News Summary
Generated by OK AI. Editorially reviewed.- ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएर आफ्नो धारणा राखेका छन्।
- कुलमानले चुनाव एक महिना अघि मन्त्री पद छोडेर देशव्यापी प्रचारमा लाग्ने जानकारी दिएका छन्।
- उज्यालो नेपाल पार्टीले देशभर संगठन विस्तार गर्ने र चुनावमा पहिलो दल बन्ने लक्ष्य राखेको छ।
२७ कात्तिक, काठमाडौं । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ऊर्जामन्त्री कुलमान घिसिङ आफू समर्थित नवगठित उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।
निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि बुधबार बौद्धमा बसेको केन्द्रीय समिति बैठकमा कुलमान पनि पुगेर आफ्नो धारणा राखेका थिए । बिहीबार भने दलका केन्द्रीय सदस्यहरूको मात्रै बैठक बसेको थियो ।
मन्त्री घिसिङको इच्छा अनुसार दल दर्ता भएपनि उनी पार्टीको पदीय भूमिकामा भने बसेका छैनन् ।
केन्द्रीय समितिको पहिलोपटक भएको बैठकमा सदस्यहरूबीच अन्तक्रिया गर्ने, भावी रणनीति तय गर्ने, प्रचारलाई प्रविधि मार्फत् कसरी व्यापक बनाउने लगायतका विषयमा प्रारम्भिक छलफल भएको थियो । बुधबारको बैठकमा ४५ जना केन्द्रीय सदस्य सहभागी भएको जानकारी गराइएको छ । केन्द्रीय सदस्य जीतराम लामाले बुधबार र बिहीबार पार्टीको बैठक बसेको जानकारी गराए ।
बैठकमा सहभागी नेताहरूका अनुसार ऊर्जामन्त्री घिसिङ छलफलका लागि पूरा अवधि नबसेपनि केन्द्रीय सदस्यहरूलाई आफ्ना धारणाहरू राखेर निस्किएका थिए ।
नवगठित दलको संस्थापक केन्द्रीय सदस्य बनेको भन्दै घिसिङले बधाई दिएका थिए । बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए अनुसार कुलमानले संस्थापक केन्द्रीय सदस्य हुन नसकेको उल्लेख गर्दै अन्यलाई बधाई दिँदै भनेका थिए, ‘संस्थापकको कति महत्त्व हुन्छ भन्ने तपाईंहरूलाई पछि थाहा हुन्छ ।’
पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष बनाएर ५१ सदस्यीय केन्द्रीय कमिटी गत मंगलबार दर्ता हुँदा स्वयं कुलमान भने किन दलको नेतृत्वमा देखिएनन् भन्ने प्रश्न बाहिर उठिरहेको छ ।
बुधबार भएको केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठकमा कुलमानले मन्त्री पद छोडेर चुनावी मैदानमा आउने समय पनि जानकारी गराएका छन् । बैठकमा सहभागी नेताहरूका अनुसार चुनाव हुनु एकमहिना अघि मन्त्री पद छोडेर देशव्यापी प्रचारमा खट्ने कुलमानले जानकारी गराएका थिए ।
उज्यालो नेपालका केन्द्रीय सदस्यले भने, ‘चुनाव आउन एक महिनाअघि सरकारबाट बाहिर आउनुहुन्छ । त्यसपछि उहाँको नेतृत्वमा चुनावी अभियान देशभर सुरु हुन्छ । हिजोको बैठकमा कुलमानजीले त्यही कुरा भन्नुभएको छ ।’
कुलमानले दुई पदमा नबस्ने प्रतिबद्धता नेताहरूसँग हिजोको बैठकमा गराएका थिए । कुलमानको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेताले भने, ‘म दुइटा जिम्मेवारी कहिले पनि लिन्नँ । एउटै जिम्मेवारी लिने हो । म पार्टीमा रहे पार्टीमा र सरकारमा रहे सरकारमा ।’ उम्मेवार मनोनयन दर्तासँग कुलमानले सरकार छोड्ने उज्यालो नेपालका नेताहरूले जानकारी गराएका छन् ।
विगतमा फरक–फरक दल, अभियानमा लागेका व्यक्तिहरूलाई जोडेर उज्यालो नेपाल पार्टी गठन गरिएको छ । पार्टी गठनका लागि आफू सहित अन्य जनजाति नेताहरूले लिएको अग्रसरतालाई आधार बनाएर ‘जनजातिको मात्रै पार्टी’ भनेर नसोच्न कुलमानले सबैलाई आग्रह गरेका थिए ।
बुधबारको बैठकमा कुलमान आगामी निर्वाचन समयमै हुनेमा विश्वस्त देखिएका थिए । सहभागी नेताहरूका अनुसार कुलमानले चुनाव समयमा हुने दाबीसँगै आफ्नो दलको चुनावमा प्राप्त गर्न परिणामका बारेमा समेत आंकलन गरेका थिए । उज्यालो नेपाल पार्टी आगामी निर्वाचनमा पहिलो दल बन्ने कुलमानले ठोकुवा नै गरेका थिए । मिडियामा आएका विवादित विषयमा भने कुलमानले पार्टी बैठकमा मुख नखोलेको नेताहरूले जानकारी गराएका छन् ।
