+
+
Shares

चार महिनामा खानेतेलको भाउ ३५ रुपैयाँ बढ्यो, अन्य खाद्यवस्तु ?

होलसेल बजार सस्तो भए पनि खुद्रा बजार भने महँगो नै रहेको उपभोक्ता बताउँछन् ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ कात्तिक १५ गते २२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल खुद्रा व्यापार संघको तथ्यांक अनुसार साउनदेखि कात्तिकसम्म तेल, दाल, चिउरा, चना, केराउ लगायत खाद्यवस्तुको मूल्य बढेको छ।
  • चार महिनामा काँचो तोरी तेलको मूल्य लिटरमा ३२५ रुपैयाँबाट ३६० रुपैयाँ पुगेको छ भने भुटेको तोरी तेल ४ सय ३० रुपैयाँ पुगेको छ।
  • जिरा, ज्वानो, राजमा, मुङ गेडा लगायत खाद्यवस्तुको मूल्य घटेको छ भने चामल र केही मसला पदार्थको मूल्य स्थिर रहेको छ।

१५ कात्तिक, काठमाडौं । बजारमा चार महिना अवधिमा केही खाद्यवस्तुको मूल्य बढ्दा केहीको भने घटेको छ ।

१ साउनदेखि १ कात्तिकसम्मको अवधिमा नेपाल खुद्रा व्यापार संघको तथ्यांक केलाउँदा बजारमा तेल, दाल, चिउरा, चना, केराउ लगायत खाद्यवस्तुको मूल्यवृद्धि देखिएको छ ।

थोक (होलसेल) खाद्यान्न व्यवसायी गत साउनको तुलनामा धेरै प्रकारका खाद्यान्नको बजार मूल्य सस्तो भएको दाबी गर्छन् ।

तर, होलसेल बजार सस्तो भए पनि खुद्रा बजार भने महँगो नै रहेको उपभोक्ता बताउँछन् ।

तथ्यांक केलाउँदा दैनिक प्रयोगका चामल, दाल, मैदा र आँटासहित खाद्यवस्तुको मूल्य होलसेलमा घटे वा स्थिर रहे पनि उपभोक्ता भने त्यस्तो मूल्य पाउनबाट वञ्चित छन् ।

यस्ता छन् मूल्य बढेका खाद्यवस्तु

चार महिना अवधिमा होलसेलमा सबैभन्दा धेरै खाने तेलको मूल्य बढेको छ । १ साउनमा प्रतिलिटर ३ सय २५ रुपैयाँ पर्ने काँचो तोरीको तेल अहिले लिटरको ३ सय ६० रुपैयाँ पुगेको छ । ४ महिनामा उक्त तेलको मूल्य लिटरमै ३५ रुपैयाँ बढेको छ ।

सोही अवधिमा भुटेको तोरी तेलको मूल्य लिटरमा २० रुपैयाँ बढेर ४ सय ३० रुपैयाँ पुगेको छ । यस्तै सनफ्लावर तेल प्रतिलिटर १० रुपैयाँ बढ्दा भटमास तेलमा ५ रुपैयाँ वृद्धि भएको संघको तथ्यांकले देखाउँछ ।

१ साउनमा प्रतिलिटर २ सय ४० रुपैयाँ रहेको सनफ्लावर तेल २ सय ५० र भटमास तेल २ सय २५ रुपैयाँ पुगेको छ ।

यस्तै १ साउनमा प्रतिकिलो १ सय ७० रुपैयाँ पर्ने ताइचिन चिउरा २० रुपैयाँ बढेर १ सय ९० पुगेको छ । समीक्षा अवधिमा चना दालको मूल्य पनि प्रतिकिलो १० रुपैयाँ बढेको छ । साउनमा किलोको १ सय ६० रुपैयाँ रहेको चना दाल १ सय ७० पुगेको संघले जनाएको छ ।

यस अवधिमा मुसुरो दाल प्रतिकिलो १० रुपैयाँले बढेर १ सय ७५  पुगेको छ । संघको मूल्यसूचीले सानो चना, सेतो केराउ र मस्याङको मूल्यमा पनि समान १०–१० रुपैयाँ वृद्धि भएको देखाउँछ ।

सानो चना १ सय ४० बाट १ सय ५०, सेतो केराउ १ सय ३० बाट १ सय ४० र मस्याङको मूल्य १ सय ६० बाट १ सय ७० रुपैयाँ प्रतिकिलो पुगेको छ ।

यस्तै मकैको पिठोमा पनि प्रतिकिलो ५ रुपैयाँ मूल्यवृद्धि भएको छ । १ साउनमा प्रतिकिलो ८० रुपैयाँ रहेको मकैको पिठो मूल्य बढेसँगै ८५ पुगेको छ ।

यस्ता छन् मूल्य घटेका खाद्यवस्तु

चार महिना अवधिमा केही खाद्यवस्तुको मूल्य घटेको संघको तथ्यांकले देखाउँछ । यस अवधिमा जिरा, ज्वानो, राजमा, मुङ गेडा लगायत खाद्यवस्तुको मूल्य भने घटेको देखिन्छ ।

१ साउनमा प्रतिकिलो ५ सय ५० रुपैयाँ रहेको जिराको मूल्य ३५ रुपैयाँले घटेर ५ सय १५ झरेको छ । यस अवधिमा ज्वानोको मूल्य पनि प्रतिकिलो १५ रुपैयाँ घटेको छ । साउनमा ५ सय ९० रुपैयाँ रहेको ज्वानोको मूल्य ५ सय ७५ मा झरेको संघले जनाएको छ ।

यस्तै चार महिना अवधिमा राजमाको मूल्य किलोको १० रुपैयाँ घट्दा मुङ गेडाको मूल्य १० रुपैयाँ घटेको छ । साउनमा राजमा प्रतिकिलो २ सय ७० रुपैयाँ थियो । अहिले भने राजमा किलोको २ सय ५० रुपैयाँ कायम छ । यस्तै २ सय रुपैयाँ पर्ने मुङ गेडा १ सय ९० मा झरेको छ ।

यस अवधिमा डाल्डा घिउको मूल्य पनि घटेको संघले जनाएको छ । साउनमा लिटरको २ सय ४० रहेको डाल्डा घिउको मूल्य १० रुपैयाँ घटेर २ सय ४० कायम छ ।

यी हुन् मूल्य स्थिर भएका खाद्यान्न

समीक्षा अवधिमा केही खाद्यवस्तुको मूल्य भने यथावत छ । चार महिनामा सबै चामलको मूल्य स्थिर छ । त्रिशूलीको पोखरेली चामल प्रतिकिलो १ सय २० रुपैयाँ कायम छ । यस्तै स्टिम जिरा मसिनो चामल किलोको ९५ रुपैयाँ र स्टिम सोना चामल ७० रुपैयाँ रहेको संघले जनाएको छ ।

लङग्रेन बास्मती चामलको मूल्य पनि यथावत रहेको संघको मूल्यसूचीले देखाउँछ । उक्त चामल प्रतिकिलो १ सय ७० रुपैयाँ कायम छ । यस्तै खुर्सानी पाउडर, जिरा पाउडर, धनियाँ पाउडर र बेसार पाउडरको मूल्य पनि घटबढ भएको छैन ।

खुर्सानी पाउडर प्रतिकिलो ६ सय, जीरा पाउडर ८ सय र धनियाँ पाउडरको मूल्य प्रतिकिलो ३ सय रुपैयाँ छ । यस्तै बेसार पाउडर  ४ सय ५० रुपैयाँ रहेको छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?