+
+
Shares

‘चुनाव गराउने मात्रै भनेर सरकारले सुख पाउँदैन’

निगम हुमागाईं भन्छन्, ‘यसकारण यो सरकारले हाम्रो काम चुनाव गराउने मात्रै हो भनेर सुख पाउँदैन् । चुनावको साथसाथमा जेनजीले उठाएका मागका विषयवस्तुलाई यो सरकारले सम्बोधन गर्नुपर्दछ ।’ 

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते १७:१५

३० कात्तिक, काठमाडौं । नागरिक समूहका संस्थापक अध्यक्ष निगम हुमागाईंले ‘देश अत्यन्तै गम्भीर मोडमा रहेको’ भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नागरिक समूहले काठमाडौंमा आयोजना गरेको ‘व्यवस्था, अवस्था र निकास’ शीर्षकको एक कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

गम्भीर गृहयुद्धमा पुर्‍याउने षडयन्त्रबाट मुलुक जोगिएको उनको भनाइ छ ।

‘सिंहदरबार जलेको छ, सर्वोच्च अदालत जलेको छ । सार्वजनिक सम्पत्तिहरू जलेका छन्, व्यक्तिका घरहरू नष्ट भएका छन् । यति मात्रै होइन, पशुपति क्षेत्र समेत ध्वस्त बनाउने प्रयास भएको र यो गम्भीर छ,’ उनले भने ।

सिंहदरबार र सर्वोच्च अदालतको साथै पशुपति पनि खरानी भएको भए देशको हालत के हुन्थ्यो भनेर उनले प्रश्न गरे ।

‘पशुपति क्षेत्र विकास कोषको अफिस खरानी भएको छ र त्यो खरानी बनाउने टिम पशुपति ध्वस्त गराउन अगाडि बढ्दै थियो । तर, छोटो समयको सूचनाको बिचमा सेनाले घेरेर पशुपति जोगाउन सफल भयो,’ उनी भन्छन्, ‘हामी कल्पना गरौं सिंहदरबार र सर्वोच्च अदालतको साथसाथमा यदि पशुपति खरानी भएको भए आज देशको हालत के हुन्थ्यो ?’

२००७ साल देखिका परिवर्तनका चाहना पूरा हुन नसकिरहेको सन्दर्भमा नयाँ पुस्ताले विद्रोह गर्नुपरेको उनको भनाइ छ । तत्काल भएको रुपमा मात्रै जेनजी विद्रोहलाई अर्थ्याउन मिल्ने अवस्था नभएको उनले बताए ।

‘जेनजी विद्रोह कुशासनको प्रतिक थियो । एउटा चरम बेतिथी, सुशासनको अभाव, भ्रष्टाचार विरुद्ध थियो,’ उनी भन्छन्, ‘२००७ सालदेखि संविधानसभाद्धारा संविधान प्राप्त गर्ने नेपाली जनताको सपना एकातिर पुरा भयो । अर्कोतिर यस्तो संविधान निर्माण गर्‍यौं कि जुन संविधानले नेपाललाई निकास दिन सकेको अवस्था छैन ।’

संविधानको समीक्षा आवश्यक

हुमागाईंका अनुसार संविधानको समीक्षा आवश्यक छ । जिब्रो नचपाइकन दुई वटा कुरा भन्न सक्नुपर्ने उनको आग्रह छ ।

पहिलो– एकातिर ठूलो त्याग, संघर्ष र बलिदानद्धारा निर्माण गरेको संविधान छ । संविधानमाथि प्रश्न गर्दा संविधान विरोधी हो कि ! संविधान नै सिध्याउने कुरा गर्‍यो भनेर अर्‍थ्याउने जमात छ ।

दोस्रो : अकोतिर संविधानका व्यवस्थाहरूमा बहस र सुधार आवश्यक छ । किनभने, निर्वाचन प्रणाली हेर्दा कसैले पनि स्पष्ट बहुमत ल्याउन सक्ने निर्वाचन प्रणाली छैन । संघीयताको विषयमा पनि छलफल आवश्यक छ ।

‘हामी संघीयता विरोधी होइन । तर, भन्नैपर्छ– अहिलेको जुन खर्चिलो संघीयता प्रणाली छ । यसप्रति जनताको चरम असन्तुष्टि छ,’ हुमागाईंले भने ।

