+
+
Shares

हामीले लोकतन्त्रको जग हाल्यौं, जेनजीले समृद्धिको महल ठड्याउनुपर्छ

क्रान्ति आफैंमा एउटा रिलेसन हो । यो एउटा पुस्ताले अर्कालाई हस्तान्तरण गर्छ । हामीले लोकतन्त्रको जग हालेका छौं । तपाईंहरूले समृद्धिको महल ठड्याउनुहोस् ।

डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई
२०८२ कात्तिक २० गते २१:४३

ज्ञानको सीमा नै हुँदैन । न्यूटनको प्रसिद्ध भनाइ छ- हामीले जानेको एउटा थोपा हो, जान्न बाँकी समुद्र । त्यसैले विनम्रता र जिज्ञासाले मात्र सिकाइ सम्भव हुन्छ । कुनै पनि पुस्ता आफैंमा पूर्ण हुँदैन, उसले आफ्नो युगको काम मात्र गर्छ ।

म मानवजातिको विकासको सिद्धान्तमा विश्वास गर्छु । ब्रह्माण्डको उत्पत्तिदेखि जीवन, समाज, राज्य र राजनीतिसम्म सबै सापेक्ष र निरन्तर विकसित हुन्छन् । यो दृष्टिकोणले हामीलाई इतिहासको निरन्तरता बुझाउँछ र हरेक पुस्तालाई आफ्नो जिम्मेवारी थाहा दिन्छ ।

जेनजी शब्दलाई पनि धेरैले उमेर समूह मात्र ठान्छन् । होइन, यो निश्चित कालखण्डको चेतना हो । दोस्रो विश्वयुद्धपछि विज्ञान–प्रविधिको तीव्र विकाससँगै मानिसको सोच, आकांक्षा र चेतना फरक भयो । बेबी बुमर, एक्स, वाई हुँदै सन् १९९७ देखि २०१२ सम्म जन्मिएका पुस्तालाई जेनजी भनियो । जबकी नेपालमा सन् १९९७ मा अपूर्ण लोकतन्त्र थियो, सन् १९९६ मा माओवादी विद्रोह सुरु भयो । विश्वमा डिजिटल प्रविधिको तीव्र विकास हुँदै थियो ।

यो पुस्ता डिजिटल नेटिभ हो । इन्टरनेट, एआई र ग्लोबल कनेक्टिभिटीमा हुर्कियो । उसको चेतना तीव्र छ । त्यसैले राज्य, समाज, अर्थ–राजनीति र संस्कृतिलाई नयाँ ढंगले पुनर्संरचना गर्नुपर्छ । पुराना संरचनाले यो पुस्ताको आकांक्षा सम्बोधन गर्न सक्दैन । यो परिवर्तनको माग होइन, बाध्यता हो । हाम्रो पुस्ता (एक्स र वाई) ले उपनिवेशबाट मुक्ति, निरंकुश शासनको अन्त्य र लोकतन्त्र ल्याउने काम ग‍र्‍यौं ।

विश्वमा पनि ६० को दशकसम्म एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा उपनिवेशहरूको विरुद्ध आन्दोलन चले । राजतन्त्रहरू ढले । नेपालमा २००७ सालमा राणा शासन र शाहको डबल शासन अन्त्य भयो । २०४६ मा पञ्चायत ढल्यो । २०५२ मा माओवादीले जनयुद्ध सुरु ग‍र्‍यो । २०६२/६३ को जनआन्दोलनले राजतन्त्र अन्त्य गरी गणतन्त्र ल्यायो । तर यो अपूर्ण रह्यो ।

मैले १२ बुँदे समझदारी ड्राफ्ट गरेको थिएँ । त्यसमा लेखिएको थियो- नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक र जातपातजन्य विभेदको अन्त्य गरी राज्यको पुनर्संरचना गर्ने । यो वाक्य संविधानमा पनि छ । तर पूर्णता भएन । किन भएन ?

