+
+
WC Series
काठमान्डु गोर्खाज 2025
13/2 (4.1)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

कांग्रेसको निष्कर्ष- राजनीतिक संकटका बेला सबैको सहकार्य आवश्यक

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ६ गते १५:४९

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले मुलुक अभूतपूर्व राजनीतिक संकटमा परेका बेला सबैले सहकार्य गर्न आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।

केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले संकटको सामना सबै नेपालीले संयमता र धैर्यताको साथ एकताबद्ध भई गर्नु पर्नेमा जोड दिएको छ ।

‘हाल मुलुक अभूतपूर्व राजनीतिक संकटमा छ । यस संकटको सामना हामी सबै नेपालीले संयमता र धैर्यताको साथ एकताबद्ध भई गर्नु परेको छ,’ कांग्रेसले बैठकबाट लिएको निर्णयमा भनिएको छ, ‘विगतमा भएका कयौं राष्ट्रिय संकटलाई हामीले आफ्नै शक्ति, क्षमता र दूरदर्शीताले समाधान गर्दै आएको अनुभवका आधार यस विषम परिस्थितिमा राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, जनताको मौलिक हक, अधिकारको सुरक्षा तथा संविधानको संरक्षण र कार्यान्वयन सुनिश्चित गर्न सबैले सहकार्य गर्न आवश्यक छ ।’

कांग्रेसले सहकार्यका लागि राष्ट्रिय दायित्व आत्मसात गर्दै सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवीलाई आपसी संवाद, संयमता र समझदारीको मार्ग अवलम्बन गर्न अपिल पनि गरेको छ ।

कांग्रेसले जेनजी आन्दोलनका क्रममा भएको आक्रमण, लुटपाट र आगजनीका विध्वंसकारी घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय उपलब्ध गराउन सरकारसँग आफ्नो पुरानै माग दोहोर्‍याएको छ ।

जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीका लटिएका हातहतियार, पोशाक तथा सुरक्षा सामग्रीहरु फिर्ता गराउन, विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरूलाई पुन:नियन्त्रणमा ल्याउन सरकारसँग माग गरेको छ ।

‘तोडफोड र आगजनीबाट ध्वस्त गरिएका प्रहरी कार्यालय सहितका सबै सरकारी संरचनाहरुको यथाशीघ्र पुन:निर्माण गरी समाजमा शान्ति सुरक्षाको प्रत्याभूति प्रदान गर्न सरकारलाई जोडदार सरकारसँग जोडदार माग गर्दछ,’ निर्णयमा भनिएको छ ।

कांग्रेसले २४ भदौको घटनाका क्रममा आक्रमण, तोडफोड, लुटपाट र आगजनीका कारण आर्थिक तथा व्यवसायिक क्षति बेहोर्नु परेका व्यापारिक तथा व्यवसायिक प्रतिष्ठानसँगै अन्य साना व्यवसायीहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।

‘उनीहरुलाई पुन: व्यवसाय सञ्चालन गर्न सक्ने सुरक्षित वातावरण निर्माण गर्न र स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल उठाउन सरकारसँग नेपाली कांग्रेस माग गर्दछ,’ कांग्रेसले भनेको छ ।

जेनजी पुस्ताले आन्दोलनमार्फत् उठाएका भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हकको सुनिश्चितताजस्ता प्रमुख विषयहरू स्वाभाविक वैध र आम नागरिकका आवाज भएको कांग्रेसको निष्कर्ष छ ।

‘नेपाली कांग्रेस आन्दोलनमार्फत् उठाइएका सुशासनका मागलाई सदैव सकारात्मक ढंगले लिने गरेको स्मरण गर्दै सो माग पूरा गराउने प्रतिबद्धता व्यक्त व्यक्त गर्दछ,’ निर्णयमा भनिएको छ ।

जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त शहीदहरूप्रति श्रद्धान्जली अर्पण गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न, घाइतेहरूको नि:शुल्क उपचार गर्न पनि माग गरेको छ ।

कांग्रेस बैठकले २८ असोजमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेको लिखित मन्तव्यलाई स्वागतसहित अनुमोदन गरेको छ । बैठकले देउवादम्पतीको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?