+
+
Shares

जेनजी फुट्यो भन्छन्, हामी कहिले संगठित थियौं र ?

कतिपयले जेनजीहरू फुटे भनेर आरोप लगाउँछन्, तर सत्य के हो भने हामी पहिले नै संगठित थिएनौं । फुट्ने त संगठित भएपछि मात्र हुन्छ ।

विकास रसाइली विकास रसाइली
२०८२ कात्तिक २१ गते ७:००

नेपाली समाज आज गम्भीर अन्तर्विरोधहरूको भुमरीमा फसिरहेको छ । सत्ता र जनताबीचको खाडल चौडा बन्दै गएको छ, जहाँ सत्ताले समाजका आदर्शहरूमाथि निरन्तर प्रहार गरिरहेको छ । सोही उत्पीडनले जेनजी आन्दोलन जस्तो स्वतस्फूर्त विद्रोहको रूप लिएको छ ।

त्यसैले हामी के स्पष्ट हुन आवश्यक छ भने – यो आन्दोलन कुनै परिचालित षड्यन्त्र होइन, बरू असंगठित शक्तिको प्रस्फुटन हो । कतिपयले जेनजीहरू फुटे भनेर आरोप लगाउँछन्, तर सत्य के हो भने हामी पहिले नै संगठित थिएनौं । फुट्ने त संगठित भएपछि मात्र हुन्छ ।

बरू अहिले यो आन्दोलनलाई संस्थागत र संगठित स्वरूप दिने प्रयासमा जेनजी अगुवाहरू निरन्तर लागिपरेका छौं । आम सञ्चार माध्यम र समाजका सबै पक्षले यसको समीक्षा गर्नु आवश्यक छ । जेनजी फुटेको छैन, यो स्वतस्फूर्त थियो र अब संगठनको चरणमा छ ।

अचेल जेनजीका नाममा यस्ता बहस कार्यक्रम पनि धेरै भइरहेका छन् । तर, म जहाँ पुग्छु, बोल्ने समय पाँच मिनेट दिएर टारिएको छ । कृपया, यस्तो कार्यक्रमलाई वक्तृत्वकला प्रतियोगिताजस्तो मात्र नबनाइयोस् । बरु राष्ट्रिय राजनीतिमा अझ खुलेर बहस र छलफल गर्नुपर्छ, जसबाट सही निचोड र निकास निस्कियोस् ।

विगत आठ–नौ वर्षदेखि मैले नेपालको भूगोल घुम्दा, विभिन्न वर्गीय, जातीय र लैंगिक उत्पीडनहरू नजिकबाट भोग्दा र तिनको अन्त्यका लागि संघर्ष गर्दा महसुस गरेको छु – नेपाली समाजका चार–पाँचवटा प्रधान अन्तर्विरोधहरू आज पनि जीवित छन् । यिनलाई पहिलो प्राथमिकतामा राखेर हल गर्ने बाटोमा जानु आजको राजनीतिक आवश्यकता हो ।

जस्तो, पहिलो वर्गीय अन्तरविरोधलाई हेर्न जरुरी छ । २००७ सालदेखि कम्युनिस्ट पार्टीले उठाएको र २०५२ सालमा माओवादीले युद्धसम्म पुर्‍याएको वर्गीय मुद्दा आज पनि अपूरो छ । तल्लो वर्गका नागरिकले जीवनभर देशलाई समर्पित गर्दा पनि सिटामोल नपाएर मर्नुपर्ने अवस्था छ । सक्नेहरू पनि विदेशमा उपचार जानुपर्ने अवस्था छ ।

राजनीतिक दलहरूले सामाजिक अभियन्ताहरूले मात्र पर्यावरण जोगाउँछन् भन्ने सोच त्याग्नुपर्छ ।

सबै नागरिकले देशका स्रोत–साधनमा समान पहुँच पाउनुपर्छ भन्ने माओवादी एजेन्डा नै थियो । तर, २०६२/६३ को जनआन्दोलनले पनि यसलाई पूरा गर्न सकेन । अहिलेको अवस्थामा हेर्दा संसद्‍वादी होस् वा संसद्‍बाहिरका दलहरू, कसैसँग यसको ठोस कार्यक्रम छैन । समस्या उजागर त गर्छन्, तर समाधानको निचोड कहाँ छ ?

लैंगिक उत्पीडनको हकमा पनि उस्तै छ । जनयुद्ध र जनआन्दोलनले महिलाहरूलाई भान्साबाट राजनीतिमा ल्याए, तर कहाँ ? वडा सदस्यमा सीमित गरे । मेयरमा प्रतिस्पर्धा गर्न महिलाहरूलाई ४० प्रतिशत आरक्षण दिएको भए हुन्थ्यो । आधा आकाश ओगटेका महिलाहरू ३३ प्रतिशतमा सीमित छन् । उनीहरू पार्टी कार्यक्रममा सहभागी नै हुँदैनन् ।

