+
+
Shares

डरलाग्दो देखिने गरी मनाइने हलोविन के हो, कसरी सुरु भयो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हलोविन अक्टोबर ३१ मा मनाइन्छ र यो पश्चिमी समाजसँगै पूर्वी समाजमा पनि लोकप्रिय हुँदै गएको छ।
  • हलोविनको इतिहास सेल्टिक पर्व सामहेनबाट सुरु भएको हो जुन करिब २ हजार वर्षअघिको आयरल्यान्ड र बेलायतमा मनाइन्थ्यो।
  • अमेरिकामा आयरिश आप्रवासीहरूले हलोविनलाई राष्ट्रिय स्तरमा लोकप्रिय बनाएका थिए र त्यसपछि यो विश्वव्यापी पर्व बनेको छ।

आज अक्टोबर ३१ । यो हलोविन मनाउने दिन हो । पश्चिमासँगै आजकल यो पूर्वी समाजमा पनि मनाउन थालिएको छ । त्यता त हलोविन मनाउन आज विदा नै दिइन्छ ।

यसमा मानिसहरूले प्राय: भूतप्रेत जस्तो देखिने गरी डरलाग्दा अथवा अनौठा पोशाकहरू लगाउने गर्छन् । हलोविनमा सबैभन्दा प्रख्यात भनेको फर्सीलाई काटेर, खोपेर त्यसमा डरलाग्दो वा हाँस्यास्पद आँखा, नाक र मुखको आकृति बनाउने र त्यसमा बत्ति बाल्ने हो ।

त्यसबाहेक यस खालका पोशाक लगाएका बालबालिकाहरू छिमेकीको घर-घरमा गएर ‘ट्रिक-अर-ट्रिट !’ भन्दै ढोका ढक्ढक्याउँछन् । अनि उनीहरूलाई घरधनीले विभिन्न उपहारहरू दिने गर्छन् । त्यसबाहेक भोज र जमघट त छँदैछ ।

यसरी मनाइने हलोविन वर्षौं अघिको सेल्टिक पर्व ‘सामहेन’बाट सुरु भएको इतिहास छ । आजभन्दा करिब २ हजार वर्ष पहिले आयरल्यान्ड र बेलायतमा बस्ने सेल्ट जातिले नोभेम्बर १ लाई नयाँ वर्षको रूपमा मनाउँथे ।

त्यसैको छेकोमा उनीहरूले नयाँ वर्षको अघिल्लो रात अर्थात् अक्टोबर ३१ मा ‘सामहेन’ पर्व मनाउँथे । उनीहरू यो रात जीवित र मृतकहरूको संसारबीचको सीमा मेटिन्छ र मृत आत्माहरू पृथ्वीमा फर्कन्छन् भन्ने विश्वास गर्थे ।

यो पर्व मनाइरहँदा उनीहरूले भूतहरूलाई भगाउन आगो बाल्थे । र, आफू डरलाग्दो देखिन जनावरको छालाका पोशाकहरू लगाउँथे । तर इस्वी संवत् ४३ सम्ममा रोमन साम्राज्यले धेरै जसो सेल्टिक क्षेत्रहरू कब्जा गरिसकेको थियो । पछि राज नै गर्‍यो । ४०० वर्षसम्म सेल्टिक भूमिमा शासन गर्दा दुईवटा रोमन पर्वहरू सेल्टिक पर्व सामहेनसँग मिसिन गयो ।

पहिलो थियो फेरालिया, अक्टोबरको अन्त्यमा मनाइने यो पर्वमा रोमनहरूले मृतहरूको सम्झना गर्थे । दोस्रोमा फलफूल र रूखहरूकी रोमन देवी पोमोनालाई सम्मान गरिन्थ्यो। पोमोनाको प्रतीक स्याउ थियो । उनको उत्सवलाई सामहेनमा समावेश गर्दा हलोविनको ‘बबिङ फर एप्पल’ परम्परा सुरु भएको बताइन्छ ।

त्यस्तै पछि चर्चले यस परम्परालाई ‘अल ह्यालोज डे’ (नोभेम्बर १) र ‘अल सोल्स डे’ (नोभेम्बर २) सँग जोडेर अघिल्लो साँझलाई ‘अल ह्यालोज इभ’ भन्न थाल्यो । जुन विकसित भएर हलोविन बनेको भन्ने गरिन्छ ।

अमेरिकामा हलोविन

तत्कालीन समयमा हलोविन न्यू इङल्याण्डमा मात्र सीमित थियो । तर पछि विभिन्न युरोपेली जातीय समूह र अमेरिकी इन्डियनहरूका विश्वास र रीतिरिवाजहरू मिसिँदै गएपछि अमेरिकामा पनि हलोविन मनाउन थालियो । जुन केही परिष्कृत बनेको थियो ।

उपनिवेशकालीन हलोविनमा भूतका कथाहरू सुनाउने, मनोरञ्जन गर्ने जस्ता काम हुन्थे । तर हलोविन अमेरिकाभर मनाइँदैनथ्यो । त्यस्तैमा १९औं शताब्दीको मध्यतितर अमेरिकामा नयाँ आप्रवासीहरूको बाढी आयो । यी नयाँ आप्रवासीहरू विशेष गरी आयरल्यान्डमा भएको आलुको अनिकालबाट भागेर त्यहाँ पुगेका थिए । उनीहरूले नै अमेरिकामा हलोविनलाई राष्ट्रिय स्तरमा लोकप्रिय बनाएको बताइन्छ ।

अमेरिकामा लोकप्रिय बनेपछि नै हलोविन विश्वव्यापी बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?