News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी माघ ११ गते राष्ट्रिय सभा र फागुन २१ गते प्रतिनिधि सभाको चुनाव हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो।
- सरकारले निर्वाचनको पूर्वतयारीका लागि आवश्यक सम्पूर्ण स्रोतसाधनको व्यवस्था मिलाउने र शान्ति सुरक्षाको उचित प्रबन्ध गर्ने प्रतिवद्धता जनाएको छ।
- मतदाता नामावली ऐन, २०७३ मा संशोधन गरी मतदाता दर्ता अवधि थप गर्ने व्यवस्था मिलाइएको र निर्वाचनमा युवा सहभागिता बढाउन पहल भइरहेको छ।
३० कात्तिक, काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी माघ ११ गते राष्ट्रिय सभा र आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव हुनेमा ढुक्क हुन आग्रह गरेका छन्।
यसअनुसार सरकारले काम गर्ने र शान्ति सुरक्षाको व्यवस्था मिलाउने उनको प्रतिवद्धता छ । निर्वाचनको पूर्वतयारीका सम्बन्धमा आज निर्वाचन आयोगमा छलफल थियो ।
उक्त कार्यक्रममा गृहमन्त्री अर्यालले निर्वाचन व्यवस्थापनको तयारीका सम्बन्धमा नेपाल सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने आवश्यक सम्पूर्ण स्रोतसाधनको व्यवस्था मिलाउने बताए ।
साथै शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाइने प्रतिवद्धता जनाए । निर्धारित मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे ।
निर्वाचनमा युवा पुस्ताको सहभागिता बढाउन अध्यादेशमार्फत मतदाता नामावली ऐन, २०७३ मा संशोधन गरी आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि थप गर्न सक्ने व्यवस्था मिलाइएको स्मरण गरे । मतदाता नामावली दर्ता प्रणाली एचभ(Pre-registration System र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NID-MIS) बीच अन्तरआवद्धता (Integration) कायम गर्ने कार्यमा आयोगलाई सहयोग उपलब्ध गराइएको बताए ।
गृहमन्त्री अर्यालका अनुसार निर्वाचनमा भरपर्दो शान्ति सुरक्षाको व्यवस्था मिलाउन गृह मन्त्रालयले योजनावद्ध रुपमा काम गरिरहेको छ । आगामी दिनमा निर्वाचन व्यवस्थापनमा सुधार र सहजताका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र समन्वय गरिने पनि उनको प्रतिवद्धता छ ।
प्रतिक्रिया 4