८ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले युवाका सवालमा राज्य कहाँ चुक्यो ? भन्ने प्रश्नको गम्भीर आत्ममूल्यांकन आवश्यक रहेको बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१ औँ दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
‘आजको युगमा युवा नै राजनेता, प्रशासक, नीति-निर्माता र समाज रूपान्तरणका अभियन्ता हुन्,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘त्यसको जग आजैबाट मजबुत बनाउनुपर्छ ।’ भदौ २३ र २४ गते जेनजी युवाले उठाएका आवाजहरू पनि धेरै गहन र आधारभूत सवालसँग जोडिएको उनले बताइन् ।
‘यस्ता विषयमा हामी कहाँ र किन चुक्यौँ ? आत्ममूल्यांकन आवश्यक छ,’ उनले भनिन् । भविष्यप्रति सकारात्मक सोच, काँधमा जिम्मेवारीबोध र हृदयमा निष्ठा तथा इमान्दारी लिएर अघि बढ्नसके अपेक्षित परिवर्तन सम्भव रहेको पनि प्रधानमन्त्री कार्कीले बताइन् ।
लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि निकट भविष्यमा हुन गइरहेको निर्वाचन अत्यन्त महत्त्वपूर्ण अवसर भएकाले त्यसमा सक्रिय र जिम्मेवार सहभागिताका लागि उनले युवासँग आग्रह गरिन् ।
प्रतिक्रिया 4