+
+
Shares

जनसांख्यिक संकटतर्फ युरोप : शताब्दीको अन्त्यसम्म ‘वृद्ध महादेश’ बन्ने

महिलाहरू औसत ३३ वर्षपछि मात्र मातृत्वमा प्रवेश गरिरहेका छन्, जसले प्रजनन क्षमतामा आयुजन्य असर पार्दै जन्मदर झनै कम गराइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १८:१८

युरोप अहिले आधुनिक इतिहासकै सबैभन्दा चुनौतीपूर्ण जनसांख्यिक मोडमा पुगेको छ । स्पेन, इटली र पोल्याण्ड जस्ता देशहरूमा जन्मदर यति तल झरेको छ कि प्राकृतिक जनसंख्या वृद्धि नकारात्मक भइसकेको छ ।

गाउँबस्तीहरू खाली बन्दै छन्, विद्यालयहरू बन्द भइरहेका छन् र समाजमा वृद्धहरूको अनुपात अत्यासलाग्दो गरी बढ्दै गएको छ ।

स्पेनको अवस्था युरोपको जनसांख्यिक संकटको सबैभन्दा जल्दोबल्दो उदाहरण हो ।  सन् २०२४ मा स्पेनमा  जम्मा ३ लाख १८ हजार जना बच्चा मात्रै जन्मिए । जुन सन् १९४१ पछि सबैभन्दा कम संख्या हो ।

त्यहाँको मृत्युदर जन्मदर भन्दा धेरै माथि पुगिसकेको छ । स्थानीय परिवारहरूले बच्चा जन्माउने दर यति घटेको छ कि अहिले स्पेनमा जन्मिने हरेक ३ शिशुमध्ये १ जना विदेशी आमाबाट जन्मिरहेका छन् ।

महिलाहरू औसत ३३ वर्षपछि मात्र मातृत्वमा प्रवेश गरिरहेका छन्, जसले प्रजनन क्षमतामा आयुजन्य असर पार्दै जन्मदर झनै कम गराइरहेको छ ।

यी सबै सूचकले स्पेन मात्र होइन, सारा युरोपलाई नै ‘बुढ्यौलीको महादेश’ बनाउँदै लगेको प्रष्ट हुन्छ ।

इटली र पोल्याण्ड : खाली हुँदै गएका गाउँ र पलायनको चपेटा

स्पेन जस्तै  इटलीमा पनि जन्मदर १।१८ मा झरेपछि धेरै गाउँहरू पूरै सुनसानजस्तै बन्दै गएका छन् ।

युवा पुस्ता रोजगारी र अवसरका खोजीमा जर्मनी, स्वीडेन वा अमेरिका जस्ता मुलुकतर्फ पलायन भइरहेको छ, जसले इटलीको श्रम शक्ति निरन्तर कमजोर बनाइरहेको छ ।

पोल्याण्डमा पनि प्राकृतिक वृद्धि नकारात्मक मोडमै छ । मृत्यु दर जन्मदरभन्दा लगातार माथि छ र लाखौँ पोलिस युवा धनी युरोपेली राष्ट्रतर्फ काम खोज्दै निस्किरहेका छन् । पूर्वी र दक्षिणी युरोपका धेरै क्षेत्रहरू आज जनसंख्या संकुचन क्षेत्र को परिभाषामा परेका छन् ।

यी तीन देशहरू मात्र होइन युरोपको ठूलो भूभागले यस्तै जनसांख्यिक रिक्तता भोगिरहेको छ ।

जन्मदर गिरावटका कारणहरू :

युरोपेली जन्मदरको तीव्र गिरावट केवल आर्थिक समस्या होइन । यो वैज्ञानिक, सामाजिक र सांस्कृतिक परिवर्तनहरूको संयुक्त नतिजा हो । युरोपमा जीवनशैली अत्यन्त महँगो छ । घर-आवास किन्न निकै गाह्रो छ भने  शिक्षा तथा स्वास्थ्य खर्च लगातार बढ्दो छ ।

साथै, महिलाहरूले करियर र उच्च शिक्षालाई प्राथमिकतामा राख्न थालेपछि विवाह र मातृत्वमा ढिलाई हुँदै गएको छ । महिलामा ३५ वर्षपछि स्वाभाविक रूपमा प्रजनन क्षमता घट्ने भएकाले ढिलो मातृत्वले जन्मदर झनै घटाइरहेको छ ।

सांस्कृतिक परिवर्तनले पनि ठूलो भूमिका खेलेको छ । एकल जीवनशैली, विवाहमा विलम्ब, सम्बन्धको अस्थीरता, र बच्चामुक्त जीवनशैलीको लोकप्रियताले परिवार सानो बनाउने सोँचलाई प्रबल बनाइदिएको छ।