पहिलो, शक्ति सन्तुलन र अदृश्य चलखेल । दृश्य राजनीतिमा मात्र होइन, भूराजनीति, ब्युरोक्रेसी र सुरक्षा अंगहरूले प्रभाव पार्छन् । दोस्रो, पहिलो संविधानसभा भंग भयो । किनकि क्रान्तिकारी शक्तिहरू बहुमतमा भए पनि अदालतको प्रयोग र चलखेल भयो । दोस्रो संविधानसभामा पुराना शक्तिहरू फर्किए । सम्झौता आवश्यक भयो ।

हात्तीसँग कुस्ती होइन, जुक्तिले अंकुश लगाएर गन्तव्यमा पुर्‍याउनुपर्छ । एउटा भनाइ छ – सर्वनाशे समुत्पन्ने अर्धं त्यजति पण्डित: । अर्थात् सबै फाल्ने होइन, आधा बचाएर आधा पछि भरौँला ।

२०७२ असोज ३ मा संविधान जारी हुँदा मैले भनेको थिएँ- यो आधा गिलास भरिएको छ, आधा खाली । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता बचायौं । तर शासकीय स्वरूप, न्याय प्रणाली, भ्रष्टाचार नियन्त्रण, सेना र पुलिसको लोकतन्त्रीकरण अपूर्ण रह्यो । यो अपूर्णताले सुशासन रोकेको छ र विकासलाई अवरुद्ध बनाएको छ ।

त्यसैले अब जेनजी पुस्ताको पालो छ- लोकतान्त्रिक जगमा टेकेर समृद्धीकरणको चरण पूरा गर्ने । २००७, २०४६, २०६२/६३ सालपछिको यो २०८२ सालको चौथो खुड्किलो हो । सुशासनका लागि संविधानका कमजोरीहरू सच्याउनु पर्छ । पुलिस, सेना, प्रशासन र न्यायालयको पुनर्संरचना । जनलोकपाल जस्ता स्वतन्त्र अख्तियार संस्था गठन । भ्रष्टाचारमा शून्य सहनशीलता । ठूला काण्डको छानबिन आयोग तत्काल सक्रिय बनाउनुपर्छ । किनकि प्रमाणहरू नष्ट हुँदैछन् ।

तीव्र आर्थिक वृद्धिका लागि पनि चार आयाम आवश्यक छ । हाम्रो प्रतिव्यक्ति आय हेर्दा पनि हामी १० गुणा पछाडि छौं । दुई अंकको आर्थिक वृद्धि गर्न आवश्यक छ । घस्रेर होइन, भ्यागुतो जस्तो उफ्रेर टेकअफ गर्नुपर्छ । २०६५ को बजेट वक्तव्यमा मैले लेखेको थिएँ – सर्वाधिक घस्रने होइन, उफ्रने तरिकाले जानुपर्छ । त्यसैले पहिलो, वृद्धि चाहियो ।

दोस्रो, इक्विटी अर्थात् असमानता न्यूनीकरण । अमेरिकाको उदाहरण हेर्दा वृद्धि भए पनि असमानताले समस्या ल्याएको छ ।

तेस्रो, पर्यावरण । हिमाली क्षेत्रमा जलवायु परिवर्तनको जोखिम बढ्दो छ । प्रकृतिसँग संघर्ष होइन, सहकार्य चाहिन्छ ।

चौथो, खुसी । भौतिक सुख मात्र होइन, आत्मिक सुख । पारिवारिक र सामुदायिक वातावरण ।

एलजीबीटीआईक्यूको अधिकारको विषय पनि उत्तिकै महत्वपूर्ण छ । उनीहरूको अधिकार संविधानमा लेखिएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार, दलितलाई पीएचडीसम्म नि:शुल्क शिक्षा र भूमिहीनलाई जमिनको व्यवस्था गर्ने विषय कार्यान्वयन हुन जरुरी छ ।

