४ मंसिर, गोरखा । लाइन बिस्तार भएको करिब चार वर्षपछि लाप्राकमा केन्द्रीय प्रसारणलाइनको बिजुली बलेको छ ।
धार्चे गाउँपालिका-४ मा पर्ने उक्त बस्तीमा बिहीबारदेखि विद्युत् प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।
‘आज वडा कार्यालयमा मिटर बक्स जडान गरेर बिजुली बाल्यौं,’ कार्यालय प्रमुख चीजबहादुर गुरुङले भने, ‘बस्तीका घरधुरीमा मिटर जडानको काम भइरहेको छ ।’ बक्स जडान भएसँगै घरघरमा बिजुली बल्ने उनले बताए ।
उनका अनुसार पहिलो चरणमा ६० घरधुरीमा मिटर बक्स जडान हुने छन् । जडानका लागि दुई जना प्राविधिक खटाइएको छ ।
निवेदनको आधारमा मिटर बक्स जडान गर्न लागिएको जानकारी गराउँदै उनले भने, ‘हालसम्म ८० वटा निवेदन परेका छन्, बाँकी संकलन हुँदैछ ।’
भूकम्प पश्चात गुप्सीपाखामा निर्माण भएको एकीकृत नमुना बस्ती र लाप्राकको पुरानो गाउँका सबै घरधुरीमा मिटर जडान गरिने उनले बताए । लाप्राकमा मात्रै करिब ६ सय घुरधुरी छन् ।
करिब चार वर्षअघि नै ११ केभी क्षमताको लाइन बिस्तार भएको लाप्राकमा विद्युत् प्रवाह भने भएको थिएन ।
आवश्यक मर्मतसहित वितरण लाइन निर्माणको काम सम्पन्न गरेर बिहीबारदेखि विद्युत् प्रवाह गरिएको कार्यालय प्रमुख गुरुङले बताए ।
सिरानचोक गाउँपालिका–२ थालाजुङको ठूलस्वाँरास्थित सबस्टेसनबाट विद्युत् प्रवाह गरिएको उनले जानकारी दिए ।
विद्युत् प्रवाहका लागि तीन वटा ट्रान्सफर्मर राखिएको छ । गुप्सीपाखामा १०० केभीए क्षमताको एउटा र पुरानो बस्तीमा ५०/५० केभीए क्षमताको दुई वटा ट्रान्सफर्मर राखिएको उनले बताए ।
हाल लाप्राकीले लघुजलविद्युतबाट बिजुली बाल्दै आएका छन् । २० र २६ किलोवाटको दुई वटा लघुजलविद्युत् भए पनि पावर नपुग्ने स्थानीयको गुनासो छ । अबका दिनमा समस्या नहुने विद्युत् प्राधिकरणले जनाएको छ ।
‘लघुजलविद्युतबाट बिजुली बाल्दा पावर नपुग्ने, वाइफाइ नचल्ने जस्ता समस्या थियो, अब केन्द्रीय लाइनको बिजुली बालेपछि त्यो समस्या आउँदैन,’ गोरखा वितरण केन्द्र प्रमुख गुरुङले भने ।
प्राधिकरणका गण्डकी प्रादेशिक कार्यालय प्रमुख विक्रमकुमार अमात्य र वडाध्यक्ष किसान गुरुङले संयुक्त रूपमा वडा कार्यालयमा बिजुली बालेर केन्द्रीय प्रशारण लाइनको उद्घाटन गरेका छन् ।
प्रतिक्रिया 4