News Summary
Generated by OK AI. Editorially reviewed.- सात दलले मधेशका तत्कालीन सभामुख रामचन्द्र मण्डलले करारमा नियुक्त गरेका कर्मचारी हटाउन माग गरेका छन्।
- प्रदेश सभाको बुधबारको बैठकले दुईतिहाइ बहुमतले पारित गरेको प्रस्तावपछि मण्डल पदमुक्त भएका छन्।
- सर्वदलीय बैठकले महाअभियोग प्रस्तावमाथि छलफलअघि बिजुली काटिएको विषयमा प्रहरीलाई छानबिन गर्न आग्रह गर्ने निर्णय गरेको छ।
जनकपुरधाम, मंसिर ४ गते । मधेशका तत्कालीन सभामुख रामचन्द्र मण्डलले करारमा नियुक्त गरेका कर्मचारी हटाउन सात दलले माग गरेका छन् ।
उपसभापति बबिता राउत इशरले बोलाएको सर्वदलीय बैठकमा सहभागी दलका प्रतिनिधिले मण्डलले नियुक्त गरेका करारका कर्मचारी हटाउन माग गरेका हुन् ।
मण्डल हाल पदमुक्त भइसकेका छन् । पद अनुकूल आचरण नगरेको सम्बन्धी प्रस्ताव प्रदेश सभाको बुधबारको बैठकले दुईतिहाइ बहुमतले पारित गरेसँगै मण्डल पदमुक्त भएका हुन् ।
मण्डलले नियुक्त गरेका करार कर्मचारीले सो प्रस्ताव दर्तादेखि पारित हुँदासम्म धेरै असहयोग गरेको भन्दै सात दलीय गठबन्धनले उनीहरूलाई हटाउन माग गरेको हो । बैठकमा उपसभामुख इशरले आवश्यक प्रक्रिया पूरागरी दलहरूको माग सम्बोधन गरिने बताइन् ।
बैठकले महाअभियोग प्रस्तावमाथि छलफलको लागि बोलाइएको बुधबारको बैठकअघि बिजुली काटिएको विषयमा छानबिन गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, महाअभियोगको प्रस्ताव दर्ता प्रक्रियादेखि प्रस्ताव पारित हुँदासम्म असहयोग गरेका प्रदेश सभाका स्थायी कर्मचारीलाई स्पष्टीकरण सोध्नु पर्ने विषयमा विषयमा समेत समझदारी कायम भएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए । बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव पनि सहभागी थिए ।
प्रतिक्रिया 4