+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
१२० बलमा १४३ रन आवश्यक
चितवन राइनोज 2025
142/7 (20)
Shares

पोखराका हिमालले नेदरल्यान्ड्समा पाएको यो सफलता

पोखराका हिमाल गुरुङलाई परिवारले लाहुरे बनाउन चाहन्थे । तर उनले आफ्नो बाटो आफैं बनाए । पढाइका सिलसिलामा युरोप पुगेका हिमाल अहिले नेदरल्यान्ड्समा तीनवटा रेस्टुरेन्टका मालिक बनेका छन् ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ मंसिर ४ गते १५:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखराका हिमाल गुरुङले नेदरल्यान्ड्समा तीनवटा रेस्टुरेन्ट सञ्चालन गर्दै २५ जनालाई रोजगारी दिएका छन्।
  • उनी सन् २००७ मा होटल म्यानेजमेन्ट अध्ययनका लागि नेदरल्यान्ड्स गएका थिए र त्यहाँबाट उद्यमी बने।
  • हिमालले नेपालमा ऊर्जा र पर्यटन क्षेत्रमा पनि लगानी गरेका छन् र भविष्यमा उद्यमिक केन्द्र खोल्ने योजना बनाएका छन्।

४ मंसिर, काठमाडौं । पोखराका हिमाल गुरुङले युरोप पुगौंला, व्यापार-व्यवसाय चलाउँला र मनग्ये पैसा कमाउँला भनेर कहिल्यै सोचेका थिएनन् । तर जे नसोचेको त्यही भइदियो ।

अहिले हिमाल युरोपेली देश नेदरल्यान्ड्समा तीनवटा रेस्टुरेन्टका मालिक मात्र बनेका छैनन्, त्यहाँका थुप्रै नेपाली युवाका लागि प्रेरणा बनेका छन् । घर-परिवार तथा दाजुभाइ उनलाई ‘लाहुरे’ बनाउन चाहन्थे । किनकि, लाहुरे बन्नु उनको परिवारको पर्ख्यौली पेसा जस्तै थियो ।

उनको योजना भने परिवारको योजना विपरीत थियो । ‘हाम्रो घरमा धेरैजसो आर्मी हुने गर्थे,’ उनले हाँस्दै सम्झिए, ‘तर मैले त्यो बाटो रोजिनँ । मलाई आफ्नो बाटो आफैं बनाउन मन थियो ।’

पोखराको लेखनाथ रिठ्ठेपानीमा जन्मेका हिमालको बाल्यकाल साधारण ग्रामीण परिवेशमा बित्यो । मध्यम परिवारमा जन्मिएका उनका बुबा भारतीय सेनामा जागिरे थिए ।

गाउँकै लक्ष्मी माविमा अध्ययन गरेका हिमाल पढाइमा मध्यम विद्यार्थीका रूपमा चिनिन्थे । गणित विषयमा रुचि राख्ने उनी पढाइ सँगसँगै खेलकुदमा पनि सक्रिय थिए ।

युवा उमेर प्रवेश गरेसँगै उनी फुटबल खेलाडी बने । आफ्नो टिमको क्याप्टेनसमेत बनेर विभिन्न खेल मैदान प्रवेश गरे । ‘सानैदेखि खेलमा रुचि थियो । फुटबल खेलें,’ उनले भने, ‘केही समय बलिङ पनि खेले । बलिङमा प्रथम भएर उनी त्रिपुरेश्वरमा प्रतिस्पर्धा गर्न आएका थिए ।’

पोखराकै जनप्रिय क्याम्पसबाट प्लस टुको अध्ययन पूरा गरे । कलेज पढ्दापढ्दै हिमालले विदेश अध्ययन गर्न जाने सोच बनाएका थिए । २५ वर्षको उमेरमा होटल म्यानेजमेन्ट पढ्न नेदरल्यान्ड्स हानिए ।

सुरुमा कताकता लाहुरे बन्न नजाउँ कि जस्तो नलागेको होइन । तर त्यसले करिअरमा खास फाइदा नहुने ठानेर बाटो परिवर्तन गरे ।

