News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री रामेश्वर खनालले प्रणाली बाहिरबाट आफ्ना नातेदारलाई स्वकीय सचिव बनाउनु सुशासन विपरित भएको बताए।
- खनालले मन्त्रालयभित्र सरकारी कर्मचारीलाई स्वकीय सचिव राख्दा संस्थागत स्मृति कायम रहने र दुरुपयोग नहुने बताए।
- प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले नजिकका नातेदारलाई नियुक्ति दिलाएको विषय विवादमा रहेको छ।
९ मंसिर, काठमाडौं । अर्थमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले प्रणाली बाहिरबाट आफ्ना नातेदारलाई स्वकीय सचिव बनाउने कुराले सुशासन नहुने बताएका छन् ।
अनलाइनखबरसँगको विशेष वार्तामा मन्त्री खनालले सरकारी कर्मचारीभन्दा बाहिरबाट आफूनिकट व्यक्तिलाई स्वकीय सचिव राख्दा त्यो संस्थागत नहुने, संस्थागत स्मृति कायम नहुने र दुरुपयोग हुन सक्ने बताए ।
‘बाहिरका मान्छे वा आफ्ना भान्जा–ज्वाइँलाई स्वकीय सचिव बनाएर ल्याएपछि के हुन्छ ?,’ अर्थमन्त्री खनालले भने, ‘मन्त्रालय वा कुनै निकायमा काम गर्दा उसले गरेको डकुमेन्टेसन वा स्मृति त्यो ज्वाइँ वा भान्जाले बोकेर हिँड्यो भने त्यो संस्थागत बनेन, हाम्रो स्पिरिट चाहिँ त्यसलाई संस्थागत बनाऔं भन्ने हो ।’
संघ, प्रदेश तथा स्थानीय तहका कतिपय पदाधिकारीले यसलाई गलत भयो भन्दै विरोध गरिरहेका छन् । बाहिरबाट नियुक्त गर्ने स्वकीय सचिव हटाउँदा कसैको पनि अधिकार कुण्ठित नभएको उनको तर्क छ ।
‘अब यस्तो गर्दा कसरी गलत भयो, यो कसको अधिकार कुण्ठित भयो ?,’ उनले भने, ‘जेनजीले सुशासन मागेको होइन ? सुशासनका लागि नै यो गरिएको हो ।’
त्यही भएर आफूले अर्थ तथा संघीय मामिला मन्त्रालयमा निजी सचिवालय नै विघटन गरिदिएको उनले बताए ।
मन्त्रालयमा सरकारी कर्मचारीको एउटा सचिवालय र स्वकीय सचिवालय राख्दा मन्त्री वा पदाधिकारीसँग समान पहुँच पनि नहुने उनले बताए ।
‘मन्त्रीको सचिवालयका दुई कर्मचारी हुन्छन्, स्वकीय सचिव दुईवटा हुन्छन्, यसले पहुँच समान भएन नि !,’ खनालले भने, ‘हामीले समावेशी समाज भन्ने अनि परिवारको मान्छेलाई जागिर दिने हो र ?’
प्रणाली बलियो बनाउने हो भने स्वकीय सचिव त मन्त्रालयभित्रकै राख्नुपर्ने उनले बताए ।
‘मेरो स्वकीय सचिवमा मन्त्रालयकै बहालवाला उपसचिव र शाखा अधिकृत छन्, अब मसँग कुनै राम्रो सिप रहेछ भने मैले के कुरा गरेँ, कुन मिटिङमा के कुरा भनेँ भनेर डकुमेन्टेसन भयो, त्यसको संस्थागत स्मृति त्यही सरकारी कर्मचारीसँग रहन्छ, सरकारसँगै रहन्छ, बाहिरको मान्छे आयो भने त्यसले आफैंसँग लिएर जान्छ,’ उनले भने ।
आन्दोलनकारी जेनजीले समेत यो माग उठाएको उनको भनाइ छ । ‘उहाँहरूको मागकै आधारमा मात्रै यो नीति बनेको होइन तर उहाँहरूको पहिलो माग नै त्यही थियो,’ खनालले भने ।
प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले आफ्नी श्रीमती र नजिकका नातेदारले प्रधानमन्त्रीको स्वकीय सचिवालयमा नियुक्ति दिलाएको विषयमा पनि अहिले विवाद भइरहेको छ ।
पूरा अन्तर्वार्ता प्रतीक्षा गर्नुहोस् ।
प्रतिक्रिया 4