आफूहरू समानुपातिक समावेशीको पक्षधर रहेको तर, यसको नाममा भएको दुरुपयोगमा सुधार हुन आवश्यक रहेको उनको आग्रह छ । यसकारण सिंगो प्रणाली बदल्नुपर्ने उनको भनाइ छ ।

‘हामीले सुशासन चाहेका छौं । भ्रष्टाचारमुक्त समाज चाहेका छौं । नयाँ पुस्ताले नेपालमा आफ्नो नविन नयाँ भविष्य खोजेका छन्,’ उनी भन्छन्, ‘नयाँ पुस्ताले रोजगारी खोजेका छन्, उद्योगधन्दा खोजेका छन् ।’

युवा अभियन्ता हुमागाईं आफैँ पनि लामो समयदेखि उद्यमशिलता, राष्ट्रियता, समाज सेवा र नेतृत्व विकास लगायतका क्षेत्रमा क्रियाशील छन् । हुमागाईं संस्थापक अध्यक्ष रहेको नागरिक समूह एक दशकभन्दा बढी समयदेखि सुशासन, पारदर्शिता, सामाजिक उत्तरदायित्व र भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय छ ।

सबैको मनोबल बढाऔं

पछिल्लो समय देशमा उत्पन्न राजनीतिक, आर्थिक र सामाजिक अवस्थाको गहिरो विश्लेषण गर्दै सम्भावित समाधानका बाटाहरू पहिचान गर्न आवश्यक रहेको भन्दै हुमागाईं नेपालमै भविष्य खोज्नेलाई उत्साह, प्रोत्साहन र सुरक्षा प्रदान गर्नुपर्ने बताउँछन् ।

‘हेर्नुस् त त्यो उद्योगी व्यवसायीको के गल्ति थियो ?,’ उनी भन्छन्, ‘सबै एनआएएनलाई एककठ्ठा गराउँछु भनेर एनआएरन खोल्ने, नेपालमा लगानी भित्र्‍याउने मान्छेको घर ध्वस्त पारितएको छ । भाटभटेनी लगायत धेरै उद्योगीहरूमाथि आक्रमण भएको छ ।’

नेपालमा लगानी गर्न मान्छेहरू हिचकिचाउने अवस्था बनेको उनले बताए । वर्तमान सरकारले वर्तमान यथार्थ अवस्थालाई ख्याल गर्न सक्नुपर्ने उनको आग्रह छ ।

‘यो सरकार अरु जस्तो नर्मल सरकार होइन । आन्दोलनको जगमा बनेको, नेपाली जनता र युवाहरूको सपना पुरा गर्नुपर्ने अविभारा बोकेको सरकार छ’ उनी भन्छन्, ‘यसकारण यो सरकारले हाम्रो काम चुनाव गराउने मात्रै हो भनेर सुख पाउँदैन् । चुनावको साथसाथमा जेनजीले उठाएका मागका विषयवस्तुलाई यो सरकारले सम्बोधन गर्नुपर्दछ ।’

संविधान संशोधन गर्दा जेनजीको भावना सम्बोधन गर्नुपर्ने, कर्मचारीतन्त्रमा सुधार ल्याउनुपर्ने, संघीयतालाई कम खर्चिलो बनाउनुपर्नेमा उनको जोड रहेको छ ।

जेनजीहरूका बीचमा विखण्डन भए माग पुरा गर्न गाह्रो हुने भन्दै उनले एकताका लागि आग्रह गरे । यसो गर्दा भदौ २३ गते दमन गर्ने र भदौ २४ मा गलत गर्नेहरू कारबाहीमा आउने उनको भनाइ छ ।

उनी भन्छन्, ‘२३ गते जुन माग लिएर तपाईंहरू सडकमा आउनुभएको थियो । तपाईंहरूको त्यो जायज माग पुरा गर्नुपर्छ । २४ गते सिंहदरवार, सर्वोच्च अदालत, पशुपति लगायत सार्वजनिक सम्पति हान्नेहरू जो छन छानबिन गरेर कडा कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

