२४ कात्तिक, चितवन । धुर्मुस-सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा करिब ६० करोड बराबरको काम गरेको सरकारी मूल्यांकन रिपोर्ट तयार भएको छ ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ कलेजले गरेको प्राविधिक जाँचका आधारमा फाउण्डेसनले भ्याटसहित ५९ करोड ९० लाख १ हजार ८ सय ६६ रुपैयाँको काम गरेको मूल्यांकन रिपोर्ट तयार गरेको छ । सो रिपोर्ट भरतपुर महानगरपालिकामा पेश गरिएको छ ।
इन्जिनियरिङ कलेजका सहायक डीन सहप्राध्यापक डा. इन्जिनियर सुरज लामिछाने नेतृत्वको मूल्यांकन समितिले सो रिपोर्ट तयार गरेको हो । समितिमा कलेजकै सहप्राध्यापक इन्जिनियर नारायणप्रसाद गौतम र इन्जिनियर शिव काफ्ले सदस्य रहेका थिए ।
सरकारले चालु आर्थिक वर्षमा फाउण्डेसनले गरेको कामको ऋण/उधारो तिर्ने प्रयोजनका लागि प्राविधिक मूल्यांकनको काम अगाडि बढाउने घोषणा बजेटमार्फत गरेको थियो । पुल्चोक इन्जिनियरिङ कलेज, भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउण्डेसनका बीचमा २०८२ भदौ १६ गते प्राविधिक मूल्यांकन गराउने त्रिपक्षीय समझदारी भएको थियो ।
कलेजले दिएको रिपोर्टमा फाउण्डेसन गैरनाफामूलक संस्था भएकाले अन्य कम्पनीले नियमानुसार पाउने १५ प्रतिशत ओभरहेड रकम प्रदान नगरेको जनाएको छ । फाउण्डेसनले कार्यालय सञ्चालन, प्राविधिक तथा गैरप्राविधिक कर्मचारी, कार्यालय सहयोगी साथै चौकीदारसमेतको खर्च गरेकाले ४ प्रतिशत कार्यालय सञ्चालन रकम त्यसमा जोडिएको छ ।
कलेजले तयार गरेको प्रतिवेदनमा फाउण्डेसनले रंगशालाभित्र निर्माण गरिएको नमूना क्रिकेट मैदान, कालोमाटोसहितको ढुवानी २३ लाख ७४ हजार, मैदानमा दुबो रोप्दा लागेको ३९ लाख ३७ हजार ९ सय ४७ रकम त्यसमा जोेडेको छैन ।
यसैगरी रंगशाला भित्र मौज्दात रहेको निर्माण सामग्रीहरु, स्क्राप सामग्रीहरुको रकम २ करोड ४६ लाख २१ हजार कलेजको प्रतिवेदनमा जोडिएको छैन ।
महानगरपालिकाले २०७९ चैत ३० गते यी सामान बुझेको भनेर फाउण्डेसनसँग सम्झौता गरेको छ । यी रकम बाहेक नै फाउण्डेसनले ५९ करोडभन्दा बढीको भौतिक काम गरेको देखिएको मूल्यांकन समितिका संयोजक इन्जिनियर डा.सुरज लामिछानेले बताए । ‘सरकारले दिएको काम हामीले पुरा गरेर रिपोर्ट बुझाएका छौं, रकम भुक्तानीको काम अब महानगरपालिकाले गर्ला,’ इन्जिनियर लामिछानेले भने, ‘लागेको खर्च कटाएर उधारो र ऋणको रकम कसरी भुक्तानी गर्ने भन्ने महानगरको कुरा भयो ।’
धुर्मस–सुन्तली फाउण्डेसनले गत साउन १८ गते महानगरपालिकालाई पत्र लेखेर प्राविधिक मूल्यांकनमा सहजीकरण गरिदिन अनुरोध गरेको थियो ।
प्रतिवेदनमा आयोजना व्यवस्थापनका लागि प्रयोग भएका तलब, भत्ता, फर्निचर र प्रचारात्मक विभिन्न कार्यहरूको खर्च समावेश नगरिएको उल्लेख छ । महालेखा परीक्षकको २०७८/७९ को प्रतिवेदनमा पनि सोही कुरा उल्लेख छ ।