उज्यालो नेपालले अब द्रुतगतिमा देशभरि संगठन विस्तार गर्ने र प्रशिक्षण गर्ने भएको छ । केन्द्रीय तहमा अध्यक्ष बाहेक अन्य पदाधिकारी तत्काल मनोनित नगर्ने नीति उज्यालो नेपालले लिएको छ । ‘महाधिवेशन अघि पदाधिकारी नराखेरै एक जना संयोजकको नेतृत्वमा चुनावमा जान्छौं,’ एक केन्द्रीय नेताले भने । प्रवक्ता भने केही दिनमा तोकिनेछ । विधानमा अध्यक्षको दुई कार्यकाल भन्दा बढी नहुने व्यवस्था गरिएको छ ।
सञ्चार माध्यममा औपचारिक रूपमा बोल्नका लागि जीतराम लामालाई जिम्मेवारी दिइएको छ । अन्य केन्द्रीय सदस्यहरूलाई भने आफ्ना विचार प्रवाह नगर्न पार्टीले निर्देशन दिएको नेताहरूले जानकारी गराएका छन् । पार्टी केन्द्रीय कार्यालय यसै साता सुरु गर्ने तयारी गरिएको छ ।
चुनावअघि वैकल्पिक शक्तिहरूलाई एकत्रित बनाउने रणनीति भने उज्यालो नेपालले कायम राखिराख्ने भएको छ । काठमाडौं महानगरका मेयर बालेन शाह, विवेकशील साझा, रास्वपाकी पूर्व नेता सुमना श्रेष्ठ, जेनजी अगुवा सुदन गुरुङ लगायतका शक्तिलाई एकीकृत गराउने प्रयास भने जारी राख्ने उज्यालो नेपालका नेताहरूले जानकारी गराएका छन् । कुलमानले सरकार छोडे लगत्तै पूर्व सचिवहरू एवं समाजका अन्य प्रतिष्ठित व्यक्तिहरू पनि जोडिने उज्यालो नेपालका एक नेताले दाबी गरे ।
कुलमान संलग्न दलको सर्वोच्च पद अध्यक्षमा हाल पूर्वसचिव अनुपकुमार उपाध्याय छन् । उपाध्यायले केहीदिन अघिसम्म राजसंस्थाको पक्षमा सामाजिक सञ्जालमा विचारहरू राख्दै आएका थिए ।
उपाध्यायलाई कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारले प्रदेशमा नीति तथा योजना आयोगको उपाध्यक्ष समेत बनाएको थियो । उनले केहीदिन अघि राखेका विचारहरू बारे अनलाइनखबरमा समाचार आइसकेपछि मात्रै पार्टी पंक्तिलाई हेक्का भएको उज्यालो नेपालका नेताले बताए ।
एक केन्द्रीय सदस्यले सुनाए, ‘कुलमान सर स्वयंलाई उहाँले लेखेकोबारे थाहा थिएन होला । पहिलेको र अहिलेको परिस्थिति परिवर्तन भइसकेको छ । अध्यक्षले पनि त्यो कुरा बताइसक्नु भएको छ ।’
निर्वाचन आयोगमा पेश गरिएको सूची अनुसार दोस्रो वरीयतामा रहेका केन्द्रीय सदस्य डा. ताराप्रसाद जोशी एकीकृत समाजवादीका पूर्व नेता हुन् । डडेलधुरामा प्रदेश सभामा उनले स्वतन्त्र उम्मेदवारका रूपमा जितेका थिए ।
उज्यालो नेपाल पार्टी गठन गर्न सक्रियतापूर्वक लागेका जीतराम लामा पूर्व एमाले एवं एनजिओकर्मी हुन् । प्रा.डा महेन्द्रसुन्दर लावती पहिचानवादी आन्दोलनका अगुवा हुन् । रुपन्देहीका डा. घनश्याम पाण्डे काठमाडौंका मेयर बालेनको टीममा रहेर स्वास्थ्यक्षेत्रमा काम गर्दै आएका थिए ।
केन्द्रीय सदस्यको वरीयतामा पाँचौ नम्बरमा रहेका सागर ढकाल विदेशमा अध्ययन गरी फर्केका वातावरणविद् हुन् ।
डा. अभिषेकराज सिंह स्वास्थ्य क्षेत्र सुधारका लागि डा. गोविन्द केसीले चलाएको अभियानमा संलग्न थिए । सिंहको प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग निकट सम्बन्ध छ ।
एकीकृत समाजवादीका पूर्वनेता एवं नेपाल रेडक्रसका पूर्व अध्यक्ष डा. विशाल भण्डारी पनि उज्यालो नेपालको केन्द्रीय सदस्य बनेका छन् ।
उज्यालो नेपाल पार्टी सुरुमा दर्ता गर्ने ज्ञानेन्द्रकुमार तामाङ नवगठित दलमा केन्द्रीय सदस्य बनेका छन् । पर्यटन व्यवसायी एवं गत निर्वाचनमा काठमाडौं–५ का स्वतन्त्र उम्मेदवार श्री गुरुङ पनि कुलमानको पार्टीमा केन्द्रीय सदस्य पद सहित प्रवेश गरेका छन् । इलामको उपनिर्वाचनमा उम्मेदवार बनेका डकेन्द्र सिंह थेगिम उज्यालो नेपाल पार्टीमा जोडिएका छन् ।
उज्यालो नेपाल पार्टीमा नागरिक उन्मुक्ति पार्टीको पृष्ठभूमि भएकाहरू समेत जोडिएका छन् । साथै, साझा विवेकशीलमा क्रियाशीलहरू पनि नयाँ पार्टीको केन्द्रीय नेतृत्व लिएर प्रवेश गरेका छन् ।
उज्यालो नेपालका नेताहरूका अनुसार केन्द्रीय सदस्यहरूका लागि प्राप्त २०० बढी नामबाट घटाउँदै ५१ जनामा झारिएको हो । वातावरणको क्षेत्रमा काम गरिरहेकी टासी ल्हान्जोमले हस्ताक्षर नगरेको प्रतिक्रिया दिएकी थिइन् । तर, उज्यालो नेताहरूको दाबी अनुसार उनले हस्ताक्षर गरिसकेकी छन् ।
प्रतिक्रिया 4