१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता मदन अमात्यले पार्टीको नियमित महाधिवेशन छलफलको विषय नै नभएको बताएका छन् ।
सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार उनले यस्तो बताएका हुन् ।
उनले अगाडि भने, ‘यो नियमित अधिवेशन भनेको छलफल गर्ने विषय होइन,’ उनले भने, ‘ठीक टाइममा गरिहाल्नुपर्छ । चुनाव नगर्ने अनि हामी लोकतन्त्रवादी भनेर बस्ने ?’
पार्टी सभापति शेरबहादुर देउवालाई आफूले आदर गर्ने भन्दै उनले देउवाको परिवारलाई मान्न नसकिने बताए । उनको यो संकेत सभापति देउवा पत्नी डा. आरजु राणा देउवाप्रति थियो । तर, उनले डा. आरजु राणा देउवाको नाम भने उल्लेख गरेनन् ।
‘सभापतिलाई अहिले पनि आदर गर्छु । तर, सभापतिको परिवारलाई म मान्दिनँ । हामी दास होइनौं । दासत्व स्वीकार गर्न सक्दैनौं,’ उनले भने, ‘प्रजातान्त्रिक अधिकार बोक्न पाइन्छ भनेर आएका हौं । कुनै नेताको परिवारलाई बोकेर, दासत्व स्वीकार गरेर मुखर भएर हिँड्न सकिँदैन । त्यस कारण परिवर्तन चाहिन्छ परिवर्तन आउनु पर्छ ।’
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुरसिंह लामालाई पार्टीले राजनीतिक कू गरेर हटाएको उनले आरोप लगाए ।
१४औँ महाधिवेशनमा आफूलाई तत्कालीन गृहमन्त्रीले प्रचार–प्रसार समेत गर्न नदिएको उनले आरोप लगाए ।
प्रतिक्रिया 4