सरकारले फाउण्डेसनका तर्फबाट भएको कामको उधारो रकम तिर्नका लागि चालु आर्थिक वर्षमा १५ करोड रकम विनियोजन गरेको छ । सो रकम कोष तथा लेखा नियन्त्रक कार्यालय हुँदै महानगरपालिकामा अख्तियारीसमेत आइसकेको छ ।
बजेट वक्तव्यमा नै पुल्चोक इन्जिनियरिङ कलेजबाट प्राविधिक मूल्यांकन गरेर फाउण्डेसनले तयार गरेको संरचना नेपाल सरकारले किन्ने र त्यसवापतको रकम फाउण्डेसनलाई उपलब्ध गराएर उधारो तिर्ने उल्लेख छ ।
प्राविधिक मूल्यांकन रिपोर्ट महानगरपालिकाका पेश भैसकेको धुर्मस–सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले जानकारी दिए ।
रिपोर्ट अध्ययन गरेर भुक्तानीको प्रक्रिया थाल्ने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए । उनले अर्थ मन्त्रालयसँग सामान्य केही विषयहरु सोधेर थप प्रस्ट भएपछि रकम दिने काम अघि बढाउने बताए ।
तिर्न बाँकी ऋण र उधारो १८ करोड, पाउने १५ करोड
महानगरले गरेको लेखा परीक्षणमा रंगशाला निर्माणमा ३९ करोड ८० लाख ३८ हजार खर्च भएको र १८ करोड ४३ लाख तिर्न बाँकी उधारो गरेर ५७ करोड ९२ लाख ८५ हजार खर्च भएको देखाइएको छ । सो ३९ करोडमध्ये २ करोड १४ लाख रकम रंगशाला सुरु गर्नुअघि धुर्मस-सुन्तली फाउण्डेसनको खातामा रहेको मौज्दात रकमबाट खर्च गरिएको छ ।
फाउण्डेसनका अनुसार रंगशाला बनाउँदा विभिन्न पक्षबाट ल्याइएको सामानको १८ करोड ४३ रकम भुक्तानी दिन बाँकी छ । तर, फाउण्डेसनले जम्मा १५ करोड मात्रै भुक्तानी पाउनेछ । ३ करोडभन्दा बढी रकम पाउनुपर्ने प्राविधिक मूल्यांकनमा देखिए पनि सरकारले १५ करोड मात्रै छुट्टाएको छ ।

फाउन्डेसनका अध्यक्ष कट्टेलले विगत ५ वर्षदेखि आफूले निकै हैरानी भोगेको भन्दै सरकारले दिने रकमबाट उधारो तिर्न केही राहत हुने आशा पलाएको बताए ।
फाउण्डेसनले तिनुपर्ने रकममध्ये केही रकम विभिन्न निकायबाट कामदारलाई ज्याला दिन ऋण लिएको छ भने अधिकांश सामानको उधारो छ । तिर्नुपर्ने १८ करोड ४३ लाख रुपैयाँमध्ये १ करोड ८४ लाख ९७ रुपैयाँ विभिन्न संघसंस्था तथा व्यक्तिसँग लिएको ऋण देखाइएको छ भने, करसहित विभिन्न पक्षलाई भुक्तानी दिनुपर्ने बाँकी रकम १६ करोड ५८ लाख रहेको अडिट रिपोर्टमा उल्लेख छ ।
कसलाई कति तिर्नुछ ?
रंगशालाले तिर्नुपर्ने ठूलो दायित्वमा सबैभन्दा बढी रकम चितवन रेडिमिक्सको झण्डै ३ करोड ४७ लाख २६ हजार छ ।
हामा स्टिललाई २ करोड २ लाख, जगदम्बा इन्टरप्राइजेजलाई २ करोड ३५ लाख, विशेष एण्ड को प्राइभेट लिमिटेडलाई २ करोड १५ लाख रहेको छ ।
सामान उपलब्ध गराएका विभिन्न सप्लायर्सहरुले फाउण्डेसनले रकम नदिएको भन्दै अदालतमा मुद्दासमेत दायर गरेका छन् । मुद्दा खेपेर भए पनि सप्लायर्सहरुले पाउनुपर्ने रकम दिलाउन दिन–रात लागिपरेको फाउण्डेसनका अध्यक्ष कट्टेलले बताए ।
आम्दानी र खर्च कति छ ?
रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले ८ करोड ५ लाखसहित विभिन्न सरकारी निकायबाट ११ करोड ७४ लाख, मेची–महाकाली अभियानबाट १ करोड ९ लाख, महायज्ञबाट ९ करोड ४१ लाख, व्यक्तिगत सहयोग ६ करोड ६९ लाख, संस्थागत सहयोग ४ करोड ५० लाख प्राप्त भएको देखाइएको छ ।
खर्चतर्फ निर्माण सामग्रीमा ४९ करोड ६० लाख, अन्य निर्माण सामग्री खरिदमा २ करोड २२ लाख, डिजाइन, परामर्श (डीपीआर लगायत) मा २ करोड ५४ लाख, निर्माण व्यवस्थापन (रासन, ज्यालासहित) ३ करोड ४२ लाख खर्च भएको देखिन्छ ।
रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन लगाइएको महायज्ञमा बोलकबोल गरेको रकम नदिएकै कारण बाँकी उधारो तिर्न नसकेको फाउण्डेसनले जनाउँदै आएको छ ।
महायज्ञमा बोलकबोल रकम उठ्ने र सरकारबाट पनि सहयोग हुने विश्वासमा काम थप्दा उधारो रहन गएको फाउण्डेसनका अध्यक्ष कट्टेल बताउँछन् ।
६ निकायबाट अडिट, फरक-फरक विवरण

रंगशालाको विभिन्न ५ वटा निकायले यसअघि नै अडिट गरेका छन् । रंगशालाको फाउण्डेसन र भरतपुर महानगरपालिकाले लेखा परीक्षण तथा भरतपुरकै सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, युवा तथा खेलुकद मन्त्रालय, शहरी विकास, राष्ट्रिय सतर्कता केन्द्रले अलग–अलग प्राविधिक मूल्यांकन गरेका छन् ।
दायित्व भुक्तानी गर्ने सम्बन्धमा र यथार्थ अवस्था पत्ता लगाउन भन्दै विभिन्न सरकारी ५ वटा निकायले मूल्यांकन गरेका हुन् । पुल्चोक इन्जिनियरिङ कलेजले मूल्यांकन गर्ने छैटौं संस्था हो ।
भरतपुर महानगरपालिकाले स्वतन्त्र लेखापरीक्षक नियुक्त गरी गरेको लेखापरीक्षणमा ५७ करोड ९२ लाख ८५ हजार ७ सय ३८ को काम भएको उल्लेख छ । आर्थिक वर्ष २०७५/०७६ मा २ करोड ७ लाख, २०७६/०७७ मा २० करोड १५ लाख, २०७७/०७८ मा ३३ करोड ४७ लाख र आर्थिक वर्ष २०७८/०७९ को माघ २० गतेसम्म २ करोड २१ लाख रकम खर्च भएको महानगरको अडिट रिपोर्टमा उल्लेख छ ।
यस्तै, अर्को सरकारी निकाय सघन सहरी तथा भवन निर्माण आयोजनाको प्रतिवेदनमा ६३ करोड २२ लाख ५ हजार २ सय ८० रुपैयाँ बराबरको भौतिक काम गरेको देखिएको छ । सरकारी कार्यालयकै प्रतिवेदनलाई आधार मान्दा फाउण्डेसनले सरकारी लागतभन्दा ६ करोड कममा काम गरेको देखिन्छ ।
२०७८ पुस २ गते भरतपुर महानगरपालिकालाई स्वामित्व लिइदिन अनुरोध गर्दै पत्र पठाउँदा फाउण्डेसनका अध्यक्ष कट्टेलले आर्थिक वर्ष २०७७/०७८ को असार समान्तसम्मको रिपोर्ट, सोही वर्षको साउनदेखि मंसिरसम्मको खर्च एवम् भौतिक प्रगतिसहित मौज्दातको विवरण महानगरपालिकामा बुझाएका थिए ।
रकम अभाव भन्दै रोकिएको थियो काम
धुर्मस–सुन्तली फाउण्डेसनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्णरुपमा काम रोकिएको थियो । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० विगाहा १९ कट्ठा जग्गामा धुर्मस–सुन्तली फाउण्डेसनले निर्माण थालेको रंगशालाको काम ३९ प्रतिशत काम सकिएपछि बजेट अभाव भएको भन्दै निर्माण रोकिएको थियो ।
कुल ३० हजार दर्शक क्षमताकोे रंगशालाको प्याराफिटमा ३ हजार दर्शक बस्न मिल्ने प्याराफिट फाउण्डेसनले बनाएको थियो । थप निर्माणमा स्रोत जुटाउन नसकेपछि धुर्मस–सुन्तली फाउण्डेसनले २०७८ पुस २ गते भरतपुर महानगरपालिकालाई स्वामित्व लिन अनुरोध गर्दै पत्र लेखेको थियो । महानगरपालिकाले रंगशालाको स्वामित्व लिएर ठेक्का प्रक्रिया मार्फत थप कामलाई निरन्तरता दिएको छ ।
प्रतिक्रिया 4