News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोलीले यूएईमा जारी लिग २ क्रिकेट शृंखलामा लगातार तीन हार बेहोरेको छ।
- नेपालले पछिल्लो ४ महिनादेखि ५० ओभरको कुनै खेल वा अभ्यास खेलेको थिएन जसले प्रदर्शनमा असर पारेको छ।
- नेपालले शृंखलाको अन्तिम खेल बुधबार यूएईसँग खेल्दै छ र प्लेइङ ११ मा केही परिवर्तन गर्ने सम्भावना छ।
१८ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टोलीले यूएईमा जारी लिग २ क्रिकेटको शृंखलामा लगातार तीन हार बेहोरेर खराब लयमा छ ।
नयाा प्रशिक्षक स्टुअर्ट ल को आगमनपछि जुनमा स्कटल्यान्डमा भएको लिग २ शृंखलामा राम्रो प्रदर्शन गरेको अनि टी-२० विश्वकप छनोटमा शानदार प्रदर्शनसहित उच्च मनोबलका साथ यूएई पुगेको नेपाली टोलीको प्रदर्शन भने अपेक्षाकृत हुन सकेन ।
अमेरिका र यूएईसँग सुरुवाती दुई खेलमा एकपक्षीय हार बेहोरेको नेपालले तेस्रो खेलमा अमेरिकासँग अलि सुधारिएको प्रदर्शन गरेपनि जित भने निकाल्न सकेन ।
लिग २ मा अझै लामो यात्रा तय गर्न बाँकी भएपनि यी तीन हारले नेपालको सोझै विश्वकप छनोट खेल्ने यात्रा कठिन मात्र नभएर एकदिवसीय मान्यता जोगिने कुरामा पनि प्रश्न उठ्न थालेको छ ।
कसरी भयो लगातार हार ?
नेपालले स्कटल्यान्डमा गएर खेलेको लिग २ शृंखलामा गरेको प्रदर्शनबाट लय समातेको प्रष्ट हुँदै थियो । तर त्यसपछि नेपालले केही महिना एकदिवसीय छाडेर टी-२० खेल्नेवाला थियो ।
टी-२० विश्वकप छनोटको तयारीका लागि नेपालले टी-२० अभ्यास खेलसहित वेस्टइन्डिजसँगको ऐतिहासिक शृंखला खेल्यो जहाँ शानदार प्रदर्शन गरेर विश्वकप छनोटमा पनि त्यही लय निरन्तरता दिएर विश्वकपमा छनोट भयो ।
टी-२० विश्वकप छनोटमा खेलेका अधिकांश खेलाडी नै नेपालको ओडिआई टोलीमा लिग २ को जारी शृंखला खेलिरहेका छन् । अधिकांश खेलाडी निरन्तर खेलमा सक्रिय नै रहेको हुँदा नेपालका लागि ती खेलाडीहरूको लय राम्रो हुनु फाइदाको विषय रहेपनि मैदानमा भने स्थिति अर्कै देखियो ।
त्यसमाथि पनि नेपालले पछिल्लो ४ महिनादेखि ५० ओभरको कुनै खेल एवम् अभ्यास खेलेको थिएन । जसका कारण नेपाललाई उक्त कुरा चुनौती बन्न सक्ने आँकलन गरिएको थियो र चुनौती बनिदियो पनि ।
यसअघिको लिग २ शृंखलामा मानसकिता र आत्मविश्वास पनि निकै बलियो देखाएका खेलाडीहरूको आत्मविश्वासमा कमी देखियो भने जुन पुनरागमनको संकेत नेपालले यसअघि गरेको थियो त्यसको ठीक विपरित नेपाली टोलीको ओडिआई लय नै धर्मराएको देखियो ।

सुरुवाती २ खेलमा नेपाललाई विपक्षी टोलीले ‘आउटप्ले’ नै गरे भन्नुपर्छ । त्यसपछिको तेस्रो खेलमा केही सुधारिएको प्रदर्शन भएपनि जित भने नेपालको पोल्टामा पर्न सकेन ।
नेपालको ब्याटिङ नै मुख्य कमजोरीको रूपमा देखियो, जुन् ब्याटिङ यसअघिको शृंखलामा परिपक्क भनेर बुझिएको थियो । नेपालको मध्यक्रममा बलियो प्रदर्शन हुन नसक्दा पहिलो खेलमा १०६ रनको फराकिलो हार बेहोरेको थियो । बाँयाहाते स्पीनर हर्मित सिंहको बलिङमा ब्याटरहरू टिक्नै सकेका थिएनन् ।
