+
+
Shares

प्रशान्त महासागरमुनि भयानक दरार, प्रलयको खतरा कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते ११:४९

हामी बसिरहेको पृथ्वीको सतह एउटा सिंगो विशाल चट्टान होइन, यो धेरै ठूला-ठूला चट्टानका टुक्राहरूले बनेको छ। यी टुक्राहरूलाई हामी टेक्टोनिक प्लेट्स भन्छौं, जो पृथ्वीको भित्री भागको तातो, अर्ध-तरल चट्टानमाथि बिस्तारै-बिस्तारै सरिरहन्छन्। जब यी प्लेटहरू आपसमा ठोक्किन्छन्, सर्छन् वा एउटा अर्कोमुनि छिर्छन् (सबडक्सन), त्यसबेला भूकम्प र ज्वालामुखीजस्ता घटनाहरू हुन्छन् । यिनै टेक्टोनिक प्लेटमा वैज्ञानिकहरूले हालै एक अचम्मको तथ्यको खुलासा गरेका छन्।

प्रशान्त महासागरको गहिराइमा, क्यानाडाको भ्यानकुभर टापु नजिकै रहेको एउटा टेक्टोनिक प्लेट दुई टुक्रामा विभाजन हुन थालेको पत्ता लागेको छ। यो क्षेत्र क्यास्केडिया सबडक्सन जोन भनेर चिनिन्छ। नयाँ अनुसन्धानले उक्त क्षेत्र अब आफ्नो अन्त्यको नजिक पुगेको देखाएको छ।

सबडक्सन : पहाड चढ्ने रेलजस्तै

क्यास्केडिया क्षेत्र भूवैज्ञानिक हिसाबले एकदमै जटिल चौबाटो हो। यहाँ एक्सप्लोरर, जुआन डे फुका, प्यासिफिक र उत्तर अमेरिकी गरी चारवटा प्लेटहरूले एक-अर्कालाई धकेलिरहेका छन्। जुआन डे फुका र एक्सप्लोरर प्लेटहरू उत्तर अमेरिकी प्लेटमुनि सर्दैछन् ।

 Earth is Breaking Apart

लुजियाना स्टेट युनिभर्सिटीका वैज्ञानिक ब्र्यान्डन शकले सबडक्सन प्रक्रियाको व्याख्या गर्दै भन्छन्: यो सुरु गर्न निकै गाह्रो छ, मानौं रेललाई तपाइँ पहाडको टुप्पोमा धकेल्दै हुनुहुन्छ। तर एकपटक सुरु भएपछि, त्यो रेलगाडी तल तीव्र गतिमा गुड्छ, रोक्न कठिन हुन्छ। यसलाई पूर्ण रूपमा रोक्नका लिकबाट बाहिर गएर रेलको ठूलो दुर्घटना भएको जस्तै हुनुपर्छ ।

समुद्रमुनि ७५ कि.मि. लामो दरार

डा. शकको टिमले सिस्मिक इमेजिङ (समुद्रको गहिराइको अल्ट्रासाउन्ड) मार्फत एक्सप्लोरर प्लेटमा ७५ किलोमिटर लामो दरार भेटेका छन्। यो दरारले प्लेटलाई चिरिरहेको छ। यी भागहरू अहिले पूर्ण रूपमा अलग त भएका छैनन्, तर तन्किएको र फुट्नै लागेको रबर ब्यान्ड जस्तै चरम तनावमा छन्।

वैज्ञानिकहरूका लागि यो एउटा दुर्लभ दृश्य हो, जहाँ उनीहरूले कुनै सबडक्सन जोनको ‘अन्तिम सास’ स्पष्ट रूपमा देखिरहेका छन्। डा. शकका अनुसार, यो प्रक्रिया एकैचोटि बन्द नभई क्रमशः टुक्रिँदै जानेछ, जसरी रेलको एक-एक डिब्बा लिकबाट खस्दै जान्छ।

प्रलय होइन, तर सतर्कता अनिवार्य

 Earth is Breaking Apart

के टेक्टोनिक प्लेटको उक्त ‘मृत्यु’ को सङ्केतले ठूलो प्रलय ल्याउँछ त ? वैज्ञानिकहरूका अनुसार यसमा तत्काल आत्तिनु पर्दैन।

वास्तवमा सबडक्सन जोन पूर्ण रूपमा निष्क्रिय हुन लाखौं वर्ष लाग्नेछ। क्यास्केडिया जोन पहिलेदेखि नै महाभूकम्पको ठूलो खतरा बोकेर बसेको छ। सन् १७०० मा यहाँ आएको शक्तिशाली भूकम्पको सुनामी जापानसम्म पुगेको थियो। प्लेटको यो विखण्डनले भविष्यमा आउने भूकम्पहरूको स्वरूप लाई कसरी परिवर्तन गर्छ भन्ने बुझ्न बाँकी छ, तर ठूलो भूकम्पको जोखिम भने यथावत छ ।

विज्ञहरुका अनुसार यो अनुसन्धानले पृथ्वीको आन्तरिक गतिविधि कसरी सन्तुलित हुन्छ र टेक्टोनिक प्लेट्सको चक्र कसरी चल्छ भन्नेबारे गहन तथ्य प्रस्तुत गरेको छ। डा. शक भन्छन्, ‘पृथ्वी सधैँ परिवर्तन भइरहन्छ। प्रशान्त महासागरमुनि भइरहेको यो टुक्रिने प्रक्रियाले हाम्रो ग्रह जीवित र गतिशील रहेको तथ्यलाई फेरि एकपटक सम्झाएको छ। त्यसैलेर् हामी सधैँ सतर्क रहनुपर्छ ।’

-एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?