+
+
WC Series
लुम्बिनी लायन्स 2025
64/2 (8.2)
VS
सुदूरपश्चिम रोएल्स 2025
0/0
Shares

ढाकाको झुपडी बस्तीमा आगलागी हुँदा हजारौं विस्थापित

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १२:२२

काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडी बस्तीमा आगलागी हुँदा हजारौं घरबारविहीन भएका छन् । त्यहाँ रहेका एक हजार ५०० झुपडी जलेका छन् ।

त्यहाँ बस्ने हजारौं विस्थापित भए पनि आगलागीबाट मानवीय क्षति भने नभएको अधिकारीहरुले बताएका छन् ।

करिब ६५ हेक्टर (१६० एकड) मा फैलिएको कोरेल झुपडपट्टीमा करिब ६० हजार परिवार बसोबास गर्छन्, जसमा जलवायु–प्रभावित शरणार्थीहरूको संख्या उल्लेखनीय छ ।

ढाकाका उच्चस्तरीय गुलशन र बनानी जस्ता अभिजात आवासीय क्षेत्रसँगै जोडिएको यो झुपडपट्टी बस्ती अग्ला अपार्टमेन्ट र कार्यालय भवनहरूले घेरिएको छ ।

अग्निशमन सेवा तथा नागरिक सुरक्षा विभागका अनुसार १६ घण्टापछि मात्र आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो । साँघुरा गल्ली र अव्यवस्थित संरचनाका कारण आगो निभाउन कठिनाइ भएको थियो ।

रातभर बस्ती जल्दा सो क्षेत्रको आकाश बाक्लो धुवाँले ढाकिएको थियो ।

सन् २०२४ मा एक करोड २० लाख जनसंख्या नाघिसकेको ढाका सयौं झुपडी बस्तीहरूको प्रमुख आश्रयस्थल बनेको छ । ग्रामीण बंगलादेशमा गरिबी, रोजगारीको अभाव तथा प्राकृतिक प्रकोपले पीडितहरूलाई सहरका यस्ता भीडभाड र जोखिमपूर्ण बस्तीहरूमा बसाइँ सर्न बाध्य बनाउने गरेको छ, जहाँ उनीहरूले दैनिक श्रमिक, रिक्सा चालक, घरेलु कामदार र सरसफाइ कर्मचारीका रूपमा गुजारा चलाउँदै आएका छन् ।

अधिकारीहरूले प्रभावित बासिन्दाको उद्धार, राहत र पुनर्वासमा चाँडो व्यवस्था मिलाइने आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?