News Summary
Generated by OK AI. Editorially reviewed.- जापानी प्रधानमन्त्री साने ताकाइचीको ताइवानमाथि सैन्य कारबाही गर्न सक्ने टिप्पणीपछि चीन र जापानबीच तनाव चुलिएको छ।
- चीनले लोकप्रिय जापानी फिल्महरू 'सेल्स एट वर्क' र 'क्रेयोन शिन-चान द मुभी' को रिलिज स्थगित गरेको छ।
- चीनले जापानको यात्रा नगर्न र त्यहाँ अध्ययन नगर्न आफ्ना नागरिकलाई सुझाव दिएको छ, जसले जापानी पर्यटन र व्यापारमा असर पारेको छ।
ताइवानको बारेमा जापानी प्रधानमन्त्री साने ताकाइचीको टिप्पणीलाई लिएर दुई देशबीच तनाव चुलिएको छ । चीनमा कम्तीमा दुई लोकप्रिय जापानी फिल्महरूको रिलिज स्थगित गरिएको बीबीसीले जनाएको छ ।
रोकिएका फिल्ममा सेल्स एट वर्क र क्रेयोन शिन-चान द मुभी : सुपर हट ! द स्पाइसी कासुकाबे डान्सर्स समावेश छन् । यसको पुष्टि चिनियाँ राज्य सञ्चालित मिडिया सीसीटीभीले जनाएको छ ।
हिट जापानी एनिमेसन फिल्म ‘डेमन स्लेयर : इन्फिनिटी क्यासल’ को लागि चीनमा फिल्मका टिकटहरू अझै पनि उपलब्ध छन्, तर सीसीटीभीका अनुसार विवाद गहिरो हुँदै जाँदा हालका दिनहरूमा बिक्री घटेको छ ।
चीन र त्यस क्षेत्रमा हुने गतिविधिको मुखर आलोचक रहेकी ताकाचीले यस महिनाको सुरुमा बेइजिङले ताइवानमाथि आक्रमण गरेमा टोकियोले सैन्य कारबाही गर्न सक्ने बताएकी थिइन् ।
चीनमा जापानी फिल्मको समग्र दृष्टिकोण र चिनियाँ दर्शकको भावनाको मूल्याङ्कन गरेपछि फिल्म वितरक र आयातकर्ताले रिलिज स्थगित गर्ने निर्णय गरेको सीसीटीभीले सोमबार जनाएको छ ।
‘क्रेयोन शिन-चान द मूभी : सुपर हट ! द स्पाइसी कासुकाबे डान्सर्स’ फिल्म एक जवान केटा र उसका साथीको साहसिक कार्यको बारेमा एनिमेटेड कमेडी हो, जुन आउने साताहरूमा रिलिज हुने तय भएको थियो ।
‘सेल्स एट वर्क’ फिल्म- जसको रिलिज पनि स्थगित भएको छ । यो फिल्म मानव रक्त कोषले भाइरससँग लड्ने बारेमा बनेको मङ्गामा आधारित लाइभ एक्सन चलचित्र हो ।

सीसीटीभीले फिल्मको रिलिज कति समयको लागि ढिलाइ हुनेछ भनेर बताएको छैन ।
राज्य-नियन्त्रित मिडिया आउटलेटले जनाएअनुसार ‘डेमन स्लेयर : इन्फिनिटी क्यासल’ ले ताकाचीको टिप्पणी पछि ‘चिनियाँ दर्शकमाझ कडा असन्तुष्टि’ को सामना गरेको छ ।
बीबीसीले जापानी मिडिया दिग्गज तोहो लगायत फिल्मका वितरकसँग सम्पर्क गरेको छ ।
ताकाइचीले नोभेम्बर ७ मा जापानी संसदमा भने, “यदि त्यहाँ युद्धपोत र बल प्रयोग छ भने, तपाईंले यसको बारेमा जे सोच्नुभए पनि, यसले बाँच्नको लागि खतरापूर्ण अवस्था सिर्जना गर्न सक्छ ।’
त्यसबेलादेखि बेइजिङले आफ्ना नागरिकलाई जापानको यात्रा नगर्न आग्रह गरेको छ र सुरक्षा जोखिमलाई उल्लेख गर्दै विद्यार्थीलाई त्यहाँ अध्ययन गर्ने बारेमा पुनर्विचार गर्न भनेको छ ।
चीनको प्रतिक्रियापछि जापानी पर्यटन, एयरलाइन्स र रिटेल स्टक्स तीव्र रूपमा घटेको छ ।
यस वर्षको पहिलो ९ महिनामा लगभग ७५ लाख चिनियाँ पर्यटकले जापान भ्रमण गरेका छन्, जुन जापानको प्रमुख पर्यटन स्रोत हो ।
प्रतिक्रिया 4