+
+
Shares

महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी

बस्नेतले भने- लोकतन्त्रमाथिको उपहास

महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो । महेश बस्नेतले पनि आफू सवार गाडीमा रातो मसी फ्याँकिएको स्वीकार गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते ११:३६

७ मंसिर, काठमाडौं । मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो मसी छ्यापेका छन् । प्रहरी भ्यान पछिपछि गुडिरहेको महेश बस्नेत सवार कारमा युवाहरु सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका हुन् ।

महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो ।

लगत्तै बस्नेत सवार गाडी रोकिएको थियो । प्रहरीले दुई जना  युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगर-२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर-१ का २५ वर्षीय संजोग गौतम रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ ।

प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालयमा लगिरहँदा पनि जेनजी युवाहरुले महेश बस्नेतविरुद्ध नारा लगाएको भिडियोमा देखिन्छ । गौतमले महेश बस्नेत र एमालेमाथि सांकेतिक विरोध जनाउन रातो मसी फ्याँकेको अनलाइनखबरलाई बताए ।

महेश बस्नेतले पनि आफू सवार गाडीमा रातो मसी फ्याँकिएको स्वीकार गरेका छन् । ‘एयरपोर्टबाट निस्किँदा दुई जना केटाले बेलुनमा पानी र अबिर भरेर लुकेर हानेका थिए’, बस्नेतले भने, ‘पछि पुलिसले समायो । हामी चाहिँ हिँड्यौं ।’

कार्यक्रममा जान अवरोध पुर्‍याउन खोजिएको भन्दै बस्नेतले यसलाई ‘लोकतन्त्रमाथिको उपहास’ भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?