सुरक्षा निकायको मनोबल कमजोर पार्ने कार्य भएको भनेर पनि उनले खबरदारी गरे । घुसपैठा गरेर कसैको इसारामा प्रहरीले गोली चलाएको छ चने तिनिीहरूमाथि पनि कारबाही हुनुपर्ने उनले बताए । तर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको मनोबल कमजोर बनाउने कार्य स्वीकार्य नरहेको उनले बताए ।

अहिले मुलुकलाई यी सबै कार्य गर्न सक्ने सरकार आवश्यक रहेको उनको भनाइ रहेको छ ।

पुनर्लेखनकै प्रस्ताव

हुमागाईंले सरकारले जेनजीको भावना सम्बोधन गर्न र संविधानमा आवश्यक संशोधन गर्नका लागि वातावरण बनाउन सक्नुपर्ने समेत औंल्याए । संविधानमै कतिपय प्रावधानमा १० वर्षमा पुनरावलोकन गर्ने भनेर लेखिएको स्मरण गर्दै उनले भने, ‘अब यो संविधानलाई पुर्नलेखन गर्ने बेला भयो ।’

जनताले चित्त नबुझाएका विषयलाई संविधानबाट हटाउने र जनताले चाहेका विषयलाई थप गरेर जानुपर्ने उनको प्रस्ताव छ । संविधान जनताले आफ्नो लागि बनाएको उल्लेख गर्दै उनले दोहोर्‍याए, ‘यदि त्यो संविधानले जनताको चित्त बुझाउँदैन भने त्यो संविधान पुर्नलेखन गर्नुपर्छ । त्यो संविधान संशोधन गर्नुपर्छ ।’

संविधान संशोधन गर्न डराएर नहुने उनको आग्रह छ । जेनजीको भवना र जनताको भावना अनुसार संविधान संशोधनको गृहकार्य अगाडि बढाउन सरकारलाई उनको आग्रह छ ।

संविधानमा आवश्यक संशोधन गर्ने र निर्वाचनको वातावरण बनाउने काम एकसाथ गर्न सकिने उनको बुझाइ छ । निर्वाचनमा कुनै दललाई निषेध गरेर अगाडि नबढिने भएकाले कोही पनि आत्तिनु नपर्ने पनि उनले बताए ।

जो भ्रष्टाचारी छन् उनीहरूबारे छानबिन गर्न एउटा शक्तिशाली आयोग बनाउने र कारबाहीको दायरामा ल्याउनुपर्ने उनको आग्रह छ ।

‘दलहरूमा पुनर्गठन होस्’

राजनीतिक दलहरूमा पनि पुर्नगठन हुनुपर्ने हुमागाईंको सुझाव छ ।

‘दलहरूमा पनि पुर्नगठन होस् । राजनीतिक पार्टीमा जुन महाधिवेशन प्रतिनिधिहरू चयन हुने र सर्टेन महाधिवेशन प्रतिनिधिले नेतृत्व छान्ने प्रणाली छ । त्यो प्रणालीलाई हामीले कानुनबाटै खारेज गरिदिऔं न’ हुमागाईंको प्रस्ताव छ ।

‘जब हामी देशमा प्रत्यक्ष कार्यकारीको कुरा गर्दैछौं भने प्रत्येक पार्टीभित्र प्रत्येक क्रियाशिल सदस्यले मतदान दिएर पार्टीको केन्द्रीय नेतृत्व चुन्ने व्यवस्था हामीले किन नगर्ने ?’ उनको प्रश्न छ ।

कानुनमै, संविधानमै राजनीतिक दलको केन्द्रीय नेतृत्व प्रत्यक्ष निर्वाचित हुनुपर्छ भनेर प्रावधान राख्न सकिने उनको प्रस्ताव रहेको छ ।

सरकारले यी सबै कार्यका लागि वातावरण निर्माण गर्न सक्नुपर्ने उनको भनाइ छ ।

राजनीतिक दल, जेनजी पुस्ता, आम जनता, अन्तराष्ट्रिय समुदाय सबैलाई कन्भिन्स गरेर देशलाई द्धन्द्धमा जानबाट रोक्दै सबै जनताको भावनालाई कदर गर्दै संविधान संशोधन गर्ने ताकत भएको अविभावक राष्ट्रले खोेजेको उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?