२७ कात्तिक, काठमाडौं । बुधबार एकै दिन ३० हजार बढी नयाँ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगका अनुसार बुधबार राति ८ बजेसम्म थपिएका नयाँ मतदाताको संख्या २ लाख ३९ हजार ९४० जना रहेको छ । यसमा बुधबार मात्रै थपिनेको संख्या ३० हजार ३७३ जना रहेको छ ।
यही कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था छ । यसअनुसार अब नाम दर्ताको म्याद तीन दिन मात्र बाँकी छ ।
मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिन लाग्दा थपिने नयाँ मतदाताको संख्या पनि वृद्धि हुँदै आएको निर्वाचन आयोगले जनाएको छ ।
पछिल्ला केही दिन अझ मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यले रफ्तार पाउने आयोगका अधिकारीहरू बताउँछन् । किनभने, राष्ट्रिय परिचयपत्रको तथ्यांकलाई मतदाता नामावली दर्तामा प्रयोग गरिँदैछ ।
निर्वाचन आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गर्न लागेको हो ।
यसका लागि बुधबार रातभरि प्राविधिक तयारी र परीक्षणका काम भएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले बुधबार आगामी निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् ।
छलफलमा आयोगका कार्यवाहक प्रमुख कायुक्त रामप्रसाद भण्डारीसहितका अधिकारीहरू थिए । जहाँ आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गर्न लागिएको जानकारी प्रधानमन्त्री कार्कीलाई गराएको थियो ।
छलफलमा राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नवराज घिमिरे पनि थिए । महानिर्देशक घिमिरेले राष्ट्रिय परिचय पत्र वितरणका लागि संकलन गरेको जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताएका थिए ।
यसले राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैं निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाउनेछ ।
प्रतिक्रिया 4