१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसमा पार्टीको १५औं महाधिवेशनको मितिबारे विवाद चुलिएको छ । विवाद मत्थर पार्ने प्रयास स्वरूप कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित गरेको छ ।
दलीय सरकार च्युत गराएको जेनजी आन्दोलनपछि सिर्जना भएको राजनीतिक परिस्थितिका बीच सुरू भएको कांग्रेस बैठकलाई चासोका साथ हेरिएको छ ।
जेनजी आन्दोलका क्रममा भएको सांघातिक आक्रमणपछि सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका छन् ।
देउवा स्वास्थ्य उपचारका लागि देशबाहिर रहेका बेला कांग्रेसले महाधिवेशनबारे कस्तो निर्णय गर्छ र कुन बाटो तय गर्छ अहिले नै भन्न सकिने अवस्था छैन ।
यसैबीच अनलाइनखबरले कांग्रेसका विभिन्न समूह र उपसमूह निकट मानिने केही युवा (विद्यार्थी) नेताहरूलाई ‘केन्द्रीय कार्यसमिति बैठक र कांग्रेसमा देखिएको अन्योलता’ बारे प्रश्न गरेको छ ।
प्रस्तुत छ युवा नेताहरूको धारणा :
कांग्रेसभित्रैबाट युवाको विद्रोह हुन सक्छ
– ई. भुवन भट्ट
मुलुकको यस्तो विषम परिस्थितिमा पनि कांग्रेस केन्द्रीय कार्यसमितिमा नेताहरूको सामुहिक जवाफदेहिता नदेखिनु दु:खद् छ। अझै पनि पुरातनवादी सोच, चिन्तन र मानसिकताले ग्रसित भएको देख्दा, अब कांग्रेसभित्रैबाट युवाको विद्रोह हुन सक्छ।
कांग्रेसले मुलुकुलाई निकास दिने, सबै राजनीतिक दल, नागरिक समाज, जेनजी पुस्तालगायत समाजका सबै पक्षसँग संवाद र सहकार्य गरेर अगाडि बढ्ने जिम्मेवारी बहन गर्नुपर्ने हो।
कांग्रेसलाई आमजनता, पार्टीको तल्लो तहका कार्यकर्ता, युवा पंक्तिको भावनालाई आत्मसाथ गरेर समयसापेक्ष सुधार र रुपान्तरण गरेर आगामी बाटो तय गर्ने र एकजुट भएर तत्काल विधानको सीमा चार वर्ष भित्रै महाधिवेशन सम्पन्न गर्नेगरी निर्णय गर्नुपर्छ।
पार्टीलाई २–४ जना नेताले व्यक्तिगत सम्पति ठान्ने प्रवृति अझै नछोड्ने हो भने कर्मकाण्डी केन्द्रिय कार्यसमिति बैठकको औचित्य समाप्त हुन्छ । मंसिर ३० मै केन्द्रीय समिति विघठन गर्नु नै उपयुक्त हुन्छ।
अझै पनि माथिल्लो तहमा बसेका नेताहरू व्यक्तिगत स्वार्थ, पद लोलुपतामा लागेर परिवर्तनको आकांक्षा र सन्देशलाई नजरअन्दाज गर्नतर्फ उद्दत भए भने अब कांग्रेस भित्रका युवा र जेनजीले कांग्रेस पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरूलाई सार्वजनिक कार्यक्रममा निषेधसम्म गर्न सक्छन्।
गाउँ-गाउँवाट सच्चा कांग्रेसका क्रियाशील सदस्य, नवयुवा पुस्ताबाट नसोचेको विद्रोह हुन सक्छ। अनौठो नमाने हुन्छ। केन्द्रमा बसेर स्वार्थको रोटी सेक्नेहरूले विद्रोहको सामना गर्नुपर्ने परिस्थिति बन्छ।