‘सिंगापुर पढाइका हिसाबले राम्रै देश हो, तर भविष्यको दृष्टिले मलाई त्यति उपयुक्त लागेन,’ उनी भन्छन्, ‘त्यसैले म नेदरल्यान्ड्स गएँ ।’

सन् २००७ तिर उनी विद्यार्थी भिसामा नेदरल्यान्ड्सको यात्रामा निस्किए । त्यो यात्राले उनको जीवनको दिशा नै बदलिदियो । नयाँ देश, नयाँ परिवेशले उनका सामु थुप्रै चुनौती थिए । तर पनि हिम्मत हारेनन् । जे-जस्ता चुनौती आए पनि सामना गर्दै अघि बढ्ने अठोट लिए ।

चिसो देश, तातो संघर्ष

नेदरल्यान्ड्स पुग्दा हिमालको मनमा उत्साह र डर दुवै थियो । त्यहाँ न त आफ्ना थिए, नै चिनजानका साथीहरू । ‘पहिलो महिनामा धेरै कठिन भयो,’ उनी सम्झन्छन्, ‘काम खोज्न गाह्रो, भाषा नयाँ, मौसम कठोर ।’

पहिलो काम उनले सफाइको पाए । राति क्लिनिङ गर्ने, बिहान पढ्न जाने । ‘कहिलेकाहीँ तीन घण्टा मात्र सुत्थें,’ उनी भन्छन्, ‘तर मैले कहिल्यै हार मानिनँ ।’

पहिलो काम उनले सफाइको पाए । राति क्लिनिङ गर्ने, बिहान पढ्न जाने । ‘कहिलेकाहीँ तीन घण्टा मात्र सुत्थें,’ उनी भन्छन्, ‘तर मैले कहिल्यै हार मानिनँ ।’

कहिलेकाहीँ काम गरे पनि तलब पाउँदैनथे । कहिले त खाना खान नसकेर पानी र बिस्कुटमा गुजारा गर्नुपर्थ्यो । तर त्यो संघर्षले नै उनलाई भविष्यका लागि बलियो बनायो ।

‘म सोच्छु, ती वर्षहरू नै मेरो जीवनको सबैभन्दा महत्वपूर्ण पाठ थिए,’ उनी भावुक हुँदै भन्छन्, ‘त्यसले मलाई नझुक्ने बनायो ।’

नेदरल्यान्ड्समा हुँदा उनले काम सानो-ठूलो भन्ने हुँदैन भन्ने राम्रोसँग बुझे । विदेशमा काम गर्दाभन्दा नगर्दा मानिसहरूलाई जिस्क्याएको जस्तो महसुस हुने गरेको उनको बुझाइ छ ।

पढाइदेखि व्यवसायसम्म

हिमालले युरोपियन युनिभर्सिटीबाट होटल म्यानेजमेन्टमा स्नातक गरे । पढाइकै क्रममा उनले एउटा सानो सुपरमार्केट सुरु गरे । त्यसैबाट सुरु भयो उनको उद्यमी जीवन ।

‘त्यो सुपरमार्केटले मलाई आत्मविश्वास दियो,’ उनले सम्झिए, ‘सुरुवात सानो थियो, तर अनुभव ठूलो भयो ।’

पढाइ सकिएलगत्तै उनले पहिलो रेस्टुरेन्ट खोले । सानो, नेपाली स्वादको । स्थानीयहरूले मन पराए, ग्राहक बढ्दै गए । त्यसपछि दोस्रो र तेस्रो रेस्टुरेन्ट पनि खोले । अहिले उनले तीनवटा रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन्, जसमा करिब २५ जना काम गर्छन् । जहाँ नेपालीदेखि अन्य देशका कर्मचारीले समेत काम गर्छन् ।

‘जुन लेवलमा मैले यात्रा सुरु गरेको थिएँ, आज आएर मलाई एक खालको सफलताको सिंढीमा चढाएको छ । त्यसमा मलाई गर्व लाग्छ । आज मैले अरूलाई रोजगारी दिन पाएको छु । त्यो मेरो लागि भाग्य पनि हो,’ उनले भने ।

