+
+
Shares

दाँत माझ्ने ब्रसमा हुन्छन् करोडौं ब्याक्टेरिया, कसरी रहन सकिन्छ सुरक्षित ?

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते ६:५६

काठमाडौं । तपाईंले हरेक बिहान र बेलुका आफ्नो दाँत सफा गर्न प्रयोग गर्ने सानो टूथब्रश, वास्तवमा लाखौं सूक्ष्मजीवहरू हुर्किरहेको एउटा मलिलो ठाउँ हो । टूथब्रसमा रहेका सूक्ष्मजीवहरूले तपाईंको मुखको तथा शरीरको समग्र स्वास्थ्यमा विविध घातक असर पार्नसक्छन्।

हाम्रो टूथब्रश वास्तवमा एउटा यस्तो सानो इकोसिस्टम हो जहाँ हरेक दिन करोडौं सूक्ष्मजीवहरू हुर्किन्छन् र फस्टाउँछन्। ब्रसका रेसाहरु  एक  सुक्खा जमिनजस्तै हुन्छन्, जुन पानीले भिजेपछि केही समयका लागि पोषक तत्वहरूले भरिएर जीवाणुहरूको लागि उपयुक्त वातावरणमा परिणत हुन्छन्। यी प्लास्टिकका स-साना रेशाहरूको बीचमा लाखौं जीवहरूले बास गरेका हुन्छन्।

चिन्ताको विषय

अध्ययनहरूका अनुसार हामीले प्रयोग गर्ने टूथब्रशमा लगभग १० लाखदेखि १ करोड २० लाखसम्म ब्याक्टेरिया र फङ्गसहरू हुनसक्छन् । यिनीहरू सयौं विभिन्न प्रजातिका हुन्छन् र टूथब्रशको सतहमा एउटा जैविक पत्र बनाउँछन् ।

जब हामी दिनमा दुई पटक ब्रश गर्छौं, तब पानी, र्‍याल, छालाका कोशिकाहरू र खानाका साना कणहरू ब्रसका रेशाहरूमा पुग्छन् । यही मिश्रणले यी जीवाणुहरूलाई बढ्नको लागि अवसर दिन्छ । कहिलेकाहीँ त नजिकैको शौचालयको फ्लश वा झ्यालबाट हावामा उडेर आउने सूक्ष्मजीवहरू पनि यसमा मिसिन्छन् । त्यसपछि, दिनमा दुई पटक हामी यही मिश्रणलाई मुखमा हालेर राम्ररी घुमाउँछौं ।

सूक्ष्मजीवहरू कहाँबाट आउँछन् ?

जर्मनीको राइन-वेल युनिभर्सिटी अफ एप्लाइड साइन्सेजका माइक्रोबायोलोजिस्ट मार्क-केभिन जिनले टूथब्रशमा पाइने सूक्ष्मजीवका बारेमा अनुसन्धान गरेका छन्। उनी भन्छन् – टूथब्रशमा पाइने सूक्ष्मजीवहरू मुख्यतया हाम्रो मुख, हाम्रो छाला र टूथब्रश राखिएको ठाउँ गरी तीन ठाउँबाट आउँछन् ।

अनौठो कुरा त के भने टूथब्रश प्रयोग गर्नुअघि नै त्यसमा ठूलो संख्यामा सूक्ष्मजीवहरू हुनसक्छन् । ब्राजिलमा गरिएको एक अध्ययनमा विभिन्न कम्पनीका ४० वटा नयाँ टूथब्रशको जाँच गर्दा आधा टूथब्रशहरू पहिले नै विभिन्न प्रकारका ब्याक्टेरियाले संक्रमित पाइएका थिए ।

धेरैजसो ब्याक्टेरिया हानी रहित

अनुसन्धानबाट के पुष्टि भएको छ भने टूथब्रसमा पाइने जिवाणुम्धये अधिकांश हानिकारक हुँदैनन् । तिनीहरूमध्ये धेरैजसो त हाम्रो आफ्नै मुखबाट आउँछन्। हरेक पटक ब्रस गर्दा, ब्रसका रेशाहरूले मुखमा सामान्य रूपमा पाइने रोथिया डेन्टोकारिओसा, स्ट्रेप्टोकोकस माइटिस र एक्टिनोमायसीज समूहका ब्याक्टेरियाहरूलाई सङ्कलन गर्छन् ।

यी सबै सामान्यतया हाम्रो मुखमा पाइन्छन् र कुनै हानि पुर्‍याउँदैनन् । बरु, केहीले त दाँतलाई सड्नबाट बचाउन पनि मद्दत गर्छन्। यद्यपि, यिनीहरूकै बीचमा हाम्रो लागि हानिकारक जीवहरू पनि लुकेका हुन्छन् ।

