News Summary
Generated by OK AI. Editorially reviewed.- चेन्नई सुपर किङ्सले राजस्थान रोयल्सबाट विकेटकिपर ब्याटर सन्जु सामसनलाई ल्याउने तयारी गरेको छ।
- चेन्नईले रविन्द्र जडेजा र साम करानलाई राजस्थानमा पठाउने सम्भावना छ।
- आईपीएलका नियम अनुसार ट्रेडमा संलग्न खेलाडीहरूको नामसहित ‘एक्सप्रेसन अफ इन्ट्रेस्ट’ पठाउनुपर्नेछ।
२३ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को इतिहासमै सबैभन्दा चर्चित ट्रेड यतिखेर चर्चामा छ । चेन्नई सुपर किङ्सले राजस्थान रोयल्सबाट विकेटकिपर ब्याटर सन्जु सामसनलाई ल्याउने तयारी गरेको खबर छ।
यसको साटोमा चेन्नईले आफ्ना दुई स्टार खेलाडीहरू रविन्द्र जडेजा र साम करान राजस्थानमा पठाउने सम्भावना रहेको समाचार संस्था क्रिकन्फोमा उल्लेख छ।
दुवै क्लबले तीनै खेलाडीसँग प्रारम्भिक कुरा गरिसकेका छन्, तर आधिकारिक पुष्टि भने गरेको छैन। आईपीएलका नियम अनुसार दुवै टोलीले ट्रेडमा संलग्न खेलाडीहरूको नामसहित ‘एक्सप्रेसन अफ इन्ट्रेस्ट’ पठाउनुपर्ने हुन्छ। त्यसपछि खेलाडीहरूको लिखित स्वीकृति प्राप्त भएपछि अन्तिम सम्झौता गर्न सकिनेछ।
सामसन र जडेजा दुवैले आफ्ना फ्रेन्चाइजमा लामो समय बिताएका छन्। सामसनले ११ सिजनदेखि राजस्थानका लागि खेलेका छन् भने जडेजा २०१२ देखि चेन्नईका मुख्य सदस्य हुन्।
जडेजाले आईपीएलमा हालसम्म २५४ खेल खेलेका छन् र चेन्नईका लागि सर्वाधिक (१४३ विकेट) विकेट लिने खेलाडी हुन् ।
जडेजाले आफ्नो आईपीएल यात्रा १९ वर्षको उमेरमा राजस्थानबाटै सुरु गरेका थिए र २००८ मा पहिलो पटक उपाधि पनि राजस्थानकै लागि जितेका थिए। पछि उनी कोची टस्कर्स केरला हुँदै २०१२ मा चेन्नईसँग जोडिए।
सामसनले राजस्थानका लागि ४०२७ रन बनाइसकेका छन् र टोलीका सबैभन्दा सफल ब्याटर हुन्। उनले कप्तानका रूपमा ६७ खेलमध्ये ३३ जितेका छन्।
२०२४ मा उनले पहिलो पटक ५०० रनभन्दा बढी बनाएका थिए। तर २०२५ को दोस्रो भागमा चोटका कारण बाहिरिएपछि राजस्थान लगातार हार्दै नवौं स्थानमा पुगेको थियो।
साम करानले भने आफ्नो आईपीएल यात्रा पन्जाब किङ्सबाट सुरु गरेका थिए। उनले २०२५ मा चेन्नईका लागि खेलेका थिए तर पाँच खेलमा केवल एक विकेट लिँदै कमजोर प्रदर्शन गरेका थिए।
यदि यो ट्रेड आधिकारिक रूपमा सम्पन्न भयो भने, यो आईपीएल इतिहासको सबैभन्दा ठूलो र चर्चित ट्रेड बन्ने निश्चित छ।
-क्रिकइन्फोबाट
प्रतिक्रिया 4