पार्टीका आन्तरिक संरचनामा वडादेखि केन्द्रसम्म र सबै तहका चुनावमा पार्टीले ४० वर्ष मुनिका, त्यसमा जेनजी पुस्तालाई पनि समेटेर कम्तिमा ४० प्रतिशत युवाको अर्थपूर्ण प्रतिनिधित्व गराउने नीति अंगिकार गर्न सकेन भने नयाँ पुस्ताको कांग्रेसप्रतिको आकर्षण अझ घट्दै जान्छ।
त्यसले भविष्यमा पार्टीको जनमतमा ठूलो संकट आउने देखिन्छ। यो कुरालाई पनि केन्द्रीय समितिले गम्भीर छलफल गरी वैधानिकता दिनु आजको आवश्यका हो।
विधिवत विद्रोहको विकल्प छैन
-एलिजा ढकाल
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले अहिलेको परिस्थितिबाट निकास दिने जस्तो छाँटकाँट ल्याएको छैन। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गरेका छन्, त्यसको समेत ‘डिस् रेस्पेक्ट’ गरेको छ।
काग्रेसका नेताहरू अनुदार देखिएका छन्। यस्तोमा महाधिवेशन प्रतिनिधि र कांग्रेसका क्रियाशीलहरूले विद्रोह गर्ने अवस्था बन्न सक्छ। कांग्रेसले लोकतान्त्रिक चरित्र देखाउँछ कि यथास्थिति मै रमाउँछ, हामी हेरिरहेका छौँ।
केन्द्रीय कार्यसमितिको बैठक र अन्योलताले देखाउँछ– कांग्रेसले पार्टीमा आवद्ध युवाको भावना बोकेको छैन, न त भावनाको सम्बोधन गर्न अग्रसरता लेला जस्तो देखिएको छ। अब विधिवत विद्रोहको विकल्प छैन।
विशेष महाधिवेशनको हस्ताक्षर अभियानले ध्रुबीकरण बढ्यो
-पुजन गन्धर्व
नेपाली कांग्रेस अहिले आन्तरिक शक्ति सन्तुलन, नेतृत्व संक्रमण र संगठानात्मक स्पष्टताको संवेदनशील मोडमा छ। शीर्ष नेताहरू बीचको विश्वसनीय साझेदारी र सहमति नबन्दा केन्द्रीय समिति बैठक अन्योल अवस्थामा छ।
देशको पछिल्लो राजनीतिक घटनाले ब्युउझिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकबाट पार्टी भित्रका कार्यकर्ता र आम नागरिकलाई कस्तो सन्देश दिँदैछ, यो प्रतिक्षाको विषय रह्यो।
अहिले व्यक्तिगत होइन, प्रणालीगत सुधार मुख्य आवश्यकता हो। कांग्रेस विचार र सिदान्तमा बाँचेको पार्टी हो, कांग्रेसले त्यो बाटो गुमाउँदै गएको छ। यो वर्ष नेपाली कांग्रेसको नियमित महाधिवेशनको वर्ष थियो।
विशेष महाधिवेशनको हस्ताक्षर अभियानले पार्टीको सबै तहमा ध्रुबीकरण बढ्यो। अब यो प्रतिष्ठा र प्रतिशोधको विषय बन्न पुगेको छ। यसले कांग्रेसलाई थप अन्योलता तिर धकेलेको छ।
मंसिरमा नियमित महाधिवेशन सम्भव नभए वर्तमान केन्द्रीय कार्यसमिति विघठन गरी ६ महिनाभित्र महाधिवेशन गर्ने गरी आयोजक समिति बनाउन सकिन्छ। निर्वाचनको मुखमा विशेष महाधिवेशन उपयुक्त विकल्प होइन र पुरानै प्रतिनिधिबाट नेतृत्व चयन गर्ने पद्दति यथास्थितिवादी हो।
नेपाली कांग्रेस भित्रको आजको मुख्य चुनौती भनेको क्रियाशील सदस्यताको छानबिन, नवीकरण र वितरण हो। कांग्रेसले कस्ता सदस्यहरूको सदस्यता नवीकरण गर्ने, कस्ता व्यक्तिलाई सदस्यता प्रदान गर्ने ? यसको मापदण्ड र छानबिन हुन जरूरी छ।
