३० कात्तिक, जनकपुरधाम । सिरहा र धनुषा जोड्ने कमला नदीमा पुल सञ्चालन नहुँदा सिरहा नगरपालिका-७ का व्यवसायी राधे यादवले वर्षौंदेखि सास्ती खेपिरहेका छन् ।
कहिले बाँसको पुलबाट त कहिले डुंगाबाट मोटरसाइकल तारेर, अनि कहिले भत्किएकै पुलबाट जोखिमपूर्ण यात्रा गर्नु सिरहा बजार र जनकपुरधामा व्यापार-व्यवसाय गरिरहेका राधेको नियति नै बनेको छ ।
‘सिरहा र जनकपुर ओहोरदोहोर गर्नु मेरो दिनचर्या हो । १५ वर्षदेखि पुलको नाममा काम भइरहेको छ, तर हाम्रो दुःख टरेको छैन,’ उनी पीडा पोख्छन्, ‘यहाँका नेता र इन्जिनियर बेकामे भए ।’
राधेकै जस्तो नियति भोगिरहेका छन् सिरहा नगरपालिका-७ अरेरवाका ७२ वर्षीय दुःखी यादव । सिरहामा घर रहेका दु:खीको खेत धनुषा सतकमला किनारमा छ । त्यही खेतको उब्जाउले उनको परिवार चल्छ । पुल सिलान्यासको दिन सहभागी भएका उनले केही वर्षमै पुल बनेर दुःखको दिन अन्त्य हुने आशा गरेका थिए । तर अब पुलबाट यात्रा गर्ने उनको आशा मरिसकेको छ ।
‘सिलान्यासको दिन धेरै खुसी थिएँ । लाग्थ्यो, अब केही वर्षमै पुल बन्छ र हाम्रो दुःखको दिन सकिन्छ । तर अन्तिम समयमा पुल भत्कियो । अब त यो पुल सञ्चालन हुने र नयाँ पुल देख्ने मेरो भाग्यमा छैन,’ उनी भन्छन् ।
एक दशक लगाएर बनेको कमला नदीको पुल निर्माणको अन्तिम चरणमा १७ असार २०७८ को बाढीले भासिन पुग्यो । मधेशको लाइफलाइन मानिने हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा पुल नबन्दा राधे र दुःखी जस्तै दैनिक हजारौं नागरिक कष्टकर यात्रा गर्न बाध्य छन् ।
यहाँ पुल नहुँदा पूर्वपश्चिम राजमार्गबाट तेब्बर दुरी यात्रा गरी जनकपुरबाट सिरहा र सिरहाबाट जनकपुर आउनुपर्ने अवस्था छ ।
भासिएको पुल चार वर्षदेखि मर्मत गर्ने काम भइरहे पनि कहिले पूरा हुने टुंगो छैन । यो भत्केको पुल देशका उच्च ओहदाका नेताहरूका लागि अवलोकन गर्ने, तस्वीर खिचाउने र सस्तो लोकप्रियता बटुल्ने तमासास्थल बनेको छ ।

३१ जेठ २०६८ सालमा सम्झौता भएको यो पुल डिजाइन एन्ड बोल्ड मोडालिटीमा पप्पु-लुम्बिनी जे.भी.ले बनाइरहेको छ । ४६९.२ मिटर लम्बाइ र १२ स्पान भएको पुल निर्माण ३० मंसिर २०७१ भित्रै सकिनुपर्ने थियो ।
२४ करोड ९० लाख ९७ हजार २०० रुपैयाँ (भ्याटसहित) मा सम्झौता भएको पुलमा हालसम्म २० करोड ४२ लाख ५२ हजार ४७ रुपैयाँ भुक्तानी भइसकेको हुलाक सडक निर्देशनालयले जनाएको छ ।
बढीले पुलको पूर्वतिरबाट पहिलो र दोस्रो पिलर भासिएको थियो । यस्तै पहिलो, दोस्रो, दशौं र एघारौं स्ल्याब क्षति भएको छ । पुल निर्माणको समयसीमा पछिल्लो समय थप गरी ३० असार २०८३ सम्म पुर्याइएको छ ।
हुलाकी सडक निर्देशनालयका निर्देशक कष्णकुमार महतोका अनुसार कम्पनीले टुटेको र भासिएको ठाउँमा पुनर्निर्माण गरिहेको छ । सञ्चालनमा आइसकेको पाँच वर्षसम्म कुनै क्षति भएको खण्डमा बनाउनुपर्ने दायित्व कम्पनीलाई नै रहेको सम्झौतमा उल्लेख छ ।