खतरनाक ब्याक्टेरियाहरू

13 Simple Teeth Brushing Tips - Longmont Dental Loft

ब्राजिलको साओ पाउलो विश्वविद्यालयका दन्तविज्ञानका प्राध्यापक  विनिसियस पेद्राजीका अनुसार टूथब्रसमा पाइनेमध्ये सबैभन्दा खतरनाक ब्याक्टेरिया स्ट्रेप्टोकोकी  र स्ट्याफिलोकोकी हुन्छन्, जसले गर्दा दाँत सड्ने अर्थात क्याभिटी हुने समस्या निम्तित्नछ। साथै केही अन्य ब्याक्टेरियाले गिजा सुन्निने अर्थात पेरियोडेन्टल रोग पैदा गर्छन् ।

शोधकर्ताहरूले टूथब्रशमा सामान्यतया नपाइने खालका ब्याक्टेरिया र फङ्गसहरू पनि फेला पारेका छन् । जसमा एस्चेरिशिया कोलाई, स्यूडोमोनास ऐरूजिनोसा र एन्टरोब्याक्टेरिया रहेका छन्।  जुन पेटको संक्रमण र फूड पोइजनिङसँग जोडिएका हुन्छन्। त्यसैगरी क्लेब्सीएला न्यूमोनिए ब्याक्टेरिया पनि टूथब्रसमा फेला परेको छ जुन अस्पतालमा संक्रमणको आम कारणको रुपमा रहेको हुन्छ। त्यस्तै केन्डि नाम ढुसी पनि फेला परेको छ। जसले मुखमा समस्या पैदा गर्दछ ।

यी सूक्ष्मजीवहरू हामीले ब्रस पखाल्ने पानीबाट, हाम्रो हातबाट वा ब्रस राखिएको बाथरुमको वातावरणबाटै आउन सक्छन् ।

बाथरूमको ओसिलोपना र ट्वाइलेट फ्लस

बाथरूम तातो र ओसिलो ठाउँ हो, जहाँ हावामा पानीका स-साना थोपाहरू अर्थात एरेसोल बन्ने क्रम चलिरहन्छ। यही कारणले बाथरूममा राखिएका टूथब्रशहरू छिटो संक्रमित हुन्छन् ।

ट्वाइलेट फ्लश गर्दा पानी र दिसाका सूक्ष्म थोपाहरू (ट्वाइलेट प्लूम) लगभग १.५ मिटर (करिब पाँच फिट) सम्म हावामा फैलिन सक्छन्। यी थोपाहरूमा फ्लू, कोभिड-१९ वा नोरोभाइरसजस्ता संक्रामक भाइरसहरू हुन सक्छन् ।

यदि तपाईंको टूथब्रश ट्वाइलेटको नजिकै राखिएको छ भने, फ्लश गरेपछि यी थोपाहरूका कणहरू त्यसका रेशाहरूमा बस्न सक्छन्। संक्रमणको मुख्य जोखिम फ्लश गर्दा सिधै सास फेर्दा हुने भए पनि, फ्लश गर्नुअघि ट्वाइलेट सीटको ढकनी लगाउनु बुद्धिमानी हुन्छ।

एक अनुसन्धानले कमन बाथरूममा राखिएका ६० प्रतिशत विद्यार्थीहरूको टूथब्रशमा दिसासँग सम्बन्धित ब्याक्टेरिया पाइएको देखाएको थियो।

यद्यपि, इलिनोइसस्थित नर्थवेस्टर्न युनिभर्सिटीकी प्रोफेसर एरिका हार्टम्यान ट्वाइलेट प्लूमलाई लिएर धेरै चिन्ता लिनु आवश्यक नभएको बताउँछिन् । उनको अध्ययनमा दिसासम्बन्धी ब्याक्टेरिया अपेक्षा गरिएभन्दा धेरै कम पाइएका थिए किनभने पेटसँग सम्बन्धित धेरै सूक्ष्मजीवहरू हावामा आएपछि धेरै बेर बाँच्न सक्दैनन्। उनी भन्छिन्, – मलाई लाग्दैन कि धेरैजसो मानिसहरू आफ्नो टूथब्रशबाट बिरामी पर्छन्।

ब्रस शेयर नगर्नुहोस् र सरसफाइमा ध्यान दिनुहोस्

टूथब्रश

केही अनुसन्धानले इन्फ्लूएन्जा र कोरोनाभाइरसजस्ता भाइरसहरू टूथब्रशमा घण्टौंसम्म र हर्पीज सिम्प्लेक्स भाइरस-१ त ४८ घण्टासम्म जीवित रहन सक्ने देखाएका छन् ।

यही कारणले सार्वजनिक स्वास्थ्य एजेन्सीहरू आफूले प्रयोग गर्ने टूथब्रश अरु व्यक्तिसँग शेयर नगर्न सल्लाह दिन्छन्। यदि एकै ठाउँमा धेरै मानिसका टूथब्रश राखिएका छन् भने तिनीहरूलाई एक-अर्कासँग छुनबाट पनि बचाउनुपर्छ, विशेषगरी अझ आफूसँगै नबस्ने व्यक्तिको ब्रस हो भने।

यद्यपि, सँगै बस्ने मानिसहरूको मुखमा पाइने सूक्ष्मजीवहरूमा पहिले नै धेरै समानताहरू हुने भएकाले उनीहरूका लागि टूथब्रश नजिकै राख्नु ठूलो चिन्ताको विषय नहुने हार्टम्यानको भनाइ छ ।

जोखिम र एन्टिबायोटिक प्रतिरोध

अधिकांश अवस्थामा संक्रमणको जोखिम धेरै कम हुन्छ। तर, रोग-प्रतिरोधक क्षमता कमजोर भएका मानिसहरूका लागि यो चिन्ताको विषय हुन सक्छ। जिन र अन्य अध्ययनहरूमा केही ब्याक्टेरियाहरूमा एन्टिबायोटिक्सप्रति प्रतिरोधी  बनाउने जीन्सहरू पनि फेला परेका छन्, जसको उपचार गर्न गाह्रो हुन सक्छ ।

एन्टिमाइक्रोबियल (जीवाणुरोधी) तह लगाएका ब्रसहरू पनि ब्याक्टेरिया नियन्त्रण गर्नमा खासै असरदार नभएको अध्ययनहरूले देखाउँछन्।

टूथब्रशलाई सफा र सुरक्षित राख्ने उपायहरू

टूथब्रश

ब्रस गरेपछि टूथब्रशलाई प्रत्यक्ष रुपमा कोठाको तापक्रममा सुकाउन दिनु नै ब्याक्टेरियाको संख्या घटाउने सबैभन्दा सजिलो तरिका हो। अमेरिकन डेन्टल एसोसिएसनले पनि टूथब्रशको टाउकोलाई ढकनीले छोपेर वा बन्द डिब्बामा नराख्न सल्लाह दिन्छन्, किनकि यसले सूक्ष्मजीवहरूको वृद्धि बढाउन सक्छ ।

ब्रस सफा गर्ने घरेलु उपायहरू

  • माउथवाशमा भिजाउनुहोस् : ब्रसको टाउकोलाई एन्टिसेप्टिक माउथवाशमा पाँचदेखि दस मिनेटसम्म डुबाउनु प्रभावकारी तरिका हो।
  • भिनेगरको झोल : भिनेगरलाई पानीमा हालेर त्यसमा ब्रस डुबाएर सफा गर्नुपनि  सिरकाको ब्रसमा ब्याक्टेरिया घटाउन प्रभावकारी हुन सक्छ ।
  • राम्ररी सुकाउनुहोस् : ब्रसलाई सीधा राखेर, राम्रोसँग हावा लाग्ने ठाउँमा राख्नुहोस् ताकि यो छिटो सुकोस्। यसो गर्दा दाँत सडाउनमा मुख्य भूमिका खेल्ने खतरनाक ब्याक्टेरियाहरू पनि १२ घण्टापछि मर्न थाल्छन् ।

नियमित ब्रस बदल्नुहोस्

पुराना ब्रसका भाँचिएका र खिइएका रेशाहरूले ब्याक्टेरिया, आद्रता र खानाका टुक्राजस्ता फोहोर तत्वहरूलाई धेरै बेर समातेर राख्छन्। त्यसैले कम्तिमा  हरेक तीन महिनामा अनिवार्य रुपमा टूथब्रश बदल्नुपर्ने विज्ञको सल्लाह छ। तर कमजोर रोग-प्रतिरोधक क्षमता भएका मानिसहरूले अझ चाँडो ब्रस बदल्नुपर्छ।

शोधकर्ताहरूले लाभकारी  ब्याक्टेरियाको विकासलाई प्रोत्साहित गर्ने प्रोबायोटिक टूथपेस्टको आविष्कारको प्रयास गरिरहेका छन्। यी टूथपेस्टहरूको उद्देश्य मुखमा लाभदायक जीवाणुहरूको वृद्धि गर्नु हो, जसले हानिकारक जीवहरूलाई दबाउन सक्छन्।

प्रोबायोटिक कोटिंग्स वा बायोएक्टिभ ब्रिसल म्याटेरियलजस्ता विचारहरू भविष्यमा स्वस्थ सूक्ष्मजीव सन्तुलन कायम राख्ने नयाँ तरिका बन्न सक्छन्। यसबाट टूथब्रशलाई संक्रमणको स्रोत होइन, बरु सुरक्षाको माध्यम बनाउन सकिन्छ ।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?