दोस्रो खेलमा नेपालले मध्यम योगफल खडा गरेको भएपनि कप्तान रोहित पौडेलको शतकबाहेक अन्यको प्रदर्शन राम्रो हुन सकेन । यूएईले २३४ रनको लक्ष्य आरामले पूरा गर्यो ।
त्यस्तै नेपालको डेथ बलिङ पनि कमजोर देखिएको छ । यसअघिकै समस्याका रूपमा रहँदै आएको डेथ बलिङले नेपाललाई बारम्बार सताउँदै आएको छ ।
तेस्रो खेलमा नेपालले अन्तिम १० ओभरमा ७१ रन डिफेन्ड गर्न सकेको थिएन । त्यसअघि पनि नेपालले अमेरिकाको मध्यक्रममा बनेको साझेदारी तोड्न सकेको थिएन । फलस्वरुप अमेरिकाले १ ओभर अगावै २७३ रनको लक्ष्य पूरा गरेको थियो ।
पहिलो खेलमा पनि नेपालले अमेरिकाविरुद्ध अन्तिम १० ओभरमा ९१ रन बेहोरेको थियो र जम्मा १ विकेट मात्र निकालेको थियो । त्यही खेलमा नेपालको नेपालको ब्याटिङ पनि ‘कोल्याप्स’ हुँदा फराकिलो हार बेहोर्यो ।
कप्तान रोहित पौडेलले शृंखलामा ब्याटिङको फिनिसिङ राम्रो हुन नसक्दा हार बेहोरेको बताए । उनले अन्तिम खेलमा जित निकाल्दै २ अंक जोड्ने लक्ष्य रहने बताएका छन् ।
सान्त्वना जितको खोजी
नेपालले यस शृंखला तालिकाको स्थान धेरै सुधार गर्ने भन्दा पनि ओडिआईको लयलाई कायम राख्न सक्नुपर्ने चुनौतीका बीच सुरु गरेको थियो जसलाई खेलाडीहरूले भने पार गर्न सकेनन् ।
लिग २ तालिकामा १९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको नेपालले सबै ४ खेल जितेमा पनि अंकतालिकामा १९ अंक रहेको नामिबियालाई पछि पारेर सातौंबाट छैटौंमा उक्लन सक्ने थियो ।
तर नामिबियालाई उछिन्न पनि नेपालले अब कम्तीमा अर्को शृंखला कुर्नुपर्ने भइसकेको छ । लगातार तीन हारपछि अब नेपाल यूएईबाट सान्त्वना जितका साथ २ अंक लिएर फर्किने उद्देश्यमा हुनेछ ।
त्यसो हुँदा लिग २ को तालिकामा नेपालको २० खेलमा १४ अंक हुनेछ र सातौंमा यथावत् रहनेछ । अन्तिम खेलमा जित निकालेमा अंकतालिकामा कुनै हलचल नल्याएपनि नेपालका लागि सान्त्वना जितका रूपमा रहनेछ र लिग २ को यस शृंखलामा सुखद अन्त्य हुनेछ ।

यूएईसँगको खेलमा हुनसक्ने परिवर्तन
नेपालले शृंखलाको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्दै छ । खेल आईसीसी एकेडेमीमा विहान सवा ११ बजेदेखि सुरु हुनेछ ।
यसअघि नेपाल यूएईसँगको खेलमा ५ विकेटले पराजित भएको थियो । नेपाल अब सान्त्वना जितको खोजीमा हुनेछ र यस खेलका लागि प्लेइङ ११ मा केही परिवर्तन गर्ने सम्भावना पनि छ ।
नेपालका लागि ओडिआईमा भरपर्दो मानिने आरिफ शेखको ब्याटबाट यो शृंखलामा रन बनिरहेको छैन । उनको स्थानमा टोलीमा अनिल साहले मौका पाउन सक्छन् ।
त्यस्तै बाँयाहाते स्पीनर ललित राजवंशीले किफायती बलिङ गरेपनि विकेट भने निकाल्न सकेका छैनन् । उनको स्थानमा शाहब आलमले मौका पाउने सम्भावना छ ।
प्रतिक्रिया 4