बीमा संस्थासँगको विवाद देखाएर क्षतिपूर्ति वापतको रकम प्राप्त नभएसम्म निर्माण कार्यलाई गति दिन नसक्ने निर्माण कम्पनीले बताइरहेको छ । त्यसकारण समयमा पुनर्निर्माण गर्नु चुनौती रहेको निर्देशनालयले जनाएको छ । स्थानीयले यो पुल काम नलाग्ने अवस्थामा रहेकाले अर्को नयाँ पुल निर्माण गर्नुपर्ने माग गरिरहेका छन् ।
गम्भीर त्रुटिको कारण भासियो कमला पुल
निर्माणमै गम्भीर लापरबाही भएका कारण कमला पुल भासिएको देखिएको छ । पुल भासिनुमा डिजाइन र कन्ट्रक्सन फल्ट प्रमुख कारण रहेको देखिन्छ ।
हुलाकी राजमार्गमै पर्ने सिरहा र सप्तरी जोड्ने बलान खोला पुलको डीपीआर नक्कल गरी कमला पुल निर्माणमा प्रयोग गरिएको अख्तियार दुरुपयोग अनुसन्धानले पत्ता लगाएको छ ।
कमला पुल निर्माणको माटो परीक्षणअनुसार ३० मिटर पाइलिङ गर्नुपर्ने थियो । तर बलान पुलकै डिजाइनमा १४.५ मिटर मात्रै पाइलिङ स्वीकृत भयो । तर त्यसमा पनि कम गरेर ठेकेदारले ८ मिटर गहिरो मात्र पिलरहरू गाडेको अनुसन्धान र परीक्षणबाट देखिएको अख्तियारको निष्कर्ष छ ।

अर्कै पुलको लागि गरेको डीपीआर नक्कल गरी बनाएकोले कामै नलाग्ने गरी पुल भासिएको उजुरी तीन वर्षअघि अख्तियारमा परेको थियो ।
भू-प्राविधिक प्रतिवेदनले पुल क्षेत्रमा १० मिटर कटान गहिराइ रहने देखाएकाले पाइल फाउन्डेसन कम्तीमा २० मिटर हुनुपर्छ भनेर स्पष्ट सिफारिस गरिसकेको थियो ।
अख्तियारले पप्पु-लुम्बिनी जेभीले पुनर्स्थापनाका लागि पेस गरेको संशोधित डिजाइन, नक्सा र प्रतिवेदनको समेत अध्ययन गरेको थियो । उक्त अध्ययनमा सुरुमा पेस गरिएको भू-स्तर विवरण र पछि पेस गरिएको विवरण मेल नखाने, फरक-फरक माटोका तह देखाइएको, जसका कारण जगको डिजाइन नै फरक पर्ने अवस्था बनेको पाइएको छ ।
संशोधित डिजाइन अनुसार फाउन्डेसनमा भएका पाइलहरूको लम्बाइ पहिलेको भन्दा १५.५ मिटरले बढी देखिएको छ । यसले प्रारम्भिक डिजाइन गलत भएको मात्र होइन, त्यसै अनुसार निर्माण गरिएको पुलको सम्पूर्ण संरचना नै गम्भीर जोखिममा रहेको आयोगको निष्कर्ष छ ।
अख्तियारले विस्तृत अनुसन्धान गरी मिसिल थन्क्याएको छ । तर अहिलेसम्म अभियोजन भने गरेको छैन ।
पुल नबन्दा सिरहा, धनुषा, सप्तरी, महोत्तरीको लाखौं नागरिक सास्ती भोग्न बाध्य छन् । तर न सम्बन्धित निकायले समयमा पुल बनाएको छ, न ठेकेदारलाई कारबाही नै गरेको छ ।
सरकारले अर्को नयाँ पुल बनाउन पनि कुनै चासो देखाएको छैन । अख्तियारले नै मुद्दा अभियोजन गरी दोषी उपर कारबाही प्रक्रिया अगाडि बढाउन पनि सकेको छैन ।
अख्तियारका एक अधिकारी भन्छन्, ‘विस्तृत अनुसन्धान गर्दासम्म पुल निर्माणमा चरम लापरबाही देखिएको तथ्य र निष्कर्ष छ । यो ठूलो अपराध हो । तर किन मुद्दा पेन्डिङ परेको हो भन्न सकिँदैन ।’
प्रतिक्रिया 4