News Summary
Generated by OK AI. Editorially reviewed.- युरोपेली युनियनले दूधकोशी जलविद्युत् आयोजनामा अनुदान लगानी गर्ने प्रतिबद्धता जनाएको छ।
- नेपाल र ईयूबीच विकास सहायता सम्बन्धी ८औं सबकमिसन बैठक बेल्जियमको ब्रसेल्समा भएको थियो।
- बैठकमा ईयूले स्वच्छ ऊर्जा, मानव संसाधन विकास र सार्वजनिक वित्त व्यवस्थापनमा सहयोग निरन्तरता दिने सहमति जनाएको अर्थ मन्त्रालयले जनाएको छ।
१२ मंसिर, काठमाडौं । युरोपेली युनियन (ईयू) ले दूधकोशी जलविद्युत् आयोजनामा अनुदान लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल र ईयूबीच विकास सहायता सम्बन्धी ८औं सबकमिसन बैठकमा यस्तो प्रतिबद्धता जनाइएको हो । बैठक बिहीबार बेल्जियमको ब्रसेल्समा बसेको थियो ।
बैठकमा ईयूले नेपाललाई गरिरहेको विकास सहायता सम्बन्धी योजना र सञ्चालित कार्यक्रम र आयोजना समीक्षा गरिएको थियो । समीक्षा बैठकमा ईयूले नेपालमा स्वच्छ र हरित ऊर्जा, मानव संसाधन विकास र सार्वजनिक वित्त व्यवस्थापनमा गर्दै आएको सहयोगलाई निरन्तरता दिन सहमति जनाएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालका तर्फबाट ऊर्जा क्षेत्रमा ईयूको थप सहयोग अपेक्षा गरिएको थियो । जस अनुसार दूधकोशी जलविद्युत् आयोजनामा अनुदान लगानी हुने अपेक्षा जनाइएको थियो ।
ईयूले अनुदान सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएको समेत मन्त्रालयले जनाएको छ । बैठकमा ईयूले उक्त आयोजनामा लगानीको आवश्यकता पूरा गर्न सम्मिश्रित वित्त, ग्यारेन्टी जस्ता नयाँ वित्तीय उपकरण उपयोग गर्न सुझाव दिएको छ ।
बैठकमा प्राविधिक तथा व्यावसायिक शिक्षामा समेत ईयूको आगामी दिनमा हुन सक्ने सहकार्यका विषयमा दुवै पक्षबीच छलफल भएको थियो ।
नेपालका तर्फबाट विद्यमान राजनीतिक परिस्थिति निर्वाचन उन्मुख रहेको र अर्थतन्त्रका समष्टिगत सूचक अनुकूल रहेको जानकारी गराइएको थियो । साथै, निजी क्षेत्रको विकास र वैदेशिक लगानी प्रवर्द्धनमा ईयूका तर्फबाट थप सहयोगको अपेक्षा गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।
प्रतिक्रिया 4