News Summary
Generated by OK AI. Editorially reviewed.- आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा ७० चलचित्रले निर्माण इजाजत लिएर नयाँ रेकर्ड स्थापित भएको चलचित्र विकास बोर्डले जनाएको छ।
- २०८२/८३ मा ७० चलचित्रले इजाजत लिएको तथ्याङ्कले नेपाली चलचित्र उद्योगमा नयाँ उत्साह, लगानी, रोजगारी र सिर्जनशीलताको वृद्धि देखाएको छ।
- चलचित्र विकास बोर्डले प्रशिक्षण, नीतिगत सुधार, डिजिटाइजेसन र पारदर्शी प्रक्रियाबाट चलचित्र उद्योगलाई मजबुत बनाउने नीति रहेको बताएको छ।
काठमाडौँ । पछिल्ला वर्षमा स्वदेशी चलचित्र निर्माणमा उत्साहजनक वृद्धि देखिएको छ ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक (साउन, भदौ, असोज, कार्तिक महिना) मा ७० चलचित्रले निर्माण इजाजत लिएर नयाँ रेकर्ड स्थापित भएको चलचित्र विकास बोर्डले जनाएको छ ।
कुनै पनि वर्षको पहिलो चौमासिकमा यति धेरै चलचित्रले इजाजत लिएको यो पहिलोपटक हो । ‘यो संख्या नेपाली चलचित्र उद्योगमा बढ्दो चहलपहल, सिर्जनशीलता र नयाँ सम्भावनाको प्रतिविम्ब मानिएको छ’ बोर्डले भनेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा ३६, २०७९/८० मा ४७, २०८०/८१ मा ४७, २०८१/८२ मा ५१ र २०८२/८३मा ७० फिल्मले निर्माण इजाजत लिएका छन् ।
‘यो तथ्याङ्कले नेपाली चलचित्र उद्योगमा नयाँ उत्साह, लगानी, रोजगारी र सिर्जनशीलताको गतिलाई झनै तीव्र बनाइरहेको देखिन्छ’ बोर्डले भनेको छ, ‘डिजिटल प्रविधिको पहुँच, निर्माण वातावरणमा सहजता, तरुण चलचित्रकर्मीको सक्रियता र बजार विस्तारले निर्माणको गति बढाएको देखिन्छ ।’
स्वदेशी चलचित्रको प्रवर्धन, संरक्षण र दीर्घकालीन विकासका लागि बोर्ड लागिपरेको समेत जनाइएको छ ।
प्रशिक्षणमार्फत दक्षता अभिवृद्धि, नीतिगत सुधार, डिजिटाइजेसन, अभिलेखीकरण र पारदर्शी प्रक्रियाबाट चलचित्र उद्योगलाई अझ मजबुत बनाइने नीति रहेको बोर्डले जनाएको छ ।
प्रतिक्रिया 4