सामाजिक सक्रियता र पहिचान

व्यवसायसँगै उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) मा पनि सक्रिय भए । सन् २०१६ मा उनले एनआरएनए नेदरल्यान्ड्सको अध्यक्षको जिम्मेवारी सम्हाले । त्यसपछि त्यहाँ रहेका नेपालीबीच सहकार्य र एकताको सन्देश फैलाए ।

‘विदेशमा रहँदा आफ्नो समुदायलाई जोडेर राख्नु ठूलो कुरा हो,’ उनी भन्छन्, ‘म सधैं चाहन्थें, नेपालीहरूबीच सहयोग र एकताको भावना कायम रहोस् । मैले त्यसै कुरामा जोड दिएँ ।’

नेदरल्यान्ड्समा रहेका धेरै नयाँ विद्यार्थी र कामदारका लागि उनी अहिले ‘मार्गदर्शक’ बनेका छन् । कोही समस्या परे उनलाई फोन गर्छन्, सल्लाह माग्छन्, र सहयोग पाउँछन् ।

नेपालमा पनि लगानी

हिमाल गुरुङले नेपाल बिर्सेका छैनन् । उनले नेदरल्यान्ड्सबाट सुरुवात गरेको व्यावसायिक यात्रा नेपालमा समेत अघि बढाएका छन् । उनले नेदरल्यान्ड्समा मात्र नभई नेपालमा समेत विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

‘मेरो करिब ३०-४० प्रतिशत लगानी नेपालमै छ । ऊर्जा र पर्यटन क्षेत्रमा केही परियोजना अगाडि बढाएका छौं । त्यसमा लगानी गर्दै आएको छु,’ उनले भने ।

उनको सपना छ- केही वर्षपछि नेपाल फर्केर आफ्नै गाउँमा उद्यमिक केन्द्र खोल्ने । ‘अन्ततः हामी फर्किनै पर्छ,’ उनी भन्छन्, ‘नेपालमै केही गर्नुपर्छ भन्ने भावना मेरो मनमा सधैं रहन्छ ।’

नेदरल्यान्ड्स्मा पढ्न आउने विद्यार्थीहरूका लागि निकै दुःख हुन्छ । जुन दुःख भोगेर आज यो मुकामसम्म आइपुगे, अब आउने नयाँ पिँढीले यस्तो खालको समस्या भोग्न नपरोस् भन्ने उनको सोच हुन्छ ।

‘उच्च अपेक्षा लिएर नजानुहोस् । सुरुमा संघर्ष हुन्छ । पढाइ महँगो छ, काम सीमित छ । त्यसैले धैर्य राख्न सक्नुपर्छ,’

त्यसका लागि उनले पढ्न वा काम गर्न जाने युवाहरूप्रति स्पष्ट सल्लाह दिन्छन् । ‘उच्च अपेक्षा लिएर नजानुहोस् । सुरुमा संघर्ष हुन्छ । पढाइ महँगो छ, काम सीमित छ । त्यसैले धैर्य राख्न सक्नुपर्छ,’ उनले भने ।

सफलताको कुनै छोटो बाटो हुँदैन । इमानदारी र परिश्रमले मात्रै स्थायी उपलब्धि दिलाउनेमा उनी विश्वास गर्छन् ।

अहिले तीनवटा रेस्टुरेन्ट सञ्चालनमा छन् । उनको लक्ष्य आगामी पाँच वर्षमा सातवटा रेस्टुरेन्ट विस्तार गर्नेछ । साथै, नेपाली स्वाद र संस्कृतिलाई युरोपभर परिचित गराउने उनको चाहना छ ।

हिमाल गुरुङको कथा एउटा साधारण युवाको असाधारण यात्राको कथा हो- जसले विदेशको कठोर यात्राबाट सिकेर आत्मनिर्भरता, नेतृत्व र पहिचानको नयाँ परिभाषा सिर्जना गरे । पोखराबाट सुरु भएको उनको यात्रा अहिले नेदरल्यान्ड्सका व्यस्त शहरहरूमा नेपाली स्वादको सुगन्ध बनेर फैलिएको छ ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?