+
+
Shares

मधेश प्रदेशका होटलमा घटे कर्मचारी, बढे पर्यटक

नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदन अनुसार मधेश प्रदेशका होटलहरूले २०.४२ प्रतिशतले कर्मचारी कटौती गरेको पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशका होटलहरूले २०.४२ प्रतिशतले कर्मचारी कटौती गरेका छन्।
  • मधेश प्रदेशमा पर्यटक आगमन १८.२५ प्रतिशतले बढेर ४० हजार ३ सय ७४ पुगेको छ, जसमा भारतबाट ३७ हजार ७ सय २१ पर्यटक आएका छन्।
  • राष्ट्र बैंकले मधेशमा राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्नुपर्ने र भारतीय पर्यटक आकर्षित गर्न जानकी मन्दिर जस्ता धार्मिक स्थलको सम्भावना औँल्याएको छ।

२८ कात्तिक, काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशका होटलमा कार्यरत कर्मचारी संख्यामा व्यापक कटौती भएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार मधेश प्रदेशका होटलहरूले २०.४२ प्रतिशतले कर्मचारी कटौती गरेको पाइएको छ ।

तर, पर्यटक आगमन संख्या भने बढेको देखिन्छ । राष्ट्र बैंकले नमुना छनोटका लागि ७ पर्यटक स्तरीय होटल छनोट गरी स्थलगत सर्वेक्षण गरेको थियो ।

यस प्रदेशमा पर्यटकको यकिन तथ्यांक उपलब्ध गराउने अध्यागमन तथा पर्यटन सूचना केन्द्र नभएका कारण होटलहरूले दिएको तथ्यांकलाई नै आधार मानेर विश्लेषण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

मुलुकको सेवा क्षेत्रमध्ये मधेशले मात्र ११.१७ प्रतिशत हिस्सा ओगटेको छ । सेवा क्षेत्रमा सबैभन्दा धेरै योगदान बागमतीले ४ सय ३९ प्रतिशत दिने गरेको तथ्यांक छ ।

अघिल्लो आव मधेशमा सेवा क्षेत्रको रोजगारी ४.९९ प्रतिशतले बढेको पाइएको थियो । गत आव भने पर्यटक आगमन १८.२५ प्रतिशतले बढेर ४० हजार ३ सय ७४ पुगेको देखिएको छ ।

कुल पर्यटकमध्ये भारतबाट ३७ हजार ७ सय २१ र तेस्रो मुलुकबाट १ हजार ६ सय ७० आएको देखिएको छ । अघिल्लो आव पर्यटक आगमन १४.३४ प्रतिशतले बढेर ३४ हजार १ सय ४३ थियो । पर्यटक आगमन वृद्धि भएसँगै होटल व्यवसाय विस्तार भए पनि रोजगारी भने कटौती भएको देखिने राष्ट्र बैंकको विश्लेषण छ ।

राष्ट्र बैंकले मधेशमा निर्माण सुरु भएका आयोजना हुलाकी राजमार्ग, काठमाडौं–निजगढ द्रुतमार्ग, राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जस्ता राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न सके त्यसले यस प्रदेशको विकासमा ठूलो फड्को मार्ने उल्लेख गरेको छ ।

खुला सीमाना व्यवस्थापन गरी स्थानीय उत्पादनको बजार संरक्षणको सुझाव समेत केन्द्रीय बैंकले दिएको छ ।

मधेशमा भारतीय पर्यटक आगमन बढाउन सकिने सम्भावना समेत बैंकले औँल्याएको छ । जानकी मन्दिर, धनुषाधाम मन्दिर, गढीमाई मन्दिर, कंकालिनी मन्दिर, छिन्नमस्ता भगवती मन्दिरले ठूलो संख्यामा भारतीय पर्यटक आकर्षित गर्न सक्ने सम्भावना केन्द्रीय बैंकले औँल्याएको छ ।

धेरै तालतलैया तथा पोखरी रहेको जनकपुर धाम मधेश प्रदेशमा रहेकाले यहाँ अवस्थित पोखरीको सरसफाइ, विभिन्न जलचर पालन, जलक्रिडाका लागि पूर्वाधार विकास तथा सडक पूर्वाधार सुधार र गुणस्तरीय होटल तथा रेस्टुरेन्ट स्थापना गरी जल मनोरञ्जन क्रियाकलाप बढाउन सकिने सम्भावना समेत औँल्याइएको छ ।

मधेशका सेवा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ७२ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?