News Summary
Generated by OK AI. Editorially reviewed.- बन्दीपुर केबुलकारको २ करोड ८३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ र मंगलबारदेखि कारोबार सुरु हुनेछ।
- कम्पनीको २०.७१ प्रतिशत सेयर सर्वसाधारण र ७९.२९ प्रतिशत संस्थापक समूहको छ, र पहिलो कारोबारका लागि मूल्य सीमा तोकिएको छ।
- कम्पनीले केबुलकार, होटल, ड्राइभइन रेष्टुरेन्ट, मनोरञ्जनात्मक बगैंचा, जीप लाइन र स्काई साइक्लिङ्ग सञ्चालन गर्ने जनाएको छ।
२४ कात्तिक, काठमाडौं । बन्दीपुर केबुलकारको २ करोड ८३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । सोमध्ये २०.७१ प्रतिशत सर्वसाधारण समूहको र ७९.२९ प्रतिशत हिस्सा संस्थापक समूहको छ ।
कम्पनीलाई बीएएनडीआईपीयूआर कोड नाम प्रदान गरिएको छ । मंगलबारदेखि बजारमा यस कम्पनीको कारोबार सुरु हुनेछ ।
पहिलो कारोबारका लागि ९५ रुपैयाँ २४ पैसादेखि २८५ रुपैयाँ ७२ पैसाको सीमा तोकिएको छ । प्रतिसेयर नेटवर्थ र त्यसको तीन गुणासम्म पहिलो कारोबारका लागि मूल्य रेञ्ज तोकिँदै आएको छ । होटल तथा पर्यटन समूहमा यो कम्पनी सूचीकृत भएको हो ।
कम्पनीको मुख्य बिजनेस भनेको केबुलकार तथा होटल सेवा हो । बन्दीपुरमा केबुलकार गत वर्षको जेठ ३१ गतेबाट व्यावसायिक रुपमा सञ्चालनमा आएको छ ।
कम्पनीले केबुलकार तथा होटलसँगै ड्राइभइन रेष्टुरेन्ट, मनोरञ्जनात्मक बगैंचा, जीप लाइन, स्काई साइक्लिङ्ग सञ्चालनमा ल्याइएको जनाएको छ ।
केयर रेटिङ नेपालबाट बीबी रेटिङ पाएको छ । जसले दायित्व वहनमा कम्पनीलाई मध्यमस्तरको संकेत गर्दछ । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं कालीमाटीमा रहेको छ ।
ब्याजसहित केबुलकार आयोजनाको कुल लागत ३ अर्ब ८५ करोड छ । गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ४१ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी २ रुपैयाँ ८४ पैसा ऋणात्मक छ भने सञ्चित नोक्सानी १० करोड ६ लाख रुपैयाँ छ ।
आर्थिक वर्ष २०८२/८३ मा प्रतिसेयर आम्दानी ७ रुपैयाँ २४ पैसा तथा प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ हुने प्रक्षेपण कम्पनीले गरेको छ ।
साधारण लगानी फिर्ता अवधि अनुमान ८.२२ वर्ष रहेको छ । कम्पनीले स्काईवाक, बन्जीजम्प, स्विङ्ग तथा अन्य मनोरञ्जनात्मक पुर्वाधार निर्माण गरी व्यवसायिक पर्यटकीय गतिविधि सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया 4