+

एनपीएलको उपाधि रक्षा गर्ने जनकपुरको लक्ष्य

२०८२ कात्तिक  २५ गते १५:३६ २०८२ कात्तिक २५ गते १५:३६
एनपीएलको उपाधि रक्षा गर्ने जनकपुरको लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुर बोल्ट्सले दोस्रो सिजनका लागि मुख्य प्रशिक्षकमा वेष्ट इन्डिजका शिवनारायण चन्द्रपललाई अनुबन्ध गरेको छ।
  • जनकपुरले पहिलो सिजनका ९ खेलाडी र विदेशी खेलाडी लाहिरु मिलान्था, इमरान ताहिर, वायने पार्नेललाई निरन्तरता दिएको छ।
  • पहिलो सिजनमा सुदुरपश्चिम रोएल्सलाई हराउँदै च्याम्पियन बनेको जनकपुरले दोस्रो सिजन उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ।

२५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनको च्याम्पियन टिम हो जनकपुर बोल्ट्स ।

पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको जनकपुरले पहिलो सिजन सुदुरपश्चिम रोयल्सलाई फाइनलमा हराउँदै च्याम्पियन बनेको थियो । दोस्रो सिजन जनकपुरको एक मात्र लक्ष्य उक्त उपाधि रक्षा गर्ने नै छ ।

जनकपुर बोल्ट्सले दोस्रो सिजनका लागि मुख्य प्रशिक्षकदेखि लोगोसम्म परिवर्तन गरेको छ । तर उसको लक्ष्य उही छ फेरि पनि एनपीएल ट्रफी जित्ने । त्यसैका लागि जनकपुरले तयारी तीव्र पारेको छ ।

जनकपुरले दोस्रो संस्करणका लागि मुख्य प्रशिक्षकमा वेष्ट इन्डिजका शिवनारायण चन्द्रपललाई अनुबन्ध गरेको छ । यस्तै पहिलो सिजन च्याम्पियन बनेको टिमबाट कोर ग्रुपलाई निरन्तरता दिएको छ ।

मार्की आसिफ शेख, कप्तान अनिल कुमार शाहसहित ७ खेलाडीलाई रिटेन गरेको जनकपुरले पहिलो सिजनका विदेशी खेलाडी लाहिरु मिलान्थालाई पनि निरन्तरता दिएको छ । यस्तै पहिलो सिजन टिममा रहेका मयन यादवलाई पनि जनकपुरले अक्सनबाट फेरि अनुबन्ध गरेको थियो ।

जनकपुरको टिममा पहिलो सिजन खेलेको टिमबाट ९ खेलाडी दोस्रो सिजन पनि टिममै छन् । जनकपुरले आसिफ शेख, कप्तान अनिल कुमार शाहसहित ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंसाकार र तुल बहादुर थापालाई रिटेन गरेको थियो ।

पहिलो सिजनको जनकपुर च्याम्पियन बन्दा उत्कृष्ट प्रदरशन गरेका न्युजिल्याण्डका अलराउण्ड जिम्मी निशम भने यस पटक टिममा हुने छैनन् ।

पहिलो सिजन टिममा रहेका शेर मल्ल, हेमन्त धामी, अरनिको यादव, आकाश त्रिपाठीलाई रिलिज गरेको जनकपुरले दोस्रो सिजनका लागि अक्सनबाट मयन यादवसहित सचिन भट्ट, विकाश आग्री र आदित्य महतालाई भित्र्याएको छ ।

चन्द्रपल र ताहिरको आगमन

च्याम्पियन जनकपुरले नयाँ सिजनका लागि मुख्य प्रशिक्षक परिवर्तन गरेको छ । पहिलो सिजन च्याम्पियन बनाएका पुबुद दासानायकेको स्थानमा जनकपुरले वेष्ट इन्डिजका महान ब्याटर चन्द्रपललाई अनुबन्ध गरेको छ ।

चन्द्रपल सोमबार काठमाडौं आइसकेका छन् र उनले आफू पहिलो पटक नेपाल आएको र उत्सहित रहेको बताएका थिए । नयाँ प्रशिक्षकको आगमनले जनकपुर टिम पनि उत्साहित छ र उपाधि जोगाउन तयार छ ।

जनकपुरले सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै चन्द्रपाललाई स्वागत गरेको थियो । जहाँ उनले एनपीएलको ट्रफी आकर्षक लागेको र डिफेन्ड गर्ने आशा व्यक्त गरे । ‘ट्रफी ठुलो अनि आकर्षक रहेछ, आशा छ हामी डिफेन्ड गर्नेछौं’ उनले भने, ‘पहिलोपटक आएको छु, धेरै कुरा थाहा छैन । स्थानीय प्रशिक्षकहरूसँग धेरै जानकारी लिनेछु । हामीले राम्रो क्रिकेट खेल्न सक्यौं भने उपाधि जोगाउन सक्छौं ।’

यस्तै जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडाले पहिलो सिजनकै लय कायम राख्दै उपाधि रक्षा गर्न तयार रहेको बताए । ‘पहिलो सिजनमा पुबुदु (दासानायके)सँग राम्रो अनुभव भयो । अब हाम्रो टोलीसँग शिवनराइन छन्, र हामीले त्यही जोश र लयलाई निरन्तरता दिनेछौं ।’ उनले भने, ‘उनलाई ल्याउन कठिन भएन, उनी हामीसँग काम गर्न उत्साहित थिए । अब हामी उपाधि बचाउन तयार छौं’ खतिवडाले भने ।

यस्तै जनकपुरले दक्षिण अफ्रिकी भेट्रान स्पीनर इमरान ताहिरलाई समेत अनुबन्ध गरेको छ । जनकपुरले अहिलेसम्म मिलन्था, ताहिर र दक्षिण अफ्रिकाकै वायने पार्नेललाई अनुबन्ध गरिसकेको छ । एनपीएलका लागि ६ जनासम्म विदेशी अनुबन्ध गर्न पाउनेछ । प्लेइङ ११ मा ४ विदेशी खेलाडी खेलाउन पाउनेछ ।

पार्नेल र ताहिर अनुबन्धपछि जनकपुर बलिङ डिपार्टमेन्ट बलियो बनेको छ । अझै विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी रहेकोले जनकपुरको टिम बलियो बन्न सक्छ । पहिलो सिजनकै खेलेकै अधिकांश खेलाडी दवस्रो सिजन पनि जनकपुरको पहिलो रोजाईँमै खेल्नेछन् ।

टप अर्डरमा मिलान्थासँगै आसिफ शेख र अनिल शाह छन् । त्यसपछि मिडल अर्डरमा शुभ कंसाकार छन् । विकल्पमा मयन यादव पनि छ । तर मिडल अर्डरमा जनकपुरलाई एक जना विदेशी ब्याटर आवश्यक देखिन्छ । विदेशी खेलाडी थप्ने सम्भावना छ ।

यस्तै जनकपुरलाई प्रोपर अलराउण्डर पनि आवश्यक छ । लोअर अर्डरमा मिडियम पेसर रुपेश सिह र विदेशी खेलाडि वायने पार्नेलले योगदान दिन सक्छन् । तर ब्याटिङ र बलिङ दुवे गर्न सक्ने अलराउण्डर आवश्यक छ ।

विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी ने रहेकोले त्यो पोजिसनमा आउने सम्भावना छ । यस बाहेक बलिङमा किशोर महतो, ललित राजवंशी छन् । उनीहरू भेट्रान स्पीनर ताहिरले साथ दिनेछन् ।

यस बाहेक बलिङमा विकास आग्री, तुल बहादुर थापा, आदित्य महता विकल्पको रुपमा छन् । यू१९ राष्ट्रिय टिमका स्पीनर सचिन भट्टलाछ पनि जनकपुरले टिममा राखेको छ ।

पहिलो सिजनको प्रदर्शन

जनकपुरले पहिलो सिजन उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो । लिग चरणमा दोस्रो स्थानमा रहेको जनकपुरले फाइनल पुग्दै सुदुरपश्चिम रोएल्सलाई ५ विकेटले पराजित गरेर उपाधि जितेको थियो ।

लिग चरणमा जनकपुर बोल्ट्सले ७ मध्ये ५ खेल जितेर दोस्रो स्थानमा रहेको थियो । सुरुवाती तीन खेलमा विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएर उत्कृष्ट सुरुवात गरेको जनकपुरले चौथो खेलमा लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको थियो । त्यसपछि सुदूरपश्चिम र चितवन राइनोजसँग पराजित हुँदा जनकपुरले काठमान्डु गोर्खाजलाई हराएको थियो ।

पहिलो क्वालिफायरमा पनि सुदूरपश्चिम रोएल्ससँग नै पराजित हुँदा जनकपुरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । त्यसमा कर्णाली याक्सलाई हराएर जनकपुरले फाइनल यात्रा तय गर्‍यो । निर्णायक खेलमा भने जनकपुरले अघिल्लो दुई खेलमा व्यहोरेको हारको बदला लिँदै सुदूरपश्चिमलाई हराएर एनपीएल ट्रफी उचालेको थियो ।

जनकपुरलाई च्याम्पियन बनाउन फाइनलमा लाहिरु मिलान्थाले सर्वाधिक ८७ रन बनाएका थिए । मिलान्थाले नै लिगमा सर्वाधिक २९३ रन बनाए । यस्तै जीमी निशमले २४७ रन बनाए । उनी सर्वाधिक रन बनाउनेमा पाँचौ स्थानमा थिए । मार्की आसिफ शेखले १६२ रन बनाएका थिए ।

यस्तै बलिङमा पनि जनकपुरका स्पीनर ललित राजवंशीले सुदूरपश्चिमका स्कट कुगेलेइन समान सर्विधक १७ विकेट लिएका थिए । यस्तै किशोर महतोले १४ विकेट लिएका थिए ।

जनकपुर बोल्ट्स टिम

रिटेन गरिएका खेलाडी : आसिफ शेख, अनिल कुमार शाह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंसाकार, तुल बहादुर थापा
अक्सनबाट अनुबन्ध गरेको खेलाडी : मयन यादव, सचिन भट्ट, विकाश आग्री, आदित्य महता
विदेशी खेलाडी : ताहिरु मिलान्था, वायने पार्नेल, इमरान ताहिर
मुख्य प्रशिक्षक : शिवनारायण चन्द्रपल

जनकपुर बोल्ट्स
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय