३० कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना (असोज मसान्त) सम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशतमा सिमित भएको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार खासगरी खाद्य तथा पेय पदार्थको समूहको मूल्यवृद्धि २.५४ प्रतिशतले ऋणात्मक देखिएको छ । यसको मतलब भान्साको खर्च सस्तो भएको देखिन्छ ।
गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि भने ३.८० प्रतिशतले भएको देखिन्छ । कम मुद्रास्फीतिले सुस्त अर्थतन्त्रको संकेत गर्छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य समुहको मुद्रास्फीति ७.२० प्रतिशत र गैरखाद्यको ३.४९ प्रतिशत भएको देखिएको छ ।
आर्थिक वर्षको पहिलो त्रैमासको औसत: मुद्रास्फीति १.६७ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिको औसत: मुद्रास्फीति ४.२६ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यु तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.७५ प्रतिशतले बढेको छ ।
गैर मदिराजन्य पेय पदार्थको ३.७१ प्रतिशत र माछा तथा मासुको ३.१५ प्रतिशतले बढेको छ । तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.६३ प्रतिशतले घटेको देखिन्छ । मरमसलाको ७.८२ र दाल तथा गेडागुडीको मूल्य ४.४१ प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५१ प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.२९ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशतले बढेको छ । फर्निसिङ तथा घरासयी उपकरणको ४.५५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ०.२३ प्रतिशतले घटेको छ ।
यस अवधिमा ग्रामीण भेगमा १.२९ प्रतिशत र शहरी क्षेत्रमा १.५३ प्रतिशतको मात्र मूल्यवृद्धि भएको देखिन्छ । प्रदेशगत रूपमा हेर्दा कोशीको २.३३ प्रतिशत, मधेशको १.२०, बागमतीको १.१३, गण्डकीको १.१६, लुम्बिनीको १.८९, कर्णालीको १.९१ र सुदूरपश्चिमको ०.६९ प्रतिशत मात्र मुद्रास्फीति देखिएको छ । काठमाडौं उपत्यकाको १.४३, तराईको १.२९, पहाडको १.५० र हिमालको २.३३ प्रतिशत मुद्रास्फीति रहेको छ
प्रतिक्रिया 4