News Summary
Generated by OK AI. Editorially reviewed.- सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध युवाहरूले नाराबाजी गर्दै प्रदर्शन गरेका छन्।
- युवाहरूले बस्नेतले भड्काउ अभिव्यक्ति दिँदै जेनजी आन्दोलन विरुद्ध लागेको आरोप लगाएका छन्।
- सुर्खेतमा सुरक्षा कडा गरिएको छ र अहिलेसम्म कुनै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
९ मंसिर, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् ।
पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघको जागरण अभियानमा सहभागी हुन मङ्गलबार वीरेन्द्रनगर पुगेका बस्नेतविरुद्ध युवाहरूले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘छेडेर कलिला छाती, फेरि टेक्लास् हामी माथि !’, ‘अरेस्ट महेश बस्नेत’, ‘गुण्डुको गुन्डा मुर्दावाद’ जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । वीरेन्द्रनगर–८, स्थित जिल्ला समन्वय समितिको हलमा युवा संघको कार्यक्रम चलिरहेको छ भने सोही अगाडी रहेको वीरेन्द्रनगर नगरपालिका अगाडि युवाहरूले नाराबाजी गरिरहेका छन् ।
बस्नेले पछिल्लो समय देशैभर भड्काउ अभिव्यक्ति दिँदै हिँडेको, जेनजी आन्दोलन र अभियानका विरुद्ध लागेको, गुण्डागर्दी शैलीमा युवाहरूमा त्रास फैल्याउने काम गरेकाले उनलाई सुर्खेतमा निषेध गर्न प्रदर्शन गरिएको जेनजी अगुवा सुवर्ण थापाले बताए ।
‘महेश बस्नेतले बोल्न पाउने, सभा गर्न पाउने अधिकार संविधानले नै सुनिश्चित गरेको छ,’ थापाले भने, ‘तर भड्काउ अभिव्यक्ति दिने, गुन्डागर्दी मच्चाउने अधिकार छैन । त्यसकै विरुद्ध हाम्रो नाराबाजी हो ।’

एमालेले पनि युवाको ठुलो समूह भेला गराएको छ । महेश बस्नेत सुर्खेत आएसँगै वीरेन्द्रनगरमा सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । युवाहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेको र अहिलेसम्म कुनै पनि अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहन बुढथापाले जानकारी दिए ।
‘अहिलेसम्म शान्तिपूर्ण प्रर्दशन भइहरेको छ । त्यस्तो कुनै अप्रिय घटना हुन नदिन हामीले बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरेका छौँ,’ उनले भने ।
युवा संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न नेता बस्नेतसहित एमाले उपमहासचिव प्रदीप ज्ञवाली, युवा संघका अध्यक्ष क्षितिज थेबे लगायतका नेताहरू आज बिहान मात्रै सुर्खेत पुगेका हुन् ।



प्रतिक्रिया 4