News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश कोशीमा महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन र इतर पक्षबीच मिश्रित परिणाम आएको छ।
- झापामा मतगणना जारी छ र संस्थापन पक्ष बलियो देखिएको छ भने सुनसरीमा इतर पक्षले ६० प्रतिशत मत पाएको छ।
- मोरङमा दुवै पक्षको समान मत छ र धनकुटामा संस्थापन पक्षले क्लिन स्वीप गरेको छ भने ओखलढुंगामा सबै प्रतिनिधि इतर पक्षका छन्।
१४ मंसिर, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश कोशीमा महाधिवेशन प्रतिनिधि चयनको गणित मिश्रित आएको छ ।
ओलीकै गृह जिल्ला झापामा पनि सर्वसम्मत प्रतिनिधि छनोट हुन सकेको छैन । सर्वसम्मत प्रतिनिधि छनोट भएका जिल्लाहरुमा पनि संस्थापन र इतर समूहले भागबण्डा गरेका छन् ।
सुनसरीमा इतर पक्ष बलियो देखिएको छ । मतगणना जारी रहेको झापामा संस्थापन पक्ष बलियो छ । मोरङमा दुवै पक्षको समान मत छ । कुनै समय ओलीको एकपक्षीय पकड रहेको झापामा यसपटक ओलीको स्वीकार्यकता घटेको देखिन्छ ।
राजनीतिक विश्लेषक गिरिश भट्टराई, महाधिवेशन प्रतिनिधि छनोटको नतिजाले ओलीको स्वीकार्यतामा प्रश्न उठेको बताउँछन् । ‘भदौ २२ गतेसम्म एमाले पार्टीभित्र डिफ्याक्टो म मात्रै हुँ भन्ने ठूलो आवाज मथ्थर हुन थालेको संकेत हो यो,’ उनी भन्छन्, ‘गृह जिल्ला र गृह प्रदेशमा आएको नतिजाको आवाज ठूलो हुन्छ ।’
ओलीको प्रभाव विगतमा भन्दा कमजोर देखिएको उनी बताउँछन् । ‘हिजो पार्टीभित्र संस्थापन पक्षको आवाज ठूलो थियो, अब नयाँ आवाज ठूलो हुने जस्तो देखिन्छ,’ उनी भन्छन्, ‘पार्टी कार्यकर्ताले परिवर्तन खोजेको भन्ने बुझ्नु पर्छ ।’
एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडा, यो प्रदेशले ओलीको पक्षमा राम्रो सदेश दिएको बताउँछन् । ‘महाधिवेशनमा कोशी प्रदेशबाट अध्यक्ष ओलीको पक्षमा बलियो सन्देश लिएर जाँदै छौं,’ उनी भन्छन्,‘ बहुसंख्यक प्रतिनिधि ओलीकै नेतृत्व चाहने हुनुहुन्छ ।’
इतर पक्षका नेता विनोद ढकाल पनि उस्तै तर्क गर्छन् । ‘सबै जिल्लाको रिपोर्ट आइसकेको छैन, तर आएका रिपोर्टहरुले राम्रो सन्देश दिएको छ,’ उनी भन्छन्, ‘यो अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश हो, कोशीबाट राम्रो सन्देश गएको छ ।’
यस्तो छ जिल्लागत नतिजा
१४ जिल्ला रहेको कोशीमा भोजपुर, ताप्लेजुङ, इलाम, पाँचथर र सोलुखुम्बुमा सर्वसम्मत प्रतिनिधि छानिएका छन् । निर्विरोध भएका जिल्लाहरुमा दुवै समूहले भागबण्डा गरेका छन् ।
स्रोतका अनुसार, १२ जना प्रतिनिधि रहेको ताप्लेजुङमा संस्थापन पक्षका ८ र इतर पक्षको ४ जना छन् । इतर पक्षको दाबी अनुसार छानिएका प्रतिनिधि आधा–आधा हुन् ।
शेरधन राईको गृहजिल्ला भोजपुरबाट इतर पक्षबाट प्रतिनिधि आएका छन् । सर्वसम्मत प्रतिनिधि छनोट गर्दा संस्थापन पक्षका ९ र इतर पक्षका ३ जना आएका छन् ।
