२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन सरकारसँग आग्रह गरेका छन् ।
कांग्रेस नेता सिटौलाले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन सार्ने वा टार्ने काम नगर्न पनि सचेत गराए ।
गणेशमान सिंहको जन्मजयन्तीको अवसर पारेर सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा फसेको उल्लेख गर्दै त्यसको निदानका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताए ।
नेता सिटौलाले मुलुकलाई संकटबाट निकास दिन सबै राजनीतिक दलहरू मिलेर नयाँ समझदारीका साथ अघि बढनुपर्ने आवश्यकता रहेको बताए ।
‘प्रधानमन्त्रीलाई मैले भनेको छु निर्वाचन गराउन सफल हुनुहोस् । निर्वाचन सार्ने कुरा नगर्नुहोला । निर्वाचन टार्ने कसैले तपाईंलाई सुझाव दियो भने नमान्नुहोला भनेर मैले सुझाव दिएको छु,’ उनले भने ।
२१ फागुनको निर्वाचनलाई कसरी सफल बनाउने भन्ने चुनौती प्रधानमन्त्री समक्ष रहेकोभन्दै उनले सबैले समझदारी गरेर मुलुकलाई संकटबाट निकास दिनुपर्ने उनले बताए ।
प्रतिक्रिया 4