यी सबै गर्न अहिलेको अवस्थामा पहिला जेनजी आन्दोलनलाई संस्थागत गर्नुपर्छ । २ देखि ४ महिनाभित्र सरकारसँग लिखित समझदारी गर्नुपर्छ । राजपत्रमा प्रकाशित हुनुपर्छ । यसले आन्दोलनलाई वैधानिकता र ऐतिहासिकता दुवै दिन्छ । धर्ना दिएर हुन्छ कि जसरी हुन्छ, यो गर्न ढिलो नगर्नुहोला ।

त्यसपछि मुख्य कुरा बेलैमा चुनाव हुनु आजको आवश्यकता हो । हामीले पाएको आधा गिलास पनि घोप्टन्छ, यदि चुनाव भएन भने । त्यसैले आधा गिलास घोप्ट्याउने होइन, भर्नेतर्फ लाग्नुपर्छ ।

जेनजीलाई मेरो अनुरोध छ, विदेशमा भएका नागरिकले पनि भोट हाल्न पाउनेगरी दबाब दिनुहोला । त्यस्तै, अहिले भोट हाल्ने उमेर १६ र उम्मेदवार बन्न – स्थानीय तहमा १८, माथिल्लो तहमा २१ वर्ष हुनेगरी संशोधन गराउन पहल लिन अनुरोध गर्छु । यो गर्न अध्यादेशबाट सम्भव छ । अहिलेको जस्तो संविधानको समझदारीले मिलाउन सकिन्छ ।

त्यस्तै, विचार मिल्ने सबैलाई एक ठाउँमा ल्याएर पुराना भ्रष्ट शक्तिलाई बिदा गर्न नयाँ वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता हो । अहिले संघीयता लगायतका कुरा फ्याक्ने हैन, बरु त्यो अपूर्ण छ, त्यसलाई पूर्ण बनाउनुपर्छ । यी कुरालाई क्रमश: सुधार्नुपर्छ । मैले संविधान जारी भएकै बखत भनेको थिएँ ।

त्यसपछि पुरानो शक्तिबाट यो सम्भव छैन, नयाँ चाहिन्छ भनेर हामी लागिरहेका थियौं । दस वर्षदेखि वैकल्पिक शक्तिको लागि यसमै लागिरहेका थियौं । संविधान जारी भएको दिनदेखि बोल्ने बाबुराम यहीँ छ । अरु तीनवटा टाउकोले दश वर्षदेखि चलाएका थिए । त्यसविरुद्ध हामी लडिरहेका थियौं । हाम्रो ताकत पुगिरहेको थिएन । त्यसमा अहिले तपाईंहरूको ताकत थपिएको छ । यसमा हाम्रो पूर्ण साथ छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समावेशी संसदले स्थिरता दिन्छ । कतिपयले प्रत्यक्ष कार्यकारी हुँदा सिक्किमीकरण हुने डर रहेको उदाहरण दिनुभयो । सिक्किमको उदाहरण गलत बुझाइ हो । त्यहाँ संसदले पास गरेको थियो, राष्ट्रपतिले होइन ।

यी सबै भन्दाभन्दै एउटा कुरामा के स्पष्ट हुनुपर्छ भने, क्रान्ति आफैंमा एउटा रिलेसन हो । यो एउटा पुस्ताले अर्कालाई हस्तान्तरण गर्छ । हामीले लोकतन्त्रको जग हालेका छौं । तपाईंहरूले समृद्धिको महल ठड्याउनुहोस् । म सहयात्रीको रूपमा सधैं साथमा छु । अघि भनेजस्तै संविधानलगायतका विषयमा आधा गिलास अझै खाली छ । मिलेर भरौँला ।

(जेनजीका प्रश्न र जिज्ञासामा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको जवाफको सम्पादित अंश)

लेखक
डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री समेत रहेका लेखक नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?