पाँचथरबाट ७ जना सर्वसम्मत प्रतिनिधि छानिएका छन् । संस्थापन पक्षले सबै आफ्नो भएको दाबी गर्छन् । तर इतर पक्षको दाबी अनुसार २ जना आफ्नो पक्षमा छन् । इलामबाट २० जना प्रतिनिधि सर्वसम्मत हुँदा १५ जनामा संस्थापनको दावी छ । तेह्रथुममा ८ प्रतिनिधि मध्ये ३ जनामा इतर पक्षको दाबी छ ।
मोरङमा जिल्ला अधिवेशन र विराटनगर महानगर अधिवेशनमा बलियो देखिएको इतर समूह महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा केही कमजोर देखिएको छ । ओली पक्षको दाबी अनुसार ४६ जना प्रतिनिधि रहेको मोरङमा २७ जना संस्थापन समूहका छन् । १९ जना इतर समूहका छन् ।
ईश्वर पोखरेल समूहले आफ्नो पक्षका मतदाता धेरै भएको दाबी गर्छ । ‘अहिले दुवै पक्षमा २३–२३ जना निर्वाचित भएका छन्,’ जिल्ला उपाध्यक्ष सागर थापा भन्छन्, ‘संस्थापनले दाबी गरेका ४–५ जना इतर पक्षमा हुनुहुन्छ ।’
२५ जना प्रतिनिधि रहेको सुनसरीमा इतर पक्ष हाबी भएको छ । इतर पक्षका नेताहरुका अनुसार सुनसरीमा ८०–२० को अवस्था छ । प्यानल सहित प्रतिस्पर्धा हुँदा सुनसरीमा संस्थापन पक्षका उम्मेदवार रहेका प्रदेश सांसद रमेश बस्नेत र विजय राई नै पराजित भएका थिए । ‘सुनसरीमा ८०/२० को अवस्था छ,’ इतर पक्षका एक नेताले भने, ‘हामीसँग ८० प्रतिशत हुनुहुन्छ, उता २० प्रतिशत जति ।’
ओखलढुंगाबाट छानिएका सबै १२ जना प्रतिनिधि इतर पक्षका हुन् । तर संस्थापन पक्षले प्रतिनिधि छनोट प्रकृयामा असन्तुष्टि जनाइरहेको छ ।
१३ जना प्रतिनिधि भएको धनकुटामा संस्थापन पक्षले क्लिन स्वीप गरेको छ । धनकुटामा इतर पक्षले मतदान प्रकृया नै बहिस्कार गरेको थियो । जसका कारण संस्थापन पक्षका उम्मेदवार विजयी भएका हुन् । धनकुटाको मतगणना भर्खरै सकियो,’ एमाले धनकुटा प्रचार विभाग प्रमुख रविन कट्टेलले भने, ‘निर्वाचित १३ जना प्रतिनिधि नै संस्थापन पक्षको हुनुहुन्छ ।’ ९ जना प्रतिनिधि छानिने खोटाङमा सहमतिको प्रयास भइरहेको छ ।
संखुवासभामा ७ जना प्रतिनिधि छन् । सबै आफ्नो पक्षको भएको संस्थापन पक्षको दाबी छ । इतर पक्षले ३ जनामा दावी गरेका छन् ।
३३ जना प्रतिनिधि भएको झापामा मतगणना जारी छ । सार्वजनिक भएको विवरण अनुसार संस्थापन पक्ष नै हाबी भएको छ । १५ जना प्रतिनिधि रहेको सोलुमा पनि संस्थापनको दावी छ । उदयपुरमा भने मतगणना जारी छ ।
राम्रो नतिजा आएको छ : भीम आचार्य
संस्थापन इतरमा देखिएका नेता भीम आचार्य, नतिजाप्रति सन्तुष्ट रहेका बताउँछन् । ‘कार्यकर्ताले मतदान गर्नुभयो, साथीहरु जितेर आउनु भएको छ, यसलाई राम्रो भन्नु पर्छ,’ उनले भने, ‘पोजेटिभ म्यासेज गएको छ ।’
उनले पक्षको हिसाब भने आफूले गरिनसकेको बताउँछन् । ‘जितेर आउनु भएका साथीहरुलाई मैले सोधेको छैन,’ उनले भने,‘माथिको विवादमा तल मत माग्ने होइन भन्या थिए ।’
प्रतिस्पर्धा गर्न पार्टीले छुट दिएका कारण प्रतिनिधि छनोटका लागि प्रतिस्पर्धा भएको बताए । ‘योग्यता पुगेका मान्छे धेरै हुनुहुन्छ, सबैले जान खोज्दा प्रतिस्पर्धा हुन्छ,’ प्रदेशको अनुपात कस्तो छ भन्ने प्रश्नमा उनले भने,‘ मैले हिसाब गर्न भ्याएको छैन, काठमाडौं पुगेपछि बुझ्छु ।’
प्रतिक्रिया 4