News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएको हल्लाले सामाजिक सञ्जाल तताएको छ।
- सेना प्रमुख असिम मुनीर नेतृत्वको सेनाले खानको हत्या आदेश दिएको दाबी सामाजिक सञ्जालमा आएका छन्।
- पीटीआईले इमरानको अवस्था सार्वजनिक गर्न माग गर्दै परिवार र कानुनी सल्लाहकारलाई भेट्न नदिइएको आपत्ति जनाएको छ।
१० मंसिर, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पूर्व क्रिकेटर इमरान खानको जेलभित्रै हत्या भएको हल्लाले सामाजिक सञ्जाल तातेको छ ।
रावलपिन्डीस्थिति उच्च सुरक्षा घेराको अदियाला जेलमा पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको हत्या भएको हल्लाले मंगलबार राति सामाजिक सञ्जाल ततायो ।
सेना प्रमुख असिम मुनीर नेतृत्वको सेनाले जेलभित्रै खान गर्न हत्या आदेश दिएको दाबीहरू आएका छन् । सामाजिक सञ्जालमा यस्ता दाबी गर्नेमा भने अधिकांश शंकास्पद खाता (अकाउन्ट) देखिएका छन् ।
बलुचिस्तानको विदेश मन्त्रालय नामक एउटा एक्स (ट्विटर) अकाउन्टबाट गरिएको पोस्टमा इमरान खानलाई हिरासतभित्रै हत्या गरिएको दाबी गरिएको छ । जबकी बलुचिस्तान पाकिस्तानकै भूमि हो अहिलेसम्म ।
अफगानिस्तानका केही मिडिया प्लेटफर्महरूले अपुष्ट स्रोतलाई हवाला दिँदै इमरानको हत्याको अपुष्ट खबरलाई फैलाएको पाइएको छ ।
यद्यपि पाकिस्तान सरकार, जेलका अधिकारीले भने यसबारे कुनै आधिकारिक टिप्पणी र जानकारी दिएको छैन । इमरानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले उनको अवस्था सार्वजनिक गर्न माग गरेको छ ।
इमरान खानलाई लामो समयदेखि नजरबन्दमा राखिएका कारण उनीबारेको ठोस जानकारी अहिले कसैसँग छैन । अगस्ट २०२३ देखि जेलमा रहेका इमरानको सुरक्षाबारे पीटीआईले चिन्ता व्यक्त गर्दै उनको अवस्था सार्वजनिक गर्न माग गर्दै आएको छ ।
इमरानलाई कानुनी सल्लाहाकार र परिवारका सदस्य समेतलाई भेट्न नदिइएकोप्रति पीटीआईले आपत्ति जनाउँदै आएको छ ।
हल्लाका कारण दिदीबहिनी पुगे जेल परिसर
सामाजिक सञ्जालमा इमरानको हत्या भएको हल्ला फैलिएपछि उनका दिदीबहिनी नूरिन खान, अलिमा खान र उज्मा खान मंगलबार राति अदियाला जेल पुगेका थिए । उनीहरूले जेल प्रशासनसँग आफ्ना दाजु जीवित रहेको प्रमाण मागेका थिए ।
तर, जेल प्रशासनले उल्टै इमरानका दिदीबहिनी र पीटीआईका कार्यकर्तालाई कुटपिट गरेको अर्को हल्ला फैलियो । एक्समा अपलोड भएको एक भिडियोमा पीटीआईका कार्यकर्ताले जेल प्रशासनविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको देखिन्छ ।
सैनिक अधिकारीले इमरानको अवस्था लुकाएको उनीहरूको आरोप छ । ‘इमरानलाई पछिल्लो तीन हप्ता भन्दा बढी समयदेखि परिवारका कुनै पनि सदस्यलाई भेट्न दिइएको छैन,’ पीटीआईले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।
इमरान खानप्रति सहानुभूति राख्ने राजनीतिक व्यक्तित्वहरूलाई समेत उनीसँगको भेटमा रोक लगाइएको छ । जेल प्रशासनको नियम सरकारी संयन्त्रले भन्दा पनि सेनाले तय गर्न थालेको पीटीआईको आरोप छ ।
हत्याको अप्रमाणित हल्ला फैलिएपनि अहिलेसम्म इमरानको अवस्थाबारे पाकिस्तान सरकारबाट ठोस जानकारी सार्वजनिक भएको छैन ।
प्रतिक्रिया 4