काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको नारायणगढदेखि बाराको पथलैयासम्मको सडक विस्तारका लागि ठेक्का आह्वानको काम अन्तिम चरणमा पुगेको छ ।
यो सडक विस्तारको क्रममा जंगली जनावरहरु वारपार गर्न मिल्ने गरी फ्लाइओभर समेत बनाउने तयारी छ ।
सडक एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सडक विस्तारको काम गर्न लागिएको छ ।
नारायणगढदेखि पथलैयासम्मको दुरी कुल एक सय किलोमिटर रहेकोमा पहिलो चरणमा गोन्द्राङसम्म करिब सात किलोमिटर सडक विस्तार भइसकेको छ । बाँकी खण्ड बिस्तारका लागि नयाँ ठेक्का आह्वान गर्न लागिएको हो ।
सडक विभागको आयोजना कार्यान्वयन निर्देशनालय (एसियाली विकास बैंक–एडीबी) अन्तर्गत आयोजना निर्देशक चूडाराज ढकालका अनुसार सडक विस्तारका लागि केही हप्ताभित्रै ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ । उनका अनुसार मुख्य सडक चार लेनमा र बजार क्षेत्रमा सर्भिस लेनसहित आठ लेनमा विस्तार गरिने छ ।
त्यसक्रममा करिब दुई किलोमिटर लामो क्षेत्रमा तीन–तीन लेनको फ्लाइओभर निर्माण गरिने छ । वन्यजन्तुमैत्री यो फ्लाइओभर नेपालका लागि पहिलो र नौलो हुने निर्देशनालयका अधिकारीहरु बताउँछन् ।
फ्लाइओभरमा माथिबाट सवारीसाधन गुड्ने छन् भने त्यसको तलबाट जंगली जनावरहरु ओहोरदोहोर गर्ने छन् ।
पथलैया–हेटौंडा–नारायणगढ सडक अन्तर्गत पहिलो चरणमा टिकौली जंगल क्षेत्रमा र दोस्रो चरणमा अमलेखगञ्ज आधाभार क्षेत्रमा फ्लाइओभर बनाउने तयारी छ ।
जंगल क्षेत्रमा जंगली जनावरहरु सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट मृत्यु हुने गरेकाले उनीहरुको सुरक्षाका लागि फ्लाइओभर सहितको वन्यजन्तुमैत्री सडक विस्तार गर्न लागिएको निर्देशक ढकालले बताए ।
एडिबीकै सहयोगका विस्तार भइरहेको बुटवल–नारायणगढ सडकखण्डको ११५ किलोमिटर क्षेत्रमा ११२ वटा अन्डरपास बनाएका छन् । ५० मिटर फराकिला दुई वटा ओभरपास बन्ने क्रममा छन् ।
सडक विभाग अन्तर्गतको एडीबी निर्देशनालय प्रमुख ढकालका अनुसार २३ वटा अन्डरपासहरु पुराना कल्भर्टहरुलाई सुधार गरेर बनाइएको छ । बुटवल–नारायणगढ खण्डमा बाँदरलाई वारपार गर्न सहज बनाउने गरी डोरी र तार टाँग्ने तयारी छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड पनि वन्यजन्तुमैत्री बनाउने तयारी छ । विश्व बैंकको सहयोगमा दुई लेनबाट चार लेनमा स्तरोन्नति हुन लागेको यो सडकखण्डमा हाल रुखहरु हटाउने काम भइसकेको छ । साथै झापाको चारआलीमा पनि हात्तीलाई बाटो क्रस गर्न मिल्ने खालको पूर्वाधार बनाउने तयारी छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा दुई वटा र भतेरीमा दुई वटा अण्डरपास निर्माण गरिएको छ । तर यी साना र साँघुरा छन् । यो जनावरका लागि बनाइएको नेपालकै पहिलो अन्डरपास हो ।
राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागको विगत पाँच वर्षसम्मको वार्षिक प्रतिवेदन हेर्दा संरक्षित क्षेत्रमा चोरी शिकारीबाट भन्दा कयौं गुणा धेरै सडक दुर्घटनाबाट जनावरहरुको मृत्यु भएको देखिन्छ । त्यसैले सडक विस्तारका काम गर्दा वन्यजन्तुमैत्रीको आवश्यकतामा जोड दिने गरिएको छ ।

विकासका काम वन्यजन्तुमैत्री र वातावरणमैत्री नहुँदा थुप्रै जीवजन्तु र वनस्पतीको अस्तित्व संकटमा परेको अभियन्ताहरु बताउँछन् । विकाससँगै मानव–जीवजन्तुबीच द्वन्द्व पनि बढेको छ ।
त्यसैले नेपाल सरकारले २०७८ सालमा ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका’ जारी गरेको थियो । निर्देशिकामा वन्यजन्तुको ज्यान जोखिममा पर्ने गरी पूर्वाधार निर्माण गर्न रोक लगाइएको छ ।
यो निर्देशिका कार्यान्वयनको चरणमा गइरहेका बेला त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) र वन विज्ञान अध्ययन संस्थान (आईओएफ) ले स्नातक र स्नातकोत्तर तहमा वन्यजन्तु र वातावरणमैत्री विकास सम्बन्धी अलग–अलग पाठ्यक्रम बनाएर पढाइरहेका छन् ।
प्रतिक्रिया 4