लन्डन । आफ्नो भविष्य सुन्दर बनाउने सपना साँचेर १९ वर्षमै ब्रिटिश सेनामा भर्ना भए रोल्पा थवाङ गाउँपालिका, मिरुलका हरि बुढामगर ।
३१ वर्षको उमेर थियो, रोयल गोर्खा राइफल्समा कार्यरत उनी जागिरकै दौरान सन् २०१० मा अफगानिस्तानको लडाइँमा खटिंदा एक ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’ मा पाइला टेकेर विष्फोट हुँदा घुँडाभन्दा माथि दुवै खुट्टा गुमाए ।
विस्फोटपछि जब उनी ब्यूँझिए, तीन सन्तानका पिता उनलाई लाग्यो अब मेरो जीवन सकियो । शारीरिक र मानसिक पीडाले लामो समयसम्म विक्षिप्त भए बुढामगर । पीडा भुलाउन रक्सी पिउँदा पिउँदा लत नै बस्यो । कहिलेकाहीं त आत्महत्या गर्ने सोच समेत बनेको उनी बताउँछन् ।
‘तर, घर परिवार र सन्तानको मायाले मर्नु हुँदैन भन्ने लाग्यो । बरु म शारीरिक असक्तता भुलेर आफूलाई साहसिक खेल गतिविधिमा केन्द्रित गराउन थालें’, उनी भन्छन्, ‘स्कीइङ, गल्फिङ, साइक्लिङ थालेपछि आत्मविश्वास बढ्दै गयो । यो मेरो जीवन परिवर्तनमा सहयोगी पनि बन्यो ।’
बुढामगर स्की खेल्न युरोप र अमेरिकासम्म पुगे । अपाङ्गता भएर पनि स्की खेल खेल्ने नेपालमा पहिलो खेलाडी बने ।
माउन्टेनरिङसम्बन्धी तालिमपछि प्रशिक्षक भएर काम समेत गरे । इच्छाशक्ति भए असम्भव केही छैन भन्ने पाठ सिके उनले ।
स्कुल पढ्दा सगरमाथाबारे धेरै पढेका बुढामगरले तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथा चढेको कथा सुन्दा निकै उत्साहित हुन्थे । पछि उनले विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान पनि राखे ।
कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले सगरमाथा आरोहण गरी विश्व रेकर्ड बनाएका भूतपूर्व गोर्खा सैनिक हरि बुढामगरलाई कसैले दुवै खुट्टा नभएको मान्छे कसरी सगरमाथा चढिस् भनेर सोधेमा उनी भन्ने गर्छन्, ‘मैले खुट्टाले होइन, आत्मबलले सगरमाथा चढेको हुँ ।’

यतिखेर बुढामगर अर्को ऐतिहासिक विश्व कीर्तिमान राख्ने लक्ष्यको उत्तरार्धमा छन् । विश्वका सात महादेशका अग्ला शिखर आरोहण गर्ने ‘सेभेन समिट’ अभियान अन्तर्गत उनी अब अन्तिम अन्टार्कटिकाको सबैभन्दा अग्लो शिखर ‘माउन्ट भिन्सन’ (४,८९२ मिटर) आरोहणको तयारीमा जुटिरहेका छन् ।
डिसेम्बर अन्त्य वा जनवरी पहिलो सातासम्म शिखर चढ्ने उनको लक्ष्य छ । यो शिखर आरोहण गरेपछि उनी ‘सेभेन समिट’ पूरा गर्ने विश्वकै पहिलो ‘डबल–एबभ–नी एम्प्यूटी’ (घुँडा माथि दुबै खुट्टा नभएका) व्यक्ति बन्नेछन् ।
अपाङ्गताबारे जागरुकता जगाउन र आफूजस्ता अरुलाई पनि आफ्नै हिमाल चढ्ने सपना पूरा गर्न प्रेरित गर्न सेभेन समिट आरोहणको योजना बनाएको उनले खुलाए ।
अपाङ्गताप्रतिको धारणा परिवर्तन गर्न जीवनभर प्रतिबद्धता चाहिने बताउँदै बुढामगरले अन्तिम साससम्म आफ्नो जीवन यसमा समर्पित गर्ने प्रण गरेका छन् ।
‘म विश्व पर्वतारोहण इतिहासमा नेपाल र नेपालीको नाम स्वर्ण अक्षरले लेखाउन प्रयासरत छु’, उनले भने, ‘माउन्ट भिन्सन चढ्न अप्ठेरोमात्र होइन, निकै खर्चिलो पनि भएकाले मैले शुरु गरेको एक पाउण्ड अभियानमा साथ दिन सबैमा मेरो अपिल छ ।’
क्राउड फन्डिङमार्फत एक लाख पाउण्ड उठाउने उनको अभियानमा अहिलेसम्म झण्डै २० हजार पाउण्ड संकलन भइसकेको छ ।

उनले यसअघि ६ महादेशका सबै अग्ला शिखर आरोहण गरिसकेका छन् ।
बुढामगरले १३ अगष्ट २०१९ मा युरोपस्थित मोन्ट ब्ल्यांक (४,८१० मि.), ८ जनवरी, २०२० मा किलिमन्जारो (५,८९५ मि.) अफ्रिका, १९ मे २०२३ मा माउन्ट एभरेष्ट (८,८४९ मि.) एसिया, २८ जुन २०२४ मा उत्तर अमेरिकाको डेनाली (६,१९४ मि.), २२ फेब्रुअरी २०२५ मा एकोनकागुवा (६,९६१ मि.) दक्षिण अमेरिका र १८ अक्टोबर २०२५ मा ओसिनियास्थित कार्सटेन्ज पिरामिड (४,८८४ मि.) को सफल आरोहण गरेका हुन् ।
उनले डेनाली र कार्सटेन्ज पिरामिडको टुप्पोमा पुग्ने घुँडा माथि दुबै खुट्टा नभएका व्यक्तिमा पहिलो बनेर पर्वतारोहणको अर्को इतिहास पनि रचेका छन् ।
बुढामगरको परिवार हाल बेलायतको क्यान्टबरीमा छ । गत वर्षमात्र बुढामगरले बेलायतको प्रतिष्ठित ‘एमबीई’ अवार्ड प्राप्त गरेका थिए ।
प्रतिक्रिया 4