+
+
Shares

गगनलाई कल्याणको जवाफ- विशेष महाधिवेशन हुँदैन

गुरुङले महामन्त्री थापाकै शैलीमा फेसबुकबाटै जवाफ फर्काएका हुन् । ‘साथीहरूले फोन गरेर सोध्नु हुन्छ– के विशेष महाधिवेशन मंसिरमा हुन्छ ?,’ गुरूङले लेखेका छन्, ‘मैले भनेँ– बाहिर हल्ला चलेको जस्तो केही पनि छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते ९:१२

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको विकल्प नरहेको बताइरहेका बेला संस्थापन पक्षीय नेताहरू विशेष महाधिवेशन नहुने दाबी गरिरहेका छन् ।

महामन्त्री थापाले समाजिक सञ्जालमार्फत् सोमबार विशेष महाधिवेशनको विकल्प नभएको जिकिर गरेको भोलिपल्ट संस्थापन पक्षीय केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले कुनै पनि हालतमा विशेष महाधिवेशन नहुने जवाफ फर्काएका छन् ।

उनले महामन्त्री थापाकै शैलीमा फेसबुकबाटै जवाफ फर्काएका हुन् । ‘साथीहरूले फोन गरेर सोध्नु हुन्छ– के विशेष महाधिवेशन मंसिरमा हुन्छ ?,’ गुरूङले लेखेका छन्, ‘मैले भनेँ– बाहिर हल्ला चलेको जस्तो केही पनि छैन ।’

महामन्त्री थापाले सोमबार बिहानैबाट पार्टीका नेता–कार्यकर्ताहरूले आफूलाई सभापति देउवाकै हस्ताक्षरमा चुनावमा जाने विषयमा प्रश्न गरिरहेका बताएका थिए ।

उनले एक्समा लेखेका थिए, ‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ– पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? मैले भनें-होइन । साथीहरूले फेरी सोध्नुभयो कसरी ? मैले भनें- प्रष्ट छ ।’

१४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार रहिसकेका नेता गुरूङले विशेष महाधिवेशन नहुनका पाँच कारण पनि उल्लेख गरेका छन् ।

यस्ता छन् कारणहरू –

१) केन्द्रीय कार्यसमितिको बैठकमा आजसम्म पनि विशेष महाधिवेशनको र नियमित महाधिवेशनको प्रस्ताव आधिकारिक रुपमा आएको छैन ।

२) पार्टीको विधानको धारा १७ (२) मा लेखिएको भए पनि यसको नियमावली र कार्यविधि बनि सकेको छैन ।

३) हस्ताक्षरहरुको सनाखत र प्रमाणीकरण भइसकेको छैन ।

४) विशेष महाधिवेशनले पार्टी सभापति वा पदाधिकारी वा सदस्यलाई हटाउने व्यवस्था विधानको धारा १७ (२) मा कहीँ कतै लेखिएको छैन ।

५) विधानको धारा १७ (२) अनुसारको विशेष महाधिवेशनले पार्टी सभापतिलाई हटाउने व्यवस्था विधान र नियमावलीमा उल्लेख भएको नै छैन ।

विधानको धारा २६ अनुसार केन्द्रीय सभापतिले राजीनामा दिई वहांको राजीनामा स्वीकृत भई सकेको अवस्थामा कार्यवाहक सभापतिले ६ महिना भित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिनेछ ।
विधानको धारा ४४ अनुसारको अविश्वासको प्रस्ताव पास गरेर मात्र पार्टी सभापति र पदाधिकारीलाई हटाउन सकिन्छ ।

नेता गुरूङले निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेको भन्दै पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनमा सहभागी हुने सबै तयारीको काम सम्पन्न गर्नु पर्ने बताएका छन् । ‘पार्टी एकता कायम राख्नु छ र पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु छ । यसैले पार्टीले अहिले विशेष महाधिवेशनमा अलमलिने सम्भावना कम देखिन्छ’, उनले भनेका छन्, ‘यसर्थ, ढुक्क हुनुहोस्, वर्तमान सभापतिज्यू कै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छ ।’

महामन्त्री थापाले भने विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुने र निर्वाचित सभापतिको हस्ताक्षरमा पार्टी आगामी निर्वाचन लड्ने बताएका थिए । ‘अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ’, उनले भनेका थिए्, ‘नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ ।’

तर, नेता गुरूङले भने कुनै पनि हालतमा विशेष महाधिवेशन नहुने दावी फेसबुकमार्फत् गरेका छन् । ‘पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु र पार्टी एकता कायम राख्नुको लागि पार्टीको विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन र तीन हुँदैन’, उनले लेखेका छन्, ‘कुरो सुस्पष्ट छ । आफैँ विचार गर्नु होला । भ्रममा नपर्नु होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?