+
+
Shares

वडाध्यक्षबाट मालिस गराउने गाउँपालिका अध्यक्ष दिननाथ चौधरीले दिए पदबाट राजीनामा

उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौधरी विवादमा तानिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १९:५१

१८ कात्तिक, जनकपुरधाम । वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएपछि विवादमा परेका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन् ।

उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौधरी विवादमा तानिएका थिए ।

उपाध्यक्ष कल्पना चौधरीलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले ५ असोजमा राजीनामा पत्र बुझाएका थिए र सोही दिन गाउँ सभा समेत बसेको थियो ।

उक्त पत्रमा उनले पदमा रहेर काम गर्न असमर्थ रहेको उल्लेख गरेका छन् ।

‘म दिनानाथ चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु,’ राजीनामा पत्रमा छ ।

पदमा आवश्यक दक्षता, समय र ऊर्जा दिन नसकेको महसुस आफूले गरेकोले स्वच्छाले नै अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी उनले पत्रमा उल्लेख गरेका छन् ।

उनले पत्रमा लेखेका छन्, ‘गाउँपालिका अध्यक्षको हैसियतले पाएको अनुभवलाई म जीवनको महत्त्वपूर्ण उपलब्धि ठान्दछु । भविष्यमा पनि समाज र गाउँको सेवामा आफूलाई निरन्तर समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । त्यसैले मेरो यो राजीनामा स्वीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाए दिनु अनुरोध गर्दछु ।’

उनको राजीनामा आज स्वीकृत भएको पालिका उपाध्यक्ष कल्पना चौधरीले जानकारी दिइन् ।

आज बसेको कार्यपालिका बैठकले उनको राजीनामा स्वीकृत गरेको उनले बताइन् ।

पालिका अध्यक्ष चौधरी एमालेबाट निर्वाचित भएका थिए । कल्पना चौधरीले भने नेपाली कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

जनप्रतिनिधिहरूबीच हुने विवादका कारण ५ असोजमा मात्रै पालिकाको गाउँसभा भएको थियो ।

राजीनामा पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?