाइ थियो । ‘महाधिवेशन चाँडोभन्दा चाँडो गर्न आग्रह गर्छु,’ लामाले भने ।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री लामाले यथास्थितिबाटै पार्टी अगाडि बढे आशन्न चुनावमा कोही पनि टिकट लिन तयार नहुने दाबीसमेत गरे ।
‘यथास्थितिमा जाने हो भने चुनावमा कसैले टिकट लिँदैन । गाउँ ठाउँमा पुग्नुहोस्,’ उनले भने, ‘पुरानै ढंगबाट जाने हो भने वास्तविकता तलको के हो बुझ्नुहोस् ।’
प्रतिक्रिया 4