+
+
Shares

प्रधानमन्त्री कार्की जेनजीलाई नभेटी कार्यालयबाट बाहिरिएपछि लफडा

कुर्दाकुर्दै साँझ ४ बज्यो । तर प्रधानमन्त्रीलाई भेट्ने पालो जेनजी युवाहरुले पाएनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १०:२३
प्रधानमन्त्री कार्यालयको ढोका अगाडि जेनजी युवाहरुको भिड

९ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नी श्रीमती र नातेदारलाई जागिर खुवाएको विषय सार्वजनिक भएपछि केही जेनजी युवाहरु प्रधानमन्त्रीलाई भेट्न भन्दै सोमबार सिंहदरबार पुगे ।

बिहान ११ बजे नै प्रधानमन्त्री कार्यालय पुगेका उनीहरुलाई प्रधानमन्त्री व्यस्त भएको भन्दै अलग कोठामा कुराइयो । त्यसपछि प्रधानमन्त्रीको सचिवालयका कर्मचारीले प्रधानमन्त्रीसँग भेट्नुअघि हामी अलग्गै कुरा गरौं न भनेर छलफल गर्न थाले । त्यहाँ कुर्दाकुर्दै साँझ ४ बज्यो । तर प्रधानमन्त्रीलाई भेट्ने पालो उनीहरुले पाएनन् ।

त्यतिबेला प्रधानमन्त्री कार्की कार्यकक्षबाट बाहिरिसकेको सूचना पाएपछि उनीहरु आक्रोशित भए । प्रधानमन्त्रीलाई भेट्न बोलाउने तर नभेटाउने भन्दै उनीहरु प्रेस संयोजक राम रावलमाथि खनिन थाले ।

जेनजी पुस्ताको आन्दोलनको बलमा बनेको प्रधानमन्त्रीले जेनजीलाई नै ‘भेट्न नचाहेको’ भन्दै आक्रोशित केही युवाले त्यहीँ राजीनामा माग्न थाले ।

त्यहाँको भिडियो क्लिपमा देखिएका एक युवकले आक्रोशित हुँदै भनेका छन्, ‘जेनजीको माग र मर्म कदर गर्न नसक्ने प्रधानमन्त्रीले के काम गर्छ ? यो प्रधानमन्त्रीको अब राजीनामा चाहियो ।’

अर्का एक युवकले थपे, ‘हाम्रो खुनमा, शहीदको, घाइतेको रगतमा सरकार बन्ने, हामीलाई भेट्न नदिने कस्तोखाले सरकार हो यो ?’

तनावको स्थिति सिर्जना भएपछि प्रेस संयोजक रावलले सम्झाउने कोसिस गरे । तर पनि उनीहरुको आक्रोश थामिएन । स्थिति अप्रिय नबनोस् भनेर प्रहरी टोली नै बोलाउनु पर्‍यो ।

को–को गएका थिए ?

जेनजीका अलग-अलग समूहका प्रतिनिधिहरु प्रधानमन्त्री कार्यालय पुगेका थिए ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले दिलाएको नियुक्तिको विषयमा प्रधानमन्त्रीसँग कुरा गर्न भन्दै सुदन गुरुङ समूहका युवाहरु पुगेका थिए । मिराज ढुंगाना र कर्णाली जेनजी समूहको नेतृत्व गर्दै सुप्रिया राज्यलक्ष्मी शाही पनि त्यहाँ पुगेकी थिइन् ।

रविकिरण हमाल समूहबाट विजय शाह, टेकेन्द्र जोशी, अजय सोडारी लगायतका युवा पनि प्रधानमन्त्री कार्यालय पुगेका थिए । रविकिरणलाई भने सिंहदरबारको मुख्य गेटमै रोकिएको थियो .

प्रधानमन्त्री कार्यालयको ढोका अगाडि जेनजी युवा र सुरक्षाका लागि खटिएका प्रहरीहरु ।

सिंहदरबार पुगेका अर्का एक जेनजनी युवा सोम शर्माका अनुसार प्रधानमन्त्री भेट्न भनेर करिब ५० जनाको समूह पुगेको थियो । ‘सबैले भेट्ने र कुरा राख्ने अवस्था नहुने भन्दै प्रधानमन्त्रीको सचिवालयले आठ-दश जनाको प्रतिनिधि मण्डल छान्न भनेको थियो । प्रतिनिधिमण्डल छानिसकेपछि पनि हामीलाई गुमराहमा राखिर प्रधानमन्त्रीलाई भेट्न दिइएन,’ शर्माले भने ।

सुप्रिया राज्यलक्ष्मी शाहीले पनि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले अर्को कोठामा बसेर छलफल गर्दै गरौं, त्यसपछि प्रधानमन्त्रीकहाँ जाउँला भनेको तर कुराएर भेट्न नदिएको बताइन् । ‘हामीलाई अर्को कोठामा बोलाएर त्यही मौकामा प्रधानमन्त्रीलाई सुटुक्क कार्यकक्षबाट निकाल्नुभएछ’, शाहीले भनिन् ।

शाहीले आफूहरुलाई बिहान १० बजे नै प्रधानमन्त्री कार्यालय बोलाइएको तर ४ बजेसम्म कुराएर भेट्न नदिइएको बताइन् ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई पदबाट हटाउनुपर्ने, उहाँले पारिवारिक सदस्यलाई गरेको नियुक्ति खारेज गर्नुपर्ने र महान्यायाधिवक्ता सबिता भण्डारीलाई पनि पदबाट हटाएर छानबिन गरी कारबाही गर्नुपर्ने मुख्य माग लिएर हामी प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउन सिंहदरबार गएको उनले बताइन् । तर आफूहरुलाई बेवास्ता गरिएको उनले बताइन् । ‘प्रधानमन्त्री व्यस्त भएको भए आदर्श सरले आफ्नोबारे स्पष्टीकरण दिएको भए पनि हामी चुप लाग्थ्यौं होला । तर त्यति पनि नगरेर हामीलाई जुन खालको व्यवहार गरियो त्यो खेदजनक छ ।’

प्रधानमन्त्रीको सचिवालय भन्छ- व्यस्तताका कारण समय मिलाउन सकिएन

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले आदर्श कुमार श्रेष्ठले नियुक्ति गरेको विषयमा समाचार आएजस्तो पूर्ण सत्य नभएको बताए । जेनजीले उठाएका कतिपय माग भने जायज भएको उनले बताए ।  जेनजीका मागका विषयमा छलफलको क्रममा रहेको उनले जानकारी गराए।

प्रधानमन्त्रीका प्रेस संयोजक रावल भने प्रधानमन्त्रीको व्यस्तताका कारण भेट मिलाउन नसकिएको बताउँछन् । ‘हामी निस्किने बेला भएको थियो,’ उनले भने, ‘सबैलाई भेट मिलाउन सकिएन कतिपयलाई आज बोलाइएको छ ।’

कर्णाली जेनजीका सुप्रिया शाहीले प्रधानमन्त्रीलाई भेट्न आज पनि सिंहदरबार जाने बताइन् । आज पनि भेटेर ज्ञापनपत्र बुझाउन नपाए धर्नामा बस्ने उनले चेतावनी दिइन् ।

‘आज फेरि चार बजे हामी जान्छौं । आज पनि भेट्न दिइएन भने धर्नामा बस्छौं,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?