निर्वाचनमा कांग्रेसका उम्मेदवार हराउन हिँड्ने र पार्टीको पक्षमा अहोरात्र खट्ने सम्पूर्ण सदस्यलाई एउटै टोकरीमा राखेर अधिवेशनमा जान सकिन्न ।
नियमित महाधिवेशन नै सुधारको मूल आधार
-गीता गुरुङ
झगडा, फुट र विग्रहको राजनीति होइन– एकता, समावेशी प्रतिनिधित्वको सुनिश्चितता र स्थानीय तहबाटै सुधारको सन्देश नै नेपाली कांग्रेसको वर्तमान आवश्यकता हो।
युवा पुस्ता पार्टीको ऊर्जा र प्राणशक्ति हो। त्यसैले पार्टी एकढिक्का बनाउँदै युवालाई नीतिगत रूपमा समेट्ने दिशामा केन्द्रित हुनुपर्छ, जसको लागि नियमित महाधिवेशन नै सुधारको मूल आधार बन्न सक्छ।
वडा तहदेखि नै युवा प्रतिनिधित्वको ग्यारेन्टी मात्र होइन, पार्टीले गर्ने निर्णय प्रक्रियामा पूर्ण सहभागिताको सुनिश्चितता गरिनुपर्छ।
पुरानो अनुभवले परिपक्व पुस्ता र जोश, चेतना तथा नवीन सोचले भरिएको युवा पुस्ताको संयोजनबाट मात्र पार्टी अटल र मजबुत बन्न सक्छ– यसमा कुनै द्विविधा छैन।
जेनेरेसन–जी (जेनजी) आन्दोलनको मर्मअनुरूप भ्रष्टाचारको जड उखेल्ने, सुशासनको जग बसाउने र कानुनी राज्यको स्थापनामा कांग्रेसको अटल संकल्पसहित आगामी महाधिवेशनमार्फत् युवा प्रतिनिधित्वको ग्यारेन्टी, सदस्यता र निर्वाचन प्रक्रियामा डिजिटल क्रान्ति, तथा वर्तमान तरल राजनीतिक अस्थिरताको अन्त्यका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने हिसाबले केन्द्रीय समितिले ठोस निर्णय गरी जनतामा नयाँ आशाको सञ्चार गर्न सक्नुपर्छ।
यही एकमात्र मार्ग हो जसले कांग्रेसलाई जीवन्त, समावेशी र जनमुखी बनाउनेछ।
नेताहरूको नियत सफा देखिएन
-विकल राई
यो केन्द्रीय कार्यसमितिको बैठकमा यथास्थितिवादी र प्रगतिशिलबीचको ध्रुवीकरणका कारण अन्यौलता छाएको छ। यो अन्यौलताको चिर कारण खराब नियत हो।
नेताहरूको नियत सफा देखिएन। नेताहरू भदौ २३ र २४ मा जस्तै केही भएन जसरी प्रस्तुत हुँदैछन्। बिर्सिएको जस्तो अथवा स्वार्थ केन्द्रित भएको जस्तो देखिन्छन्।
आधुनिक र सुध्रिएर आउनका निम्ति जनता र कार्यकर्ताबीच कांग्रेसले नयाँ म्यान्डेट ल्याओस् भन्ने चाहना व्यापक छ। जेनजीको भावना समेट्न झनै आवश्यक छ।
जेनजी आन्दोलनको ध्वनीसँग रिदम मिलाउन पार्टीका संरचनाहरूमा नवयुवाहरूको बलियो उपस्थिति सुनिश्चित गर्न अनिवार्य छ। त्यसको लागि विधानमा उचित संशोधन गरेर जेनजी आउने ढोका फराकिलो बनाउनु पर्नेछ।
भ्रष्टाचार अन्त्यका निम्ति ठोस कदम चाल्न केन्द्रित हुनुपर्नेछ। तर, नेताहरू प्रधान एजेन्डाहरूबाट विमुख भएका छन्। यो बैठकलाई यिनै गहन छलफल र निर्णयमार्फत् ऐतिहासिक बनाउन नेताहरू केन्द्रित हुनुपर्छ। जसको अर्को कडी भनेको नियमित महाधिवेशन हो।
