+
+
Shares

जेनजी प्रदर्शनमा संलग्नलाई यातना दिएको उजुरीपछि आयोगद्वारा प्रहरी हिरासत अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते १०:२३

३० कात्तिक, काठमाडौं । जेनजी युवाको प्रदर्शनमा सहभागीहरुलाई नियन्त्रणमा लिएर यातना दिएको र दुर्व्यवहार गरेको गुनासोपछि राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी हिरासतको निरीक्षण गर्ने भएको छ ।

आयोगले गत विहीबार र शुक्रबार हिरासतहरुको निरीक्षण गरेको हो । निरीक्षणको रिपोर्ट भने सार्वजनिक हुन बाँकी छ ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले अनलाइनखबरसँग भने, ‘विहीबार र शुक्रबारको निरीक्षणमा के पाइयो भन्ने कुरा मैले बुझ्न पाएको छैन । आज म बुझ्छु ।’

गत भदौ २३ र २४ गते भएको जेनजी युवाको प्रदर्शनको क्रममा हिंसात्मक घटना भएको थियो । आन्दोलमा ७६ जनाको मृत्यु भएको थियो । सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, प्रहरी कार्यालयसहितका सरकारी, निजी संरचनामा आगजनी, लुटपाट र तोडफोड भएको थियो ।

हिंसात्मक घटनामा संलग्नहरुलाई प्रहरीले खोज्ने र पक्राउ गर्ने काम गर्दै आएको छ । पक्राउ परेकाहरुलाई हिरासतमा यातना दिइएको उजुरी आयोगमा परेपछि आयोगले त्यसमा चासो राख्दै अनुगमन गरेको हो ।

आयोगले जेनजी पुस्ताको आन्दोलनको भएका मानवअधिकार उल्लंघनका घटनाको अनुसन्धान पनि गरिरहेको जनाएको छ । आयोगले मानव उल्लंघन घटनाका श्रव्यदृष्य सामग्री (भिडियो), कागजात वा अन्य प्रमाणभए उपलब्ध गराइदिन अनुरोधसमेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?