वृद्धहरूको बढ्दो बोझ : उल्टिँदै गएको जनसांख्यिक पिरामिड

सन् २००४ देखि २०२४ बीच युरोपमा ८० वर्षभन्दा माथिको जनसंख्या लगभग दोब्बर भएको छ। त्यहाँको औषत उमेर ४४ वर्ष नाघिसकेको छ। जनसांख्यिक पिरामिड उल्टिएको छ । अर्थात् माथिपट्टि धेरै वृद्ध र तलपट्टि कम युवा ।

यसले समाजिक र आर्थिक दुवै क्षेत्रमा गम्भीर संकट ल्याइरहेको छ । जस अनुसार पेन्शन पाउने उमेरको जनसंख्या असामान्य रूपमा बढ्दैछ र कर तिर्ने कामकाजी उमेरसमूहको जनसंख्या कम भईरहेको छ ।

त्यसैगरी अस्पताल र हेरचाह सेवा अर्थात् केयर इकोनोमीमाथिको दबाब चुलिँदैछ । श्रम बजारमा ठूलो रिक्तता सिर्जना भइरहेको छ ।

युरोपका धेरै देशमा आज काम गर्ने मानिसभन्दा देखभाल चाहिने वृद्धहरू बढ्न थालेका छन्, जसले दीर्घकालीन आर्थिक स्थिरतामा खतरा थपेको छ ।

जनसांख्यिक संकटको प्रभाव युरोपको अर्थतन्त्रमा स्पष्ट देखिन थालेको छ। कृषि, निर्माण, होटल व्यवसाय  र हेरचाह सेवा क्षेत्रमा कामदारको अभाव गहिरिँदो छ ।

कर राजस्व घट्दैछ, पेन्सन कोषहरू कमजोर भइरहेका छन्, र साना बस्तीहरू सुनसान हुँदै गएका छन् । विगतमा विद्यार्थीले भरिएका विद्यालयहरू क्रमशः बन्द हुन थालेका छन्। साथै अस्पतालहरूले समेत कर्मचारीको कमीका कारण सेवा कटौती गर्नुपरेको छ ।

यदि यो प्रवृत्ति रोकिएन भने युरोपमा आगामी दिनहरूमा आर्थिक वृद्धि सुस्त हुनुका साथै नवप्रवर्तन कमजोर र सामाजिक संरचना अस्थीर हुनसक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

आप्रवासन : समाधान कि विवाद ? 

युरोपेली देशहरूमा आन्तरिक जनसंख्यामा गिरावट आइरहेको बेला आप्रवासनले केही देशमा अस्थायी राहत दिएको छ ।

स्पेन, फ्रान्स र जर्मनीमा विदेशी कामदारले श्रम बजार धेरै हदसम्म धानेका छन् । तर कठोर आप्रवासन नीतिहरू, राजनीतिक ध्रुवीकरण र सामाजिक असुरक्षाका कारण आवश्यक परिमाणमा आप्रवासन विस्तार हुन सकेको छैन ।

विज्ञहरूका अनुसार जन्मदर यहीँ गतिमा तल झर्दै गयो भने, आप्रवासन बिना युरोपको जनसंख्या निरन्तर घटिरहनेछ । तर यति हुँदाहुँदै पनि जनसांख्यिक संकट समाधानका लागि आप्रवासनलाई विकल्पको रुपमा स्वीकार गर्न युरोपेली राजनीति तयार छैन ।

समाधानका प्रयास,  तर पर्याप्त छैनन्

युरोपेली राष्ट्रहरूले घट्दो जनसंख्याको समस्या समाधानका लागि परिवारमैत्री नीतिहरू लागू गर्न थालेका छन्। केही मुलुकले सस्तो वा निःशुल्क दिवा हेरचाह सेवा उपलब्ध गराएका छन् ।

मातृत्व–पितृत्व बिदा विस्तार गरेका छन् भने बच्चा जन्माउँदा आर्थिक प्रोत्साहन दिने योजनाहरू ल्याउनुका साथै ग्रामीण क्षेत्रमा बसोबासलाई प्रोत्साहत गर्ने कार्यक्रम अघि सारेका छन् ।

युरोपले आप्रवासनलाई व्यवस्थित र आकर्षक बनाउन पनि प्रयास गरिरहेको छ ।

विशेषज्ञहरूका अनुसार यी कार्यक्रम दीर्घकालीन रूपमा प्रभावकारी रूपमा लागू भए मात्र संकट उल्टिने सम्भावना छ ।

अन्यथा २१औँ शताब्दीको अन्त्यसम्ममा युरोप ‘वृद्धहरूको महादेश’ का रूपमा चिनिन सक्ने खतरा बढ्दै गएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?