नेतृत्व र नीति निर्माण तहमा महिलाको स्थान छैन । कुनै दलसँग यसको कार्यक्रम छैन । जबकि महिलाहरू नीति निर्माणमा नआएसम्म नेपाली समाजका समस्या हल हुँदैनन् । ‘हाम्रो पार्टीमा आउनुहोस्, मुक्ति पाउनुहुन्छ’ भन्ने नारा मात्र पर्याप्त छैन ।

जातीय उत्पीडनको कुरा गर्दा पनि केही ठोस प्रगति छैन । ६०/६५ लाखको समुदाय आज पनि जातीय भेदभावमा छ । ६ महिना अघि हेटौंडा जस्तो ठूलो शहरमा मैले आफैं भोगें । काठमाडौंमा पनि यस्तै छ । मेरै उमेर समूहका साथीहरू भन्छन्, ‘जातको कुरा नगर्नु, देश बनाउने हो, नेपाली भनेर बसौं ।’

के यो सम्भव छ ?

बेलोबला त जातीय कोटा काट्ने बहस पनि चर्चामा आउँछ । आरक्षणको विरोध भइरहेको सुन्छौँ । जात हैन, वर्गीय कोटा दिनुपर्छ भन्छन् । वर्गीय कोटा दिए त म नै खुसी हुन्थें, किनकि यसले तल्लो वर्गलाई क्रान्तिमा ल्याउँथ्यो । तर यस्ता कार्यक्रमहरूमा यी मुद्दा कहिल्यै छलफल हुँदैनन् ।

देश बनाउने भन्दै अमूर्त कुरामा चर्चा हुन्छ । के ‘देश बनाउने’ भन्नु ठूलो बिल्डिङ बनाउनु हो ? अमेरिकामा जस्तो कयौँ तलाको घर बनाउने कुरा विकास हो ? अनि के सबैथोक भूगोलमात्र हो ? सुस्ताका नागरिकहरू — जो तीन–चार पुस्तादेखि नेपालमा जन्मेका छन् तर भारतीय नक्सामा पर्छन्, उनीहरू के हुन् ? उनीहरूलाई देशले नागरिक मान्छ ? कस्तो व्यवहार गर्छ ?

त्यसैले ध्यान नागरिकको जीवनमा दिन आवश्यक छ । मेरो लागि भूगोल सहायक हो, नागरिक प्रधान ।

जेनजी आन्दोलनलाई संगठित गरेर, सबै पक्षसँग सहकार्य गरेर मात्र निकास सम्भव छ । यी सबै कुरालाई केन्द्रमा राखेर अघि बढ्यौ भने जेनजी आन्दोलन हाम्रो लागि ठूलो अवसर हो ।

यस्तो कुरा गर्न थाले जातिवादी वा पहिचानवादी भनेर आरोप लगाइन्छ । तर, भाषा–संस्कृतिको रक्षा नभई ज्ञानको रक्षा हुँदैन । लाखे नाँच सबैलाई राम्रो लाग्छ, तर नेवार संस्कृति बचाउनुपर्छ भन्ने किन दिमागमा आउँदैन ? छोइला सबैलाई मिठो लाग्छ, तर यो सभ्यता जोगाउनुपर्छ भन्ने किन बुझिँदैन ?

गुरुङ–मगरका पर्व मनपर्छ, तर त्यसभित्रको ज्ञान रक्षा गर्नुपर्छ भन्ने किन सोचिँदैन ? किनकि यो राजनीतिक चिन्तनको कमीको कारण भइरहेको छ ।

त्यस्तै, अहिले नयाँ मुद्दा छ पर्यावरणको । यसबारे कुरा गर्दा कसैले यहाँ गम्भीरताका साथ लिएको देख्दैनौँ । राजनीतिक दलहरूले सामाजिक अभियन्ताहरूले मात्र पर्यावरण जोगाउँछन् भन्ने सोच त्याग्नुपर्छ ।

प्रकृतिसँग संघर्ष होइन, सहकार्य आवश्यक छ । क्लाइमेट चेन्ज न्यूनीकरण दलहरूको मुख्य एजेन्डा नभए उनीहरूलाई अब जनताले पत्याउनु हुँदैन । मधेशमा हेर्नुहोस् – जलवायु परिवर्तनजन्य समस्या बढ्दै छन् ।

यी र यस्ता अन्तर्विरोधहरू हल गर्न मुख्य राजनीतिक दलहरूले ठोस कार्यक्रम ल्याउनुपर्छ । जेनजी आन्दोलनलाई संगठित गरेर, सबै पक्षसँग सहकार्य गरेर मात्र निकास सम्भव छ । यी सबै कुरालाई केन्द्रमा राखेर अघि बढ्यौ भने जेनजी आन्दोलन हाम्रो लागि ठूलो अवसर हो । यो आन्दोलन नेपाली समाजको मुक्तिको आधार बन्न सक्छ, यदि हामीले यसलाई सही दिशामा डोर्‍यायौं भने । त्यसैले अब त्यता ध्यान दिनुपर्छ ।

(जेनजीसँगको संवाद कार्यक्रममा जेनजी अगुवा रसाइलीले राखेको मन्तव्यमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?