तर, महाधिवेशन रोक्ने प्रपञ्च भइरहेको छ। नेताहरूले चुनावअगाडि नै महाधिवेशन गर्न सकिँदैन भनेर हलुका बहस गर्नुभन्दा पनि कसरी पुस भित्रैमा गर्न सकिन्छ भनेर छलफल गर्नुपर्थ्यो।
कांग्रेस नवयुवाहरूको पार्टी कसरी बनाउने भनेर छलफल गर्नुपर्थ्यो। तर, अधिकांश नेताहरूको यथास्थितिमा नै स्वार्थ रहेको भन्ने निष्कर्ष र खराब नियतकै कारण केन्द्रीय समितिको बैठकमा अन्यौलता देखिएको सोझै बुझ्न सकिन्छ।
नेताहरुले स्वार्थ केन्द्रित भन्दा पनि जनता, कार्यकर्ता र आफ्ना छोरा–छोरीतर्फ फर्केर बैठकमा प्रस्तुत हुन आवश्यक छ।
हामी धेरै ठाँउमा चुक्यौँ, अब त्यो छुट छैन
-विनोद शाही
आज मुलुक जटिल परिस्थितिको संगिन मोडमा छ। एकातिर संविधानको रक्षा गर्नुपर्ने सवाल छ भने अर्कोतिर लोकन्त्रको। यसरी मुलुकको पहिलो अग्रणी दल नेपाली कांग्रेस निकासको बाटोमा अगाडि बढ्नु पर्नेमा झन् अन्यौलतर्फ अगाडि बढ्नु सुखद पक्ष होइन।
नेताहरू रुपान्तरित नहुने अवस्था हो भने पार्टीभित्र विद्रोह हुने सम्भावना देखिन सक्ने खतरा छ। यस अवस्थालाई सहज ढंगबाट समाधान गर्न जिम्मेवार नेताहरूले सांगठनिक हितका पक्षमा उभिनुपर्छ। अझ भन्नुपर्दा नेपाली कांग्रेस पार्टी नेपालको लोकतान्त्रिक आन्दोलन नेतृत्व गरेको पार्टी हो मात्रै भनेर नयाँ पुस्ताले बुझ्ने अवस्था छैन्।
देशमा विधिको शासन स्थापना मात्रै होइन, आजको समयमा कांग्रेसले नेतृत्व लिंदै सर्वदलीय व्यापक संवाद गरिनु आवश्यक छ। देशको मुख्य एजेन्डा कांग्रेसले नै बोक्नु पर्छ र आम देशबासीमा आशा र भरोसा जोगाउनुपर्छ।
दलीय व्यवस्थालाई सुदृढीकरणसँगै आन्तरिक लोकतन्त्र र देशको लोकतन्त्रलाई सवलीकरण गर्दै भोलिका दिनसम्म जिवन्त राखिनुपर्छ। आजको दिनसम्म आइपुग्दा हामी धेरै ठाँउमा चुकेका छौँ। अब हामीलाई त्यो छुट छैन।
देशमा स्थायीत्व, सुशासन र युवालाई रोजगारीको अवसर चाहिएको छ। सर्वव्यापी र सर्वपक्षीय संवाद, समन्वयबाट मात्रै देशमा शान्ति सम्भव छ।
समाजमा रहेका अल्पमतको समेत पनि हामीले सम्मान गर्न सक्नु पर्छ। पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास मासिदै जानु चिन्ताजनक छ। पार्टी र भ्रातृ-शुभेच्छुक संस्था समयसापेक्ष नचल्नु र महाधिवेशन नहुनुले आन्तरिक लोकतन्त्रमा प्रश्न खडा गरेको छ।
पार्टीमा कुलिनतन्त्रका आवाजलाई नियमन गर्न जरूरी देखिन्छ। जेनजी पुस्ताका र जेनवाई पुस्तालाई विश्वास गरी युवा पुस्ताको पार्टीमा अर्थपूर्ण सहभागितासहित लोकप्रिय युवालाई आमनिर्वाचनमा समेत उम्मेदवार बनाइनु पर्छ।
यतिबेला प्रमुख सवाल पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्नु हो। यथाशीघ्र पार्टीको नियमित महाधिवेशन कार्यतालिका ल्याएर पार्टीका विभिन्न तह र तप्कामा अनिवार्य युवा पुस्ताको प्रतिनिधित्वलाई फराकिलो बनाइनु पर्छ।
प्रतिक्रिया 4