News Summary
Generated by OK AI. Editorially reviewed.- अर्घाखाँचीका थानेश्वर घिमिरेमाथि यूएईले डेढ वर्षदेखि एक नेपाली महिलाको मृत्यु प्रकरणमा यात्रा प्रतिबन्ध लगाएको छ।
- यूएईस्थित नेपाली दूतावासले अनुसन्धान पूरा नभएसम्म यात्रा प्रतिबन्ध हटाउन नसकिने बताएको छ।
- यात्रा प्रतिबन्धका कारण घिमिरेले भिसा आवेदन दिन र नेपाल फर्किन पाएका छैनन् भने परिवारमा आर्थिक र मानसिक समस्या बढेको छ।
२६ कात्तिक, काठमाडौं । अर्घाखाँचीका थानेश्वर घिमिरे डेढ वर्षदेखि युनाइटेड अरब इमिरेट्स (यूएई) को यात्रा प्रतिबन्ध (ट्राभल ब्यान) मा परेका छन् ।
एक नेपालीको मृत्यु प्रकरणमा जोडिएका उनीमाथि यूएईले डेढ वर्षदेखि यात्रा प्रतिबन्ध लगाइराखेको हो ।
अर्घाखाँची पाणिनी गाउँपालिका–८ का घिमिरे एक नेपाली महिलाको मृत्यु प्रकरणमा जोडिएको भन्दै यूएईले डेढ वर्षअघि यात्रा प्रतिबन्ध लगाएको थियो । जुन हालसम्म यथावत छ ।
यूएईस्थित नेपाली दूतावासका अनुसार सँगै बस्दै आएका एक नेपाली महिलाको मृत्यु प्रकरणमा उनी जोडिएका थिए । सँगै बस्दै आएका एक महिलाको शंकास्पद मृत्यु भएको थियो । श्रीमान र श्रीमतीबीच झगडा भएपछि ती महिला सडकमा मृत भेटिएकी थिइन् ।
घरपरिवारलाई घिमिरेले दिएको जानकारी अनुसार श्रीमान–श्रीमतीबीच झगडा हुँदा उनी शौचालयभित्र थिए । झगडा शान्त भएपछि बाहिर आउँदा ती महिला भित्र नदेखेपछि महिलाका श्रीमानलाई सोधेका थिए । त्यही क्रममा झ्यालबाट हाम फालेको भन्दै जानकारी गराएका थिए । त्यसपछि ती पुरुष फरार भएका थिए ।
घिमिरेले नै घटनाबारे प्रहरीलाई जानकारी गराएको र अनुसन्धानका लागि भन्दै प्रहरीले तीन दिन हिरासतमा लिएको थियो । घिमिरेकी दिदी लक्ष्मी घिमिरेले भाइ निर्दोष रहेको तर यात्रा प्रतिबन्धका कारण केही पनि गर्न नपाएको गुनासो गरिन् ।
दूतावासका अनुसार घटना गम्भीर प्रकृतिको भएकाले यूएईका सम्बन्धित निकायले अनुसन्धान पूरा नभएसम्म र कानुनी प्रक्रिया सकिएसम्म यात्रा प्रतिबन्ध हटाउन नसकिने स्पष्ट पारेको छ ।
यात्रा प्रतिबन्धका कारण उनले भिसा आवेदन दिनसमेत पाएका छैनन् । ‘भिसा नै छैन, उतै बिरामी परेर दुई चोटिसम्म अनफिट भयो, औषधि उपचार गर्न समस्या भयो, अनि त्यस्तो पोहोरबाटै यो धेरै समस्या भइराखेको थियो,’ दिदी लक्ष्मीले भनिन्, ‘अहिले औषधी गरेर अलि निको त भएको छ, दुई चोटि औषधी गरेपछि तीन पटकका लागि नेपाल आएर फेरि जानुपर्दो रहेछ, नमिल्दो रहेछ, भिसा नभएपछि काम गर्न नि पाएको छैन ।’
ती मृतक महिलाका श्रीमान फरार रहेको र भाइसँगै बस्ने भएकाले भाइमाथि यात्रा प्रतिबन्ध लगाइएको लक्ष्मीको भनाइ छ ।
दूतावासले मानवीय पक्ष ध्यानमा राख्दै घिमिरेका कानुनी प्रतिनिधिको उपस्थितिमा तीन पटकसम्म सम्बन्धित प्रहरी कार्यालय र अदालतमा औपचारिक भेटवार्ता गरी उनलाई नेपाल फर्कन अनुमति दिन अनुरोध गरेको थियो ।
तर, यूएईले घिमिरेमाथि अनुसन्धान चलिरहेको र अनुसन्धान पूरा नहुँदासम्म प्रतिबन्ध हटाउन नसकिने जानकारी दूतावासलाई गराएको थियो ।
सेप्टेम्बरदेखि डिसेम्बर २०२४ मा चलेको आममाफी (एम्नेस्टी) अवधिमा समेत दूतावासले घिमिरेको यात्रा प्रतिबन्ध हटाएर ट्राभल डकुमेन्ट तयार गर्न पहल गरेको थियो । उनीमाथिको प्रतिबन्धका कारण सफल हुन नसकेको दूतावासका श्रम काउन्सेलर दीपेन्द्र पौडेलले जानकारी दिए ।
घिमिरे यूएई पुगेको केही समयमै उक्त घटनामा परेका थिए । प्रतिबन्धका कारण उनी कुनै रोजगारी गर्न वा नेपाल फर्कन सकिरहेका छैनन् । हाल उनी नेपाली समुदायको सहयोगमा यूएईमै बस्दै आएको दिदी लक्ष्मीको भनाइ छ । भाइ निर्दोष रहेको र उक्त घटनामा कुनै संलग्नता नरहेको उनको दाबी छ ।
‘हाम्रो परिवारमा बुबा नभएकाले घरको मुख्य जिम्मेवारी उसैको काँधमा छ, अहिले विदेशमा अलपत्र परेको छ,’ दिदी लक्ष्मीले भनिन्, ‘न काम गर्न पाएको छ, न नेपाल फर्कन, घरमा पनि आर्थिक र मानसिक दुवै समस्या बढेको छ ।’
परिवारले नेपाल सरकारलाई समेत उक्त घटनाबारे समन्वय गरिदिन पटक–पटक आग्रह गर्दै आएको छ । तर, दूतावास मार्फत भइरहेको प्रयासले सार्थकता पाउन सकेको छैन ।
दूतावासले स्थानीय कानुनी प्रणालीको सीमाभित्र रहेर सक्दो कन्सुलर सहायता प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
‘हामी स्थानीय कानुनी प्रणालीको सीमाभित्र रहेर सक्दो कन्सुलर सहायता प्रदान गर्न प्रतिबद्ध छौं, यो मुद्दा कूटनीतिक र कानुनी माध्यमबाट समाधान गर्न निरन्तर समन्वय भइरहेको छ,’ दूतावासले भनेको छ ।
घिमिरे अहिले यूएईमा विनारोजगारी र कमजोर स्वास्थ्य अवस्था सहित कठिन जीवन बिताइरहेका छन् ।
प्रतिक्रिया 4