News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २१औं राष्ट्रिय कफी दिवस 'कफी खेती गरौं, स्वरोजगार बनौं' नारासहित मनाएको छ।
- आर्थिक वर्ष २०८१/८२ मा नेपालले ६ सय ४१ दशमलव ९ टन ग्रिन बिन कफी उत्पादन गरेको छ, जुन २८ प्रतिशतले वृद्धि हो।
- बोर्डले कच्चा कफीको न्यूनतम मूल्य तोकेको छ, फ्रेस चेरी ग्रेड एकको मूल्य प्रतिकिलो १ सय ५ रुपैयाँ कायम गरिएको छ।
१ मंसिर, काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सोमबार २१औं राष्ट्रिय कफी दिवस मनाएको छ । ‘कफी खेती गरौं, स्वरोजगार बनौं’ नारासहित राष्ट्रिय कफी दिवस मनाइएको हो ।
सोही कार्यक्रममा नेपालमा कफी उत्पादन र क्षेत्रफल वृद्धि भएको जानकारी दिइएको छ । कफी उत्पादन २८ प्रतिशतले वृद्धि भएको छ ।
बोर्डका कृषि विकास अधिकृत गौरव लुइँटेलले आर्थिक वर्ष २०८१/८२ मा नेपालले ६ सय ४१ दशमलव ९ टन ग्रिन बिन कफी उत्पादन गरेको बताए ।
उनका अनुसार आव २०८०/८१ मा भने ५ सय १ दशमलव ३ टन कफी उत्पादन भएको थियो ।
उनले पछिल्लो समय कफी रोपण क्षेत्र पनि वृद्धि भएको जानकारी दिए । पछिल्लो ५ वर्षमा कफी उत्पादन र कफी उत्पादन क्षेत्र पनि बढेको बताए । यद्यपि, नेपालको माग अनुसार भने उत्पादन हुन नसकेको उनको भनाइ छ ।
नेपालमा पछिल्ला वर्ष कफी अयात बढिरहेको तथ्यांकले देखाउँछ । आव २०८१/८२ मा नेपालले १४ करोड ४१ लाख रुपैयाँ बराबरको २ सय ३० टन कफी आयात गरेको थियो । सोही अवधिमा ११ करोड ४३ लाख रुपैयाँ बराबरको ६४ टन कफी निर्यात भएको छ ।

बोर्डका अनुसार नेपालमा कफी उत्पादन २०७०/७१ मा ४ सय २९ टनबाट बढेर २०८१/८२ मा ६ सय ४१ टन पुगेको छ । तर, त्यही अवधिमा कफी आयात झनै तीव्र रूपमा बढेको देखिन्छ । २०८१/८२ मा कफी आयात २ सय ३४ टन रहँदा मूल्य १४ करोड नाघेको छ ।
निर्यात भने अघिल्लो वर्षको तुलनामा घट्दै ६३ हजार ९ सय ९८ किलोमा झरेको छ । अघिल्लो वर्ष ८८ हजार ८ सय ५६ किलो कफी निर्यात भएको थियो ।
बोर्डले आज सोमबारदेखि लागु हुने गरी कच्चा कफीको न्यूनतम मूल्य पनि तोकेको छ । मूल्य गत वर्षकै दर कायम गरिएको हो ।
बोर्डका अनुसार फ्रेस चेरी कफी ग्रेड एको मूल्य प्रतिकिलो १ सय ५ रुपैयाँ र ग्रेड बीको ९५ रुपैयाँ तोकिएको छ । पार्चमेन्ट कफीको भने ग्रेड ए को प्रतिकिलो ५ सय ३५ रुपैयाँ र ग्रेड बीको प्रतिकिलो ४ सय ८२ रुपैयाँ तोकिएको छ ।
ड्राई चेरी कफीको ग्रेड एको प्रतिकिलो २ सय ८० र ग्रेड बीको प्रतिकिलो २ सय ४७ रुपैयाँ तोकिएको बोर्डले जनाएको छ । कफी दिवसका अवसरमा कफी प्रदर्शनी समेत गरिएको थियो ।
प्रतिक्रिया 4