News Summary
Generated by OK AI. Editorially reviewed.- नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीले आफ्नो वैचारिक राजनीतिक लाइन 'परिष्कृत मार्क्सवाद सहितको नेपाली समाजवाद' हुने घोषणा गरेको छ।
- पार्टीका नेता जनार्दन शर्माले चौथो र पाँचौ औद्योगिक क्रान्ति कालसम्मको विज्ञानमा आधारित नेपाली समाजवाद मार्ग निर्देशक सिद्धान्त हुने बताए।
- पार्टीले प्रत्यक्ष लोकतन्त्र अभ्यास गर्दै सबै कमिटी स्वयत्त हुने र जातजाति, धर्म, क्षेत्र, लिङ्ग र उमेरसमूहमा प्रतिनिधित्व सुनिश्चित गर्ने जनाएको छ।
७ मंसिर, काठमाडौं । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीको वैचारिक राजनीतिक लाइन ‘परिष्कृत मार्क्सवाद सहितको नेपाली समाजवाद’ हुने घोषणा गरेको छ ।
पार्टीको वृहत् एकता समारोहमा आइतबार दस्तावेज पेश गर्दै नेता जनार्दन शर्माले वैचारिक सैद्धान्तिक लाइन स्पष्ट गरेका हुन् ।
‘पार्टीले परिवर्तन बाहेक सबै परिवर्तनशील छन् भन्ने बुद्ध दर्शनलाई आत्मसात् गर्दै मार्क्सको समयको पहिलो औद्योगिक क्रान्तिकालको भौतिक विज्ञान र मानवशास्त्रमा आधारित द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादभन्दा अघि बढेको अहिलेको चौथो र पाँचौ औद्योगिक क्रान्ति कालसम्मको सापेक्षता र क्वान्टम सिद्धान्त, जेनेटिक्स र कृत्रिम बौद्धिकता लगायतका ज्ञानविज्ञानले परिष्कृत मार्क्सवादी द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादमा आधारित विकसित विज्ञानमा आधारित समाज विकासको नविनतम् सिद्धान्त अनुरुपको नेपाली समाजवाद’ पार्टीको मार्ग निर्देशक सिद्धान्त/दार्शनिक आधार हुनेछ’ पार्टीको दस्तावेजमा छ ।
भौतिक जगतले मानिसको चेतनालाई प्रभावित गर्ने र मान्छेको चेतनाले भौतिक जगतलाई बुझ्ने र बदल्ने भएकाले दर्शन, विचार, सिद्धान्तलाई निरन्तर पुनर्परिभाषित, पुन:सश्लेषण, समृद्धीकरण गर्दै जानुपर्ने उनले उल्लेख गरेका छन् ।
‘एक्काइसौं शताब्दीका समस्या वा अन्तर्विरोधलाई अठारौं वा उन्नाइसौं बिसौं शताब्दीका विचार-विधिले हल गर्न खोज्नु एवं त्यसले समाधान नदिए पछि अझै मध्ययुगीन वा प्राचीन अप्रमाणित विचारतिर फर्कन र फर्काउन खोज्नु वर्तमान विश्व राजनीतिको सबभन्दा ठूलो कमजोरी हो’ उनले भनेका छन् ।
आजको युग एकसाथ ‘उत्तर पुँजीवाद’ र ‘उत्तर राज्यसमाजवाद’ को युग हो भएकाले राजनीतिक प्रणाली र अर्थतन्त्रको ढाँचा दुवै हिसाबले अब नयाँ मोडेलको खोजी र विकास गर्नुपर्ने उनले उल्लेख गरेका छन ।
‘यसको चरित्र समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित मौलिकतासहितको नेपाली समाजवाद हुने स्पष्ट छ’ उनले भनेका छन् ।
संगठनात्मक सिद्धान्तका रुपमा प्रत्यक्ष लोकतन्त्रको अभ्यास गरिने उल्लेख गर्दै प्रगातिशील लोकतान्त्रिक पार्टीका सबै कमिटी स्वयत्त हुने घोषणा गरेका छन् ।
‘आफ्नो नेता वा प्रतिनिधि छान्ने, उमेरदवार छनौट गर्ने आदि सबै जिम्मेवारी सम्बन्धित कमिटीलाई नै हुने छ । विविधतामा आधारित नेपाली समाजको बनोटलाई ध्यानमा राख्दै जनसंख्या र भूगोलका आधारमा प्रतिनिधित्व र सहभागिता (जातजाति, धर्म, क्षेत्र, लिङ्ग र उमेरसमूह ) सुनिश्चित गरिनेछ’ पार्टीको दस्तावेजमा छ ।
प्रतिक्रिया 4