काठमाडौं । सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी छ ।
वार्तामा प्रसाईं सहभागी छैनन् । तर उनको समूहबाट माधव प्रसाद खतिवडा नेतृत्वमा देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी, मकबुल साह लगायत सहभागी छन् ।
खतिवडाले गृहमन्त्री ओम प्रकाश अर्याललाई माग पत्र बुझाएका छन् । त्यसमाथि छलफल जारी छ ।
सरकारले १८ कात्तिकमा प्रसाईंले नेतृत्व गरेको नागरिक बचाउ महाअभियानको कार्यालयमा पत्र पठाएर वार्तामा बोलाएको थियो । तर मन्त्रीस्तरीय वार्तामा दुर्गा प्रसाईं सहभागी नभएर खतिवडाको नेतृत्वको टोली वार्तामा पठाएका हुन् । वार्ता सुरु हुनुअघि अनलाइनखबरसँग कुरा गर्दै खतिवडाले भनेका थिए, ‘प्रधानमन्त्रीस्तरीय वार्तामा दुर्गा दाइ बस्नुहुन्छ, मन्त्रीस्तरीय वार्तामा हामी सहभागी हुँदैछौं ।’
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पनि प्रसाईं समूहसँगको वार्ता पुष्टि गरे ।
वार्ताको सहजीकरण अधिवक्ताद्वय लवन न्यौपाने र विनोदमणि भट्टराईले गरेका छन् ।

आन्दोलन घोषणा गरेका प्रसाईंमाथि निगरानी
प्रसाईंले ७ मंसिरबाट देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् । यसअघि गत १५ चैतमा पनि प्रसाईंको नेतृत्वमा तीनकुनेमा आन्दोलन भएको थियो । आन्दोलन हिंसात्मक बन्दा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
यसपटक आन्दोलन गर्न प्रसाईंले नेपाली कांग्रेस बीपीसँग सहकार्य गरेका छन् । आन्दोलनको तयारी अनुसार उनले यही कात्तिक २३ गते काठमाडौंको सुकुमवासी बस्तीमा कार्यक्रम गरेर आन्दोलन गर्न उक्साउ अभिव्यक्ति दिएका थिए ।
आन्दोलन हिंसात्मक हुनसक्ने भन्दै प्रसाईं र उनको समूहमा रहेकाहरुमाथि निगरानी बढाइएको सुरक्षा अधिकारीहरु बताउँछन् ।
यही कात्तिक महिनामा विवादास्पद मेडिकल व्यवसायी प्रसाईसँग काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरु र प्रहरी प्रमुखहरुले समेत छलफल गरेका थिए ।
प्रतिक्रिया 4