News Summary
Generated by OK AI. Editorially reviewed.- हस्ताक्षर संकलन गरेको समूहले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग विशेष महाधिवेशनको नेतृत्व लिएर वातावरण बनाउन आग्रह गरेको छ।
- कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने र सम्भव नभए केन्द्रीय कार्यसमितिले आफैँ विशेष महाधिवेशन बोलाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
- समूहले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग केन्द्रीय कार्यसमिति बैठकमा प्रवेश नपाएको गुनासो गरेको र पार्टीभित्र एउटै प्रस्ताव आउनुपर्ने कोइरालाको चाहना रहेको छ।
१७ कात्तिक, काठमाडौं । देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको समूहले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग विशेष महाधिवेशनको नेतृत्व लिएर वातावरण बनाउन आग्रह गरेको छ ।
सोमबार बिहान विशाल नगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा ‘डेलिगेनस’ गएको हस्ताक्षर संकलन गरेको समूहले उनीसँग विशेष महाधिवेशनको नेतृत्व लिएर वातावरण बनाउन आग्रह गरेको हो ।
‘डेलिगेनस’मा सहभागी नेता मनोजमणि आचार्यले नेता कोइरालासँग ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रवेश पाउन नसक्नुको कारणबारे पनि गुनासो गरिएको बताए ।
‘उहाँ (कोइराला)लाई हामीले तपाईंलाई मतदान गरेका मतदाताहरूदेखि सबैले हस्ताक्षर गरेको विषय केन्द्रीय समिति बैठकमा किन प्रवेश पाएन । यसको नेतृत्व गरेर तपाईंले विशेष महाधिवेशनको वातावरण बनाउनुप¥यो भन्ने कुरा राख्यौं’, आचार्यले अनलाइनखबरसँग भने ।
नेता कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशनको विषय र विशेष महाधिवशेनमा जाने विषयमा आफूले समन्वय गरिराखेको जवाफ दिएको उनले जानकारी दिए । नेता आचार्यका अनुसार कोइरालाले केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनबारे दुई वटा प्रस्ताव नओस् भन्ने चाहना आफ्नो रहेको पनि बताए ।
‘म पार्टीलाई एक बनाउन लागिरहेको छु । पार्टीभित्र दुई वटा प्रस्ताव नआओस्, एउटै प्रस्ताव आओस्,’ कोइरालाको भनाइ उद्धृत गर्दै उनले भने, ‘चाहे विशेष महाधिवशेनभित्र रहेर नियमित महाधिवेशनको विषय या विशेष महाधिवेशनलाई लैजाने विषयमा मैले समन्वय गरिराखेको छु ।’
अर्का नेता गुरूराज घिमिरेले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता कोइरालालाई भेट्ने योजनाअनुसार नै विशाल नगर गएको प्रतिक्रिया दिए । उनले भने, ‘हस्ताक्षरकर्ताहरूको कार्यवाहक सभापति र शेखर दाइलाई भेट्न हाम्रो योजना थियो । त्यहीअनुसार हामीले उहाँसँग भेटेका हौं ।’
भेटमा नेता कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने र सम्भव नभए केन्द्रीय कार्यसमितिले आफैँ विशेष महाधिवेशन बोलाउनुपर्ने धारणा व्यक्त गरेको घिमिरेको भनाइ छ ।
‘चार वर्षीय कार्यकालभित्रै नियमित महाधिवेशन, त्यसका लागि एउटै कार्यतालिका बनाउनुपर्छ भन्नुभयो,’ उनले भने, ‘यदि, त्यो सम्भव हुँदैन भने विशेष महाधिवेशन केन्द्रीय समितिले आफैँ बोलाउने कुरो गर्नुभयो ।’
केन्द्रीय कार्यसमितिले आफैँ महाधिवेशन बोलाएर नीति र नेतृत्व दुबै परिवर्तन गर्नुपर्ने कोइरालाको धारणा रहेको पनि घिमिरेले बताए । उनले यसबीचमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आफूहरूलाई बोलाएर छलफल गरेको पनि जानकारी दिए ।
‘दुबै महामन्त्रीज्यूहरूले हामीलाई बोलाउनुभयो । अहिलेको डेभलपमेन्ट बताउनुभयो’, नेता घिमिरेले भने । विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरेर पार्टी कार्यालयमा बुझाएको टोलीले शनिबार कार्यवाहक सभापति खड्कासँग पनि छलफल गरेको थियो ।
प्रतिक्रिया 4