७ मंसिर, काठमाडौं । आसन्न प्रतिनिधिसभा चुनावका लागि तीन वटै सुरक्षा निकायलाई आवश्यक पर्ने सवारीसाधन खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको गृहमन्त्रालयले जनाएको छ ।
प्रतिनिधिसभा चुनाव शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न तीन वटै सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन खरिद गर्न अनुमति प्राप्त भएर प्रक्रिया अघि बढिसकेको मन्त्रालयले जनाएको छ ।
२३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा आगजनीबाट धेरै सवारीसाधनहरू जलेर ध्वस्त भएका छन् ।
सुरक्षा निकायका धेरै सवारीसाधनहरू जलेर काम नलाग्ने भएका कारण अत्यावश्यक सवारीसाधन खरिदका लागि अर्थ मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।
चुनावको वातावरण निर्माण गर्न पनि तीनै सुरक्षा निकायका लागि अत्यावश्यक सवारीसाधन खरिद हुन जरुरी भएकाले चुनाव अगाडि नै सवारी साधन खरिद भइसक्ने विश्वास गृह मन्त्रालयले लिएको छ।
४४९ वटा प्रहरी कार्यालय सञ्चालनमा
गृह मन्त्रालयको तथ्याङ्क अनुसार जेनजी प्रदर्शनमा मुलुकभर नेपाल प्रहरी अन्तर्गतका ४६५ वटा कार्यालयहरू क्षति पुगेको थियो भने सोही क्रममा ५७१ वटा विभिन्न सवारी साधनहरूमा क्षति पुगेको थियो ।
मन्त्रालयको अनुसार कुल ४६५ वटा प्रहरी कार्यालय तथा युनिटहरूमा क्षति पुगेकोमा कात्तिकसम्म कुल ४४९ वटा प्रहरी कार्यालयहरू मर्मत सम्भार भई पूर्ण सञ्चालनमा आइसकेका छन् भने बाँकी १६ वटा पनि मर्मत भइरहेकाले यिनीहरू पनि यथाशीघ्र सञ्चालनमा ल्याउने गरी काम अघि बढिरहेको मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले जनाएको छ।
यस्तै, सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गतका कुल ८४ वटा कार्यालयहरूमा क्षति पुगेको थियो भने कुल ६१ वटा सवारी साधनहरू पूर्ण रूपले आगजनीमा परेको थियो।
त्यस्तै, राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गतका दुई वटा भवन तथा तीन वटा जिल्लास्थित कार्यालयको भवनमा क्षति पुगेको थियो भने ११ वटा चार पाङ्ग्रे र ३० वटा मोटरसाइकलमा क्षति पुगेको तथ्याङ्कमा छ । जसको अनुमानित क्षतिको रकम ८ करोड ९० लाख रुपैयाँ रहेको छ।
गृह मन्त्रालयको तथ्याङ्क अनुसार अर्थ मन्त्रालयबाट नेपाल प्रहरीलाई नियमित बजेटबाट १५६ वटा सवारी साधनको लागि ३५ करोड ११ लाख रुपैयाँ र थप १०६ वटा सवारी साधन खरिदका लागि ४५ करोड ३० लाख थप स्रोत सहमति प्राप्त भइसकेको छ ।
यस आर्थिक वर्षमा नेपाल प्रहरीले कुल ८० करोड ४१ लाख रुपैयाँको विभिन्न सवारीसाधन खरिद गर्ने तयारी रहेको छ । यी सवारीसाधन खरिदका लागि गृहले अर्थबाट २४ असोजमा खरिद अनुमति पाई आवश्यक प्रक्रियामा गइसकेको छ ।
नियमित बजेटबाट खरिद गर्न लागिएका १५६ सवारी अन्तर्गत, ७५ वटा पिक अप भ्यान छन् भने (नियमित गस्तीका लागि), प्रिजनर सवारी साधन एउटा, २८ वटा कार्यालय प्रयोजनका लागि छन् भने, ४१ वटा कार्यालय प्रयोजनकै लागि विद्युतीय सवारी (४-डब्लु डीसहित) र १० वटा एस्कर्ट पिकअप भ्यान रहेका छन्।
यस्तै, सशस्त्रका लागि कुल ५९ वटा सवारी साधन खरिदका लागि अर्थबाट श्रोत अनुमति प्राप्त भएको छ भने जस मध्ये ३ वटा विपद् उद्धारका लागि छन् भने ५० वटा बोलेरो पिकअप भ्यान छन् भने तीन वटा दङ्गा नियन्त्रण ट्रक र दुई वटा एम्बुलेन्स रहेका छन् । यसका लागि नियमित बजेटबाट २१ करोड ६ लाख रुपियाँ खर्च हुनेछ भने थप ५० वटा यो वार्षिक वर्ष भित्र खरिद गर्ने गरी कुल ५ करोड ६ लाख बजेट सशस्त्रलाई प्राप्त हुनेछ।
यता राष्ट्रिय अनुसन्धान विभागका लागि कुल ६ वटा चार पाङ्ग्रे सवारी खरिदका लागि २ करोड ८० लाख रुपैयाँ श्रोत अनुमति प्राप्त भएको छ।